लमजुङमा भ्रमण वर्ष ०८१ को तयारी तीव्र पारिएको छ । पर्यटन प्रवर्द्धनका लागि आगामी वर्ष ०८१ लाई लमजुङ भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिएको हो । भ्रमण वर्ष ०८१ सफल बनाउन मंगलबार बेँसीसहरमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित उक्त कार्यशाला गोष्ठीमा लमजुङ जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका विषयलाई बृहत् अध्ययन गर्न, कृषि पकेट क्षेत्र घोषणा गर्न, खेल, स्वास्थ्य, शिक्षा, साहित्यलाई पर्यटनसँग जोडेर परिणाममुखी बनाउन सरोकारवालाको जोड रहेको थियो । लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापाले लमजुङ भ्रमण वर्षको अवधारणापत्र वाचन गरेका थिए ।
भ्रमण वर्षले कृषिमा व्यवसायीकरण, पर्यटन, जलविद्युत् र जडीबुटीको प्रवर्द्धन गर्नुपर्ने, सांस्कृतिक तथा ऐतिहासिक पक्षको यथार्थ र वस्तुसंगत तथ्यमा आधारित विषय प्रकाश गर्नुपर्ने भन्दै सहभागीले अवधारणापत्रमाथि टिप्पणी गरेका छन् ।
भ्रमण वर्ष भव्यतापूर्वक सम्पन्न गर्नका लागि प्रत्येक पालिकाबाट एकजनाको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिने भएको छ । त्यस्तै, प्रत्येक पालिकामा पनि पालिकास्तरीय भ्रमण वर्ष समिति बनाइने भएको छ ।