१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रोजमेरी सालोमोन
२o८१ बैशाख १७ सोमबार १o:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अंग्रेजी भाषाको प्रभुत्व र बहुभाषिकता

Read Time : > 2 मिनेट
रोजमेरी सालोमोन
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o१:oo

सन् २०१२ मा द न्युयोर्क टाइम्सको एक लेखमा हार्वर्डका पूर्वअध्यक्ष लरेन्स समर्सले अर्को भाषा सिक्न ‘पर्याप्त लगानी सार्वभौमिक रूपमा सार्थक’ हो वा होइन भन्ने प्रश्न गरेका थिए । उनले यो प्रश्न तीव्र रूपमा परिवर्तन हुने मेसिन अनुवाद र विश्वव्यापी रूपमा ‘भाषाको विभाजन’लाई लिएर गरेका थिए । समय क्रममा उनले भाषामा निपूण हुनु ‘एसियामा व्यापार गर्न, अफ्रिकामा बिरामीको उपचार गर्न वा मध्यपूर्वमा द्वन्द्व समाधानमा कम आवश्यक हुनेछ’ भनेका थिए ।

पछिल्ला वर्षका भूमण्डलीकरण, आमआप्रवासन र भूराजनीतिक द्वन्द्वले समर्सलाई गलत सावित गरेका छन् । उसो त एआईले गरेको अनुवाद दिनानुदिन सटिक हुँदै गएको छ, तर यसमा आवश्यक मानवीय तत्व र सांस्कृतिक संवेदनशीलताको अभाव हुन्छ । उसो त अंग्रेजी धेरै क्षेत्रमा सम्पर्क भाषाका रूपमा व्यापक प्रयोग भइरहेको छ, तर चिनियाँ र स्पेनिसजस्ता भाषाले यसको प्रभुत्वलाई क्रमशः चुनौती दिइरहेका छन् । लामो समयदेखि व्यवसायका लागि प्राथमिक भाषा मानिने अंग्रेजी परम्परागत रूपमा विश्वास गरेजस्तो विश्वव्यापी वा पर्याप्त भने भएको छैन ।

विश्वको अर्थतन्त्र बढ्दो रूपमा भूमण्डलीकृत हुन थालेपछि बहुराष्ट्रियदेखि साना व्यवसाय एवं सरकारी एजेन्सीसम्मका क्षेत्रमा रोजगारदाताले अब धेरै भाषाको सीप भएका कामदार खोज्छन् । यसले एकभाषी अंग्रेजी बोल्ने संसारको महत्वपूर्ण भागलाई घाटामा पार्छ ।

विश्वको अर्थतन्त्र बढ्दो रूपमा भूमण्डलीकृत हुन थालेपछि रोजगारदाताले अब धेरै भाषाको ज्ञान भएका कामदार खोज्छन्

अन्य भाषा सिक्न मूल अंग्रेजी बोल्नेबीच चासो वा अनिच्छाको कमी विश्वव्यापी रूपमा सचेत नीति–निर्माताबीच चिन्ता र आलोचनाको विषय हो । अंग्रेजीभाषी विश्वमा टिप्पणीकारले ‘विदेशी भाषाको कमी’ र विश्व अर्थतन्त्रका लागि युवालाई तयार गर्न नसक्ने मुलुकको असफलताको आलोचना गर्छन् । अमेरिकाको तथ्यांकलाई उदाहरणका रूपमा लिन सकिन्छ । उसो त अमेरिकी विद्यार्थीले कीर्तिमानी संख्यामा विदेश अध्ययनका कार्यक्रममा आफूलाई भर्ना गरिरहेका छन् । तर, यी विद्यार्थीमध्ये धेरैले अंग्रेजीमा प्रदान गरिएका सम्पूर्ण डिग्री कार्यक्रम रोज्छन्, विशेषतः युरोपेली विश्वविद्यालय रोज्छन् ।

के–पपको आकर्षणका कारण कोरियन भाषा अपवाद बनेको छ, नत्र भने भाषा पाठ्यक्रममा विद्यार्थीको भर्ना प्राथमिक विद्यालयदेखि कलेजसम्म लगातार घट्दै छ । केही उच्च शिक्षा संस्थाले भर्नाका लागि विदेशी भाषाको आवश्यकतालाई हटाएका छन् वा विद्यार्थीलाई परीक्षणको माध्यमबाट प्रवीणता प्रदर्शन गरेर भाषा पाठ्यक्रमलाई नरोजे पनि हुने अनुमति दिएका छन् । कतिपय संस्थाले आफ्ना विदेशी भाषा कार्यक्रमलाई गम्भीर रूपमा घटाएका वा खारेज गरेका छन् । हालै वेस्ट भर्जिनिया विश्वविद्यालयको सबै विदेशी भाषाका डिग्री हटाउने निर्णय राष्ट्रिय समाचार बनेको थियो । विडम्बना ! धेरै विश्वविद्यालयले अन्तर्राष्ट्रिय मिसन अँगालेका छन्, विदेशमा क्याम्पस खोलिरहेका छन्, अन्य देशका विद्यार्थी भर्ना गरिरहेका छन् र विश्वका नागरिक तयार गर्ने दाबी गरिरहेका छन् । 

यी संस्थालाई संसारले अंग्रेजी बोल्छ भन्नेमा स्पष्ट विश्वास छ । प्रमाण हेर्ने हो भने यो अनुमान निराधार छ । विश्वव्यापी जनसंख्याको एकचौथाइले मात्र अंग्रेजी प्रवीणतामा केही स्तर हासिल गरेका छन् । संवाद गर्ने सीप दाबी गर्नेमा पनि प्रायः उन्नत प्रवीणताको कमी हुन्छ । त्यसैले, एकभाषी अंग्रेजी बोल्ने मानिस विश्वको तीनचौथाइ जनसंख्यासँग सञ्चार गर्न वा ती भाषाबाट उत्पन्न हुने ज्ञानमा पहुँच पाउन असमर्थ छन् । व्यावसायिक जीवन र व्यापार सम्भावनामा सम्भावित प्रभावका अतिरिक्त भाषिक सीमाले अंग्रेजीभाषीलाई राजनीतिक र सांस्कृतिक रूपमा थप बढी पृथक् बनाउन सक्छ । यसले विश्वका मानिसले आफ्नो राजनीतिलाई कसरी बुझ्छन् भन्ने विषय र महत्वपूर्ण अन्तर्राष्ट्रिय घटनालाई पूर्ण रूपमा बुझ्ने क्षमतामा बाधा पुर्‍याउँछ ।

प्रिन्ट, प्रसारण र अनलाइन मिडियाले विश्वभरका विभिन्न आवाज र दृष्टिकोण प्रस्तुत गर्छन् ।अंग्रेजी बोल्ने विश्वका विपरीत विश्वव्यापी जनसंख्याको धेरैजसो द्विभाषी वा बहुभाषी छन् र यिनले प्रायः अंग्रेजी भाषालाई अँगाल्छन् । यो प्रवृत्ति युरोपियन युनियनका देशमा बसाइँसराइ र शिक्षानीतिका कारण देखिन्छ । त्यसैगरी युनियनका देशमा एसिया, अफ्रिका, मध्यपूर्व र विभिन्न भाषिक प्रभाव भएका अन्य क्षेत्रबाट उत्तर–औपनिवेशिक प्रभाव देखिन्छ । यी क्षेत्रमा धेरै व्यक्तिले अंग्रेजी सिक्न रोज्छन् र कुल एक अर्ब ५० करोड अंग्रेजी भाषा बोल्नेमाझ यो क्षेत्रले योगदान गर्छ । यसले मन्डारिन चिनियाँ (लगभग एक अर्ब १० करोड), हिन्दी (६० करोड) र स्पेनिस (५५ करोड) बोल्नेको संख्यालाई पार गर्छ । मन्डारिन चिनियाँ र स्पेनिसको तुलनामा अंग्रेजी पहिलो रोजाइको भाषा नभए पनि यसको व्यापक स्वीकार्यताले अंग्रेजीको विश्वव्यापी महत्व झल्काउँछ ।

व्यक्तिले अंग्रेजी सिक्ने छनोट गर्दा व्यक्तिगत छनोट, अवसर र व्यावहारिक आवश्यकताजस्ता कारक हुन सक्छन्, जुन ठाउँअनुसार फरक हुने गर्छ । त्यसैगरी अंग्रेजी बोल्ने देशमा भाषा शिक्षामा पहुँच र विदेशमा अध्ययन गर्ने अवसर असमान हुन सक्छन् । यो प्रायः जाति र सामाजिक आर्थिक स्थितिबाट प्रभावित हुन्छ । अंग्रेजीकेन्द्रित विश्वव्यापी ‘कुलीन बहुभाषिकता’को एक रूप विस्तार हुँदै छ, सम्भावित रूपमा धेरै मूल अंग्रेजी बोल्नेलाई सीमान्तीकृत गर्दै ।

अर्को विश्वव्यापी भाषाले सम्पर्क भाषाका रूपमा अन्ततः अंग्रेजीलाई उछिन्न सक्छ । पाँच महाद्वीपमा व्यापक रूपमा बोलिने स्पेनिस, यस भूमिकाका लागि बलियो दाबेदारका रूपमा उभिन सक्छ । अंग्रेजी वर्चस्वलाई सर्वेसर्वा बनाउनु वा स्वीकार गर्नुको सट्टा प्रभावशाली नेताले अंग्रेजीलाई बहुभाषिकताको अत्यावश्यक अंगका रूपमा स्वीकार गर्नुपर्छ र भाषिक एवं सांस्कृतिक विभाजनलाई कम गर्न सक्षम व्यक्तिलाई शिक्षा दिन प्राथमिकता दिनुपर्छ । यो सन्देश अंग्रेजी बोल्ने देशका लागि महत्वपूर्ण छ ।

(भाषाविद् सालोमोन सेन्ट जोन्स विश्वविद्यालयकी प्राध्यापक हुन्) टाइमबाट 

ad
ad