१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १७ सोमबार १२:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहिदको नाममा स्थापित शिक्षालयमा विद्यार्थीको बढ्दो आकर्षण 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:१७:oo

माओवादी सशस्त्र युद्धको सैन्य कमान्डरद्वय दिनेश (कमल शर्मा) र रामजी (गोविन्द बजगाईं)को स्मृतिमा स्थापना गरिएको दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ।

बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री युवराज दुलाल सामाजिक विकासमन्त्री भएको वेला योजना गरिएको यस शिक्षालयले संख्यात्मक र गुणात्मक परिणाम हासिल गर्दै गएको छ।

जनयुद्धका वेला दिनेश, रामजी र मन्त्री दुलाल जनमुक्ति सेनाको ब्रिगेड कमिसार र कमान्डर थिए। ‘सँगै लडेका साथी सहिद भए। म बाँचेर मन्त्री भएको छु। यही वेलामा सहिदको सपना साकार पार्न बहुप्राविधिक शिक्षालय स्थापनाको पहल गरेको हुँ,’ मन्त्री दुलालले भने। 

शिक्षालयको समग्र प्रगति हुँदै गएको उनले प्रस्ट्याए। यो योजना बागमती प्रदेशको गौरवको कार्यक्रम हो। जसको पूर्वाधार निर्माणका लागि एक अर्ब ३० करोड खर्च गर्ने डिपिआर छ। यहाँ २०७६ देखि सिभिल र सूचना प्रविधि (आइटी) को तीनवर्षे कोर्स अध्ययन गरेर पहिलो र दोस्रो ब्याच पासआउट भएका छन्। आइटीमा ४८ र सिभिलमा ४८ कोटा उपलब्ध छन्।

यसै वर्षदेखि विशेष छात्रवृत्तिमा तीनवर्षे फार्मेसी सुरु हुन लागेको छ। शिक्षालयका प्रमुख इन्जिनियर रामचन्द्र दाहालले दिएको जानकारीअनुसार आगामी शैक्षिक सत्रबाट फार्मेसीको नियमित कोटा प्राप्त हुनेछ। ‘जिल्लामा प्रदेशस्तरीय अस्पताल स्थापना भइसकेकोले नर्सिङका कोर्स पनि सञ्चालन गर्ने योजना छ,’ दाहालले भने। 

सदरमुकाम चौतारास्थित मेलचौरमा शिक्षालयको एकेडेमिक, आवास, प्रशासनिक, क्यान्टिन, प्रयोगशालालगायत सबै पूर्वाधार तयार हुँदै छन्।  निर्माणको  काम २० प्रतिशत पूरा भएको छ। दुईवटा भवन बनेका छन्। आफ्नै भवनमा बसेर अध्ययन गर्न धमाधम सामान सार्ने काम भइरहेको शिक्षालयले जनाएको छ। 

यहाँ सिन्धुपाल्चोकका ४५, कर्णाली र मधेश प्रदेशका ५५ प्रतिशत विद्यार्थी पढिरहेका छन्। भवन निर्माण भएपछि विद्यार्थीका लागि निःशुल्क आवास उपलब्ध गराइनेछ। पासआउट भएका विद्यार्थीमध्ये ५० प्रतिशतले सम्बन्धित क्षेत्रमा रोजगारी पनि पाएको दाहालले जानकारी दिए। न्यून शुल्क, निःशुल्क आवास, गुणात्मक र बहुप्राविधिक शिक्षा प्राप्त हुने भएकाले विद्यार्थीको आकर्षण बढेको उनले बताए। यहाँ अध्ययन गर्ने धेरैजसो विद्यार्थीले छात्रवृत्ति पनि पाएका छन्।

भविष्यमा १० फरक–फरक विषयमा प्राविधिक शिक्षा प्राप्त हुने शैक्षिक गन्तव्य भएकोले प्रदेश सरकारले यस शिक्षालयलाई प्राथमिकता दिएको मन्त्री दुलाल बताउँछन्। 

बहुप्राविधिक शिक्षालय स्थापनाले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा गुणात्मक फड्को मार्ने अपेक्षा राखेको उनले प्रस्ट्याए। यसको पूर्वाधार र शैक्षिकस्तर बढाउन सधैँ लागिरहने उनले वाचा गरे। 
 

ad
ad