१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सारा समिम
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वायु प्रदूषणको सामना गर्दै दक्षिण एसिया

Read Time : > 3 मिनेट
सारा समिम
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo

एक अध्ययनअनुसार उच्च प्रदूषणका कारण भारतीयको औसत आयु ५.३ वर्षसम्मले घट्ने गरेको छ

स्विस जलवायु समूह आइक्युएयरले सन् २०२३ मा १३४ देशमा गरेको अनुगमनमा सबैभन्दा खराब वायु गुणस्तर बंगलादेशको थियो । त्यसबाहेक प्रतिवेदनमा समग्र दक्षिण एसिया विश्वमा सबैभन्दा खराब प्रदूषणबाट ग्रस्त रहेको भनिएको छ । प्रतिवेदनमा पाकिस्तान र भारत वायु प्रदूषणका हिसाबले हाराहारीमा छन् । प्रदूषणबारे प्रतिवेदनका केही अन्तर्दृष्टि यहाँ उल्लेख गरिएको छ, जसले हामीलाई दक्षिण एसियाली देशका सरकारबारे बताउँछ ।

प्रतिवेदनले विश्वभरका सात हजार आठ सय १२ सहरबाट पिएम २.५ वायु गुणस्तर तथ्यांकको एक सिंहावलोकन प्रदान गर्छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ । यी मानव श्वासप्रश्वास प्रणालीको गहिराइमा पुग्न सक्ने भएकाले खतरनाक हुन्छन् । यी कण प्राकृतिक घटना, जस्तै– धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दिशानिर्देशअनुसार पिएम २.५ को औसत वार्षिक स्तर प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । तथापि, प्रतिवेदनमा सूचीबद्ध १० देशले मात्र यो मानक पुरा गरेका छन् । तिनमा फ्रान्सेली पोलिनेसिया, न्युजिल्यान्ड, फिनल्यान्ड र इस्टोनियालगायत विश्वको सबैभन्दा स्वच्छ हावा भएको मुलुक समावेश छन् । बंगलादेशको पिएम २.५ स्तर ७९.९ माइक्रोग्राम प्रतिघनमिटर छ, जुन विश्व स्वास्थ्य संगठनले स्वस्थ्य भनेर सिफारिस गरेकोभन्दा झन्डै १६ गुणा बढी हो । गत वर्षको तुलनामा पाकिस्तानमा ७३.७ र भारतको हावामा ५४.४ माइक्रोग्राम पिएम २.५ कण प्रतिक्युबिक मिटर थियो ।

आइक्युएयरद्वारा अनुगमन गरिएका प्रत्येक देशभित्रै पनि हावाको गुणस्तर एक सहरदेखि अर्को सहरमा फरक–फरक पाइएका छन् । रिफाइनरी र पावर स्टेसन भएको भारतको बिहारको औद्योगिक र आर्थिक राजधानी बेगुसराइमा सन् २०२३ मा प्रतिघनमिटर औसतमा ११८.९ माइक्रोग्राम पिएम २.५ कण थिए । त्यसबाहेक अरु सहरमा पिएम २.५ कण कुरा गर्दा, नयाँदिल्लीमा  ९२.७, बंगलादेशको ढाकामा ८०.२ र धुवाँले ढाकेको पाकिस्तानी सहर लाहोरले ९९.५ को औसत रेकर्ड गरेको थियो । भारतका ८३ सहरमा स्वास्थ्य भनी सिफारिस गरिएको सीमाभन्दा १० गुणा बढी छ ।

प्रतिवेदनअनुसार सन् २०२३ मा औसतमा प्रतिघनमिटर २.५ पिएम कणको स्तर केबल २.७ माइक्रोग्रामको साथ संसारको सबैभन्दा कम प्रदूषित सहर सान जुआन (प्युर्टो रिको) बनेको थियो । प्रतिवेदनमा ३.१ माइक्रोग्रामका साथ दोस्रो नम्बरमा न्युजिल्यान्डको वेलिंगटन छ भने अस्ट्रेलियाको क्यानबेरा ३.८ माइक्रोग्रामसहित तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा खराब हावाको गुणस्तरमा प्रायः इँटाभट्टा र अन्य औद्योगिक उत्सर्जन, कृषि उपज निकालसकपछि बाँकी रहने परालजन्य वस्तुमा आगजनी गर्ने अभ्यासआदीको योगदान रहेको पाइन्छ । विशेषगरी यस भेगमा खाना पकाउन र अन्य कामको लागि ताप उत्सर्जन गर्न दाउरा, गुईठा(दाउरामा गोबर दलेर सुकाएर बनाईने)जस्ता ठोस इन्धन जलाउँने प्रचलन छ । यसले पनि वायु प्रदूषण बढाउँछ । त्यस्तै न्युन हावाको गुणस्तरमा प्लास्टिक जलाउने क्रिया र सवारीसाधनको धुवाँको पनि उत्तिक्कै भूमिका छ । पराल बाल्ने सिजनमा पाकिस्तान, भारत, नेपालमा बन्ने धुवाँ हावाले बंगलादेशतर्फ लान सक्छ । त्यसबाहेक बंगलादेशभित्र झन्डै आठ हजार इँटाभट्टा छन्, जसमध्ये केही अवैध रूपमा सञ्चालित छन् । 

उत्तरी भारत र दिल्लीमा विशेषगरी विधुत उत्पादन गर्न कोइलाको प्रयोग हुन्छ । कोइलाले वायुको गुणस्तर निक्कै खराब बनाउँछ । भारत र पाकिस्तानका किसानहरूले गहुँको रोपाईंको लागि खेत तयार गर्न धान काटेपछि बोटको बाँकी अवशेष जलाउँछन् । वर्षेनी चल्ने यस बाली जलाउने प्रक्रियाले पनि वायु प्रदूषण बढाएको छ । वायु प्रदूषण बढाउनमा दक्षिण एसियाको भूगोलले पनि केही योगदान छ । बंगलादेश, पूर्वी पाकिस्तानको ठूलो भूभाग, उत्तरी र पूर्वी भारत र नेपालको दक्षिणी भूभाग समेट्ने गंगा मैदानबाट उत्सर्जन हुने प्रदूषण तटीय हावाले उठाउँदा पनि उत्तरतर्फको हिमालयले टाढा फैलिन दिँदैन, यहीँ रोकिदिन्छ ।

एसियामा खराब हावाको प्रभाव के छ ?
‘इम्पेरियल कलेज लन्डन’को पर्यावरण अनुसन्धान समूहले वायु प्रदूषणबारे दशकौँ वैज्ञानिक अनुसन्धानपछि अप्रिल २०२३ मा एक समीक्षा प्रकाशित गर्‍यो । समीक्षाले वायु प्रदूषण र नवजात शिशुहरूको स्वास्थ्य, कम तौल, गर्भपतन र मृत बच्चाबीचको सम्बन्ध फेला पारेको छ । यसले यो पनि पत्ता लगायो कि वायु प्रदूषणको प्रारम्भिक जोखिमले विकासलाई बाधा पुर्‍याउन सक्छ । अगस्ट २०२३ मा सिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थान (इपिआइसी)ले प्रकाशन गरेको एयर क्वालिटी लाइफ इन्डेक्स (एक्युएलआई) अनुसार प्रदूषणका कारण औसत भारतीयको आयु ५.३ वर्षले घटेको छ । नयाँदिल्लीमा औसत आयु १० वर्षले घटेको छ ।

प्रतिवेदनले डब्ल्युएचओका दिशानिर्देश पूरा गरेमा वायुको गुणस्तरले औसत पाकिस्तानी ३.९ वर्ष बाँच्ने देखाएको छ । स्वास्थ्य प्रभावबाहेक पाकिस्तान र भारतमा वायु प्रदूषणले शिक्षा र व्यापारजस्ता दैनिक गतिविधिलाई असर गरेको छ । सन् २०२३ को नोभेम्बरको सुरुमा धुवाँले ढाकेको पाकिस्तानको पन्जाब प्रान्त, लाहोर, गुजरनवाला र हाफिजाबादमा आपत्काल घोषणा गरियो र सबै सार्वजनिक स्थान बन्द गरियो । भारतको राजधानी दिल्लीमा एकै समयमा वायु प्रदूषणको खतरनाक स्तरका कारण विद्यालय बन्द गरिनुका साथै निर्माण कार्य रोकिएको थियो । पछि सन् २०२३ को नोभेम्बरमा लाहोरमा फेस मास्क अनिवार्य बनाइयो ।

वायु गुणस्तर संकट समाधान गर्न के गर्न सकिन्छ ?
आइक्युएयरले जारी गरेको प्रतिवेदनले सरकारलाई नवीकरणीय ऊर्जा पहलमा लगानी गर्न, सफा सवारीसाधनलाई प्रोत्साहित गर्न, पैदल यात्रुमैत्री पूर्वाधारमा सुधार गरेर तिनको गतिशिलता बढाउन र पराल जलाउने अभ्यासमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । प्रतिवेदनले विशेषगरी दक्षिण एसियामा सरकारद्वारा सञ्चालित वायु गुणस्तर अनुगमन स्टेसनहरूको अभावलाई उजागर गरेको छ । पाकिस्तानको लाहोर र पेसावर साथै बंगलादेशको ढाकामा हावाको गुणस्तरको तथ्यांक रिपोर्ट गर्ने लगभग ९६ प्रतिशत स्टेसन देशका सरकारहरूसँग सम्बद्ध छैनन् । प्रतिवेदनका अनुसार आम मानिस र समाजिक संस्थाले वायु प्रदूषण स्तरको दस्ताबेजीकरण र अनुगमन गर्न चाहे पनि सरकारले त्यसो गर्ने जिम्मेवारी दिइरहेको छैन । 

वायु प्रदूषण नियन्त्रण गर्न दक्षिण एसियाली सरकारले प्रयास नै नगरेका भने होइनन् । उदाहरणका लागि सन् २०२३ को जनवरीमा वायु प्रदुषण उच्च भएपछि दिल्लीको राष्ट्रिय राजधानी क्षेत्रमा कोइला जलाउन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सन् २०१८ मा दिल्लीमा पुराना गाडीलाई प्रतिबन्ध लगाइयो । यस निर्णयले सडकमा कारको संख्या ३५ प्रतिशतले घट्न पुग्यो । सन् २०२३ को नोभेम्बरमा दिल्ली राज्य सरकार र ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी–कानपुर’ले मिलेर गरेको अध्ययनले दिल्लीको वायु प्रदूषणमा सवारीसाधनको उत्सर्जन सबैभन्दा ठूलो कारक रहेको देखाएको छ । 

उता भारतको छिमेकी मुलुक पाकिस्तानले उसको सबैभन्दा घना जनसंख्या भएको र कृषिकेन्द्रित राज्य पन्जाबमा बाली जलाउन प्रतिबन्ध लगाएको छ । त्यहाँ निजी सवारीसाधनको प्रयोग घटाउन सार्वजनिक यातायात सुदृढीकरण परियोजना सुरु गरिएको छ । यद्यपि, यी प्रतिबन्धका बाबजुद किसानले गैरकानुनी रूपमा बाली जलाउने कार्यलाई जारी राखेका छन् । धुवाँलाई नियन्त्रण गर्न भारत र पाकिस्तानले कृत्रिम वर्षा गराउन कृत्रिम वर्षा गराउने ‘क्लाउड सिडिङ’तर्फ पनि ध्यान दिएका छन् । क्लाउड सिडिङअन्तर्गत जमिनमा जेनेरेटर वा आकाशमा विमानको प्रयोग गरी बादललाई क्रिस्टल बनाउने प्रक्रियालाई तीव्र बनाइन्छ । क्रिस्टलले वर्षाको पानीका थोपा निर्माण गर्न मद्दत गर्छ । बंगलादेशको वातावरण, वन र जलवायु परिवर्तन मन्त्रालयले जनवरीमा इँटाभट्टा ट्य्राकर प्रयोग गर्ने योजनाको घोषणा गर्‍यो । यसले हानिकारक इँटाभट्टा पहिचान गर्न र कार्यान्वयन सुधारमा ‘रिमोट सेन्सिङ’ प्रविधि प्रयोग गर्नेछ ।

(अलजजिराका लागि सारा समिमको आलेख)


 

ad
ad