१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनगढीका सामुदायिक विद्यालयको कक्षा आठको नतिजामा सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:३९:oo

धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयको कक्षा आठको नतिजामा गत वर्षको तुलनामा सुधार भएको छ।

यस वर्षको कक्षा आठको सामुदायिक विद्यालयको नतिजा ३१ प्रतिशत रहेको उपमहानगरले जनाएको छ। गत वर्ष धनगढीका सामुदायिक विद्यालयको आठ कक्षाको नतिजा ९ प्रतिशत मात्र थियो।

सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको उपमहानगरले जनाएको छ।  गत वर्ष १७ वटा सामुदायिक विद्यालयको आठ कक्षाको नतिजा शून्य आएकोमा यो वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य छैन।

शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए।  यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका तीन हजार पाँच सय २४ विद्यार्थीले कक्षा आठको वार्षिक परीक्षा दिएका थिए।

परीक्षामा सम्मिलित भएकामध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका खातीले जानकारी दिए। ‘गत वर्ष ९.४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थीले कक्षा नाैमा भर्ना हुन आवश्यक ग्रेड हासिल गरेका छन्। गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ,’ शिक्षामा महाशाखा प्रमुखसमेत रहेका खातीले भने।

धनगढी- १६ को बेहडाबाबा माध्यमिक विद्यालयका सर्वाधिक ६५.७८ प्रतिशत विद्यार्थी पास भएका छन्। बेहडाबाबा माध्यमिक विद्यालयका ७६ मध्ये ५० जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका हुन्। धनगढी- ३ को त्रिभुवन माध्यमिक विद्यालयको ६० प्रतिशत नतिजा आएको छ भने सिद्धनाथ माध्यमिक  विद्यालय जुगेडाका ५८.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय उर्माबाट ५५.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो वर्ष शिक्षक, अभिभावक र विद्यार्थीले समेत मिहिनेत गर्दा नतिजामा सुधार भएको ठम्याइ उपमहानगरको छ। ‘गत वर्ष शून्य नतिजा हासिल गरेका विद्यालयहरूको परीक्षा नतिजा निकै राम्रो आएको छ,’ खातीले भने, ‘दिवा छात्रावास तथा अतिरिक्त कक्षासमेत चलाएर वर्षभरि पठनपाठन गरिएकाले गत वर्ष कमजोर देखिएका विद्यालयमा व्यापक सुधार भएको छ।’

गत वर्ष शून्य नतिजा हासिल गरेको धनगढी- १२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको यो वर्ष उत्तीर्ण प्रतिशत बढेर ५१.४२ प्रतिशत पुगेको छ। यस्तै, शून्य नतिजा आएको धनगढी- १० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयका ४८.८७ र धनगढी- १३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयका ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मिलित भएका पाँच हजार नाै सय ३६ विद्यार्थमध्ये तीन हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मिलित संख्याको ५२ प्रतिशत हो। 

गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो। यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मिहिनेत गरेकाले नतिजामा सुधार आएको खातीले बताए।

‘परीक्षा नतिजा सुधार हुनुमा सबै पक्षको योगदान रहेको छ। अभिभावकले पढ्न प्रेरित गरेको, शिक्षकहरूले निकै मिहिनेत गरेको तथा उपमहानगरपालिकाले समेत अनुगमन र निरीक्षण गरेकाले नतिजामा सुधार आएको हो,’ उनले भने, ‘सबै पक्षको कारण यो वर्ष नतिजामा सुधार आएको छ।’

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमसमेत लागू गरेको छ। यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालन गरेरसमेत सामुदायिक विद्यालयहरूले पठनपाठन गराइरहेका छन्। 
 

ad
ad