१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरी चौकी खार्पाको भवन निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:५२:oo

प्रहरी चौकी पार्खाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रावाबेँसी गाउँपालिका– २ खार्पामा निर्माणाधीन प्रहरी चौकीको सुविधासम्पन्न तीनतले कार्यालय भवन निर्माणको काम ८० प्रतिशत पूरा भएको ठेकेदार कम्पनी कालिका निर्माण सेवा काठमाडौंले जनाएको छ।

निर्माणाधीन प्रहरी चौकी भवनको तीनवटै तला ढलान तथा पर्खालको काम सम्पन्न गरेर प्लास्टर गर्ने काम भइरहेको पाइएको छ। प्रहरी प्रधान कार्यालयमार्फत नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्राप्त भ्याटसहित रु. दुई करोड ९५ लाख ३२ हजार चार सय १८ मा प्रहरी चौकी खार्पाको भवन निर्माणको काम थालिएको हो।

निर्माणाधीन प्रहरी चौकीको भुइँतलामा महिला–पुरुष हिरासत, कार्यालय प्रमुखको कार्यकक्ष र सुरक्षागार्ड (सुरक्षामा खटिने प्रहरी), दोस्रो तलामा महिला–पुरुष ब्यारेक र तेस्रोमा कार्यालय प्रमुखको आवास र सञ्चार कक्ष रहने प्राविधिक स्टिमेटमा उल्लेख छ। बाहिरी भागमा एउटा भान्छाघर (मेस), एउटा हावाघर (प्रतीक्षालय), दुई ट्वाइलेट (शाैचालय), एउटा पानी ट्यांकी र प्रवेशद्वार निर्माण हुने जनाइएको छ।

निर्माणाधीन अवस्थामा रहेको प्रहरी चौकी खार्पाको भवन तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन्। यद्यपि, उक्त निर्माणाधीन प्रहरी चौकीको भवन निर्माणमा कामको गति हेर्दा तोकिएकै मितिमा सम्पन्न हुने सम्भावना नरहेको स्थानीय बासिन्दाले बताएका छन्।

घेराबारसहितको निर्माणाधीन प्रहरी चौकी भवन वर्ष दिनमा सम्पन्न गर्ने गरी ०७९ मंसिर २० गते ठेकेदार कम्पनीले सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माणाधीन प्रहरी चौकी भवन निर्माणको काम सम्पन्न नगरेपछि ०८० मंसिर–१९ गते ६ महिनाको म्याद थप गरिएको जनाइएको छ।

पहिलोपटक थप गरिएको म्याद ०८१ जेठ मसान्तमा सम्पन्न हुन्छ। तर, निर्माणाधीन भवनको प्रगति हेर्दा थप गरिएको मितिमा सम्पन्न हुने सम्भावना छैन। निर्माणाधीन प्रहरी चौकी भवन थप गरिएको मितिभित्रै सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीका प्रोपाइटर गजेन्द्रप्रसाद काफ्लेले जानकारी दिए। 

खार्पामा सञ्चालित प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय बासिन्दाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। स्थानीय बासिन्दाबाट चन्दा संकलन गरेर रु. तीन लाखमा खरिद गरिएको जग्गा भवन निर्माणका लागि प्रहरी चौकीलाई निःशुल्क उपलब्ध गराइएको वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिएका छन्। 

०७६ सालमा स्थापना भएको प्रहरी चौकी खार्पाको कार्यालय अहिले तत्कालीन गाउँ विकास समिति (गाविस)को भवनमा सञ्चालन भइरहेको छ। ०५४ सालमा ढुंगामाटोले बनेको दुईतले गाविस भवनमा सञ्चालित प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १५ जनाको दरबन्दी छ। 
 

ad
ad