१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उद्योगमा दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o८:oo

भारतबाट पर्याप्त बिजुली आपूर्ति नहुँदा देशभरका ठूला उद्योग र औद्योगिक करिडोरमा विद्युत् प्राधिकरणले १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिरहेको छ । घरायसी प्रयोगकर्तालाई मागबमोजिम बिजुली दिए पनि प्राधिकरणले धेरै र चौबीसै घण्टा बिजुली खपत गर्ने उद्योगहरूमा भने आपूर्ति कटौती गरेको हो ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले पूर्वको प्रमुख औद्योगिक क्षेत्र विराटनगर मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योगमा हाल दैनिक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् कटौती भइरहेको बताए । दिउँसो पनि पटक–पटक विद्युत् ट्रिपिङ हुने गरेको उनको भनाइ छ । 

‘उद्योग चलाउन विद्युत्को विकल्प छैन । तर, अहिले मागअनुसार विद्युत् आपूर्ति हुने अवस्था छैन । प्रतियुनिट ४७ रुपैयाँ खर्चमा डिजेलबाट विद्युत् निकालेर उद्योग सञ्चालन गर्न सक्ने पनि अवस्था छैन,’ उनले भने, ‘विद्युत् आपूर्ति गर्न नसक्ने भए प्राधिकरणले लोडसेडिङको तालिका दिनुपर्छ ।’

विराटनगरकै अर्का उद्योगी पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्समा पनि निरन्तर बिजुली कटौती भइरहेको छ । यो उद्योग सबैभन्दा धेरै धागो निर्यात गर्ने उद्योग हो । ‘१२ घण्टा लोडसेडिङ त नियमितजस्तै छ । तर, विद्युत् उपलब्ध हुने समयमा पनि प्राधिकरणले २० प्रतिशत मात्रै चलाउनू भनेर निर्देशन दिएको छ । नत्र विद्युत् नै काटिदिन्छु भनेर चेतावनी आउँछ । प्राधिकरणले भनेपछि मान्नैपर्‍यो,’ गोल्यानले नयाँ पत्रिकासँग भने । विद्युत् प्राधिकरणले आफूलाई घाटा हुन्छ भनेर उद्योग नै चलाउन नदिएर ज्याजती गरिरहेको उनको भनाइ छ । 

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
प्राप्त भएसम्म उद्योगलाई विद्युत् उपलब्ध गराएका छौँ । तैपनि रातको समयमा केही उद्योगलाई विद्युत् उपलब्ध गराउन सकिएको छैन । ग्यासको विद्युत् आयात गर्न महँगो पर्ने भयो । तर, बिहारबाट विद्युत् आयात गर्न पहल गरिरहेका छौँ । त्यहाँबाट विद्युत् आयात गर्न पायौँ भने सहज हुन्छ । तर, यो क्षणिक समस्या हो । ‘मे’ महिनाबाट नेपालकै उत्पादनले पुग्छ । किनकि, हिउँ पग्लेर खोलामा पानीको सतह बढ्दा स्वतः विद्युत् उत्पादन बढ्छ । त्यसपछि बर्खा सिजन पनि सुरु हुन्छ ।

सुनसरीको सुगम रोजिन टर्पेन्टाइन एन्ड हर्बलमा विद्युत् आपूर्तिको ठेगान नै नहुने उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले बताए । ‘दैनिक १२ घण्टाजस्तो विद्युत् कटौती भइरहेको छ । तर, कुन समयमा कटौती हुन्छ र कहिले आपूर्ति हुन्छ भन्ने पत्तो हुँदैन,’ उनले भने । 

वीरगन्ज करिडोरमा साँझ ६ बजेदेखि १० बजेसम्म (चार घण्टा) विद्युत् कटौती भइरहेको वीरगन्जस्थित राजेश मेटल ग्लास उद्योगको सञ्चालकसमेत रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए । सरकारले महँगोमा आयात गरेर भए पनि उद्योगमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

‘प्राधिकरण नाफा–नोक्सानमा केन्द्रित भएजस्तो देखिन्छ । यद्यपि, हामी प्राधिकरणलाई केही भन्दैनौँ । उद्योगलाई सञ्चालन गराउने दायित्व सरकारको पनि हो,’ उनले भने, ‘सरकारले जुनसुकै मूल्यमा भए पनि विद्युत् आयात गरेर उद्योगमा आपूर्ति दिने व्यवस्था गर्नुपर्छ ।’ 

भैरहवाको अर्घाखाँची सिमेन्ट र पाल्पा सिमेन्ट उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् कटौती भइरहेको त्यहाँका उद्योगीहरूको गुनासो छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा केही उद्योगमा विद्युत् उपलब्ध गराउन नसकिएको बताए । ‘प्राप्त भएसम्म उद्योगलाई विद्युत् उपलब्ध गराएका छौँ । तर, पनि रातको समयमा केही उद्योगलाई विद्युत् उपलब्ध गराउन सकिएको छैन । ग्यासको विद्युत् आयात गर्न महँगो पर्ने भयो । तर, बिहारबाट विद्युत् आयात गर्न पहल गरिरहेका छौँ । त्यहाँबाट विद्युत् आयात गर्न पायौँ भने सहज हुन्छ,’ उनले भने, ‘तर, यो क्षणिक समस्या हो । ‘मे’ महिनाबाट नेपालकै उत्पादनले पुग्छ । किनकि, हिउँ पग्लेर खोलामा पानीको सतह बढ्दा स्वतः विद्युत् उत्पादन बढ्छ । त्यसपछि बर्खा सिजन पनि सुरु हुन्छ ।’

ग्यासमा आधारित बिजुली महँगो हुने भएकाले रातको समयमा विद्युत् आयात नगरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले बताए । सोहीकारण बाध्य भएर उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको उनको भनाइ छ । ‘अहिले विद्युत्को स्वदेशी उत्पादन अत्यन्तै न्यून छ । त्यसले न्यूनतम माग पनि धान्दैन । रातको समयमा भारतबाट विद्युत् आयात गर्न मिलेको छैन । ग्यासको विद्युत् महँगो पर्छ,’ उनले भने, ‘सक्नेसम्म विद्युत् आपूर्ति गरिरहेका छौँ । इच्छाले उद्योगहरूमा विद्युत् कटौती गरेको होइन । बाध्यात्मक परिस्थिति हो ।’

कमजोर कूटनीतिक पहल
नेपाल र भारतबीच विभिन्न स्तरमा कूटनीतिक वार्तामा नेपालको बिजुली भारतमा निर्यात गर्ने विषयमा छलफल हुँदै आए पनि सुक्खायाममा आवश्यकता पूर्ति गर्ने विषयमा नेपाली पक्षबाट पहल नभएको जानकार बताउँछन् । 

पूर्वऊर्जासचिव देवेन्द्र कार्कीले अहिलेको समयमा नेपालले भारतसँग कूटनीतिक पहल गरेर तत्काल विद्युत् आयातको सबै ढोका खुलाउन पहल गर्नुपर्ने बताए  । त्यसबाहेक नेपालले दीर्घकालीन समाधानका रूपमा जलाशययुक्त विद्युत् आयोजना निर्माणमा केन्द्रित हुनुपर्ने उनको जोड छ ।  

‘तत्काललाई भारतसँग कूटनीतिक पहल बढाएर विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्छ । यसमा अरू विकल्प छैन,’ उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि भने पाइपलाइनमा भएका जलाशयुक्त आयोजनाको निर्माण छिटो सक्ने गरी अघि बढ्नुपर्छ । बुढीगण्डकीजस्ता आयोजनाको निर्माण पनि द्रुततर रूपमा अघि बढाउनुपर्छ ।’

किन भयो विद्युत् कटौती ?
भारतबाट आपूर्ति नहुँदा समस्या : प्राधिकरण

१९ चैतदेखि रातिको समयमा भारतबाट विद्युत् आयात ठप्प भएपछि दैनिक १२ घण्टादेखि १४ घण्टासम्म विद्युत् आपूर्तिमा अवरोध भइरहेको छ । भारतले ऊर्जा खरिद–बिक्री बजारलाई २४ घण्टाबाट १२ घण्टाका लागि मात्रै खुला गरेपछि प्राधिकरणले नेपालका उद्योगहरूमा विद्युत् कटौती गरेको हो । अहिले भारतबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै यो बजार खुला गरिएको छ । यो अवधिमा कोइला, जलविद्युत्, डिजेल र ग्यासबाट उत्पादित विद्युत् किन्न पाइन्छ भने बाँकी समयमा ग्यासमा आधारित प्लान्टबाट उत्पादित बिजुली मात्रै खरिद गर्न पाइने प्राधिकरणले जानकारी दिएको छ । 

नेपालमा जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर) मा आधारित छन् । त्यसैले नदीको प्रवाह घट्ने हिउँदयाममा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि घट्ने हुन्छ । यस्तो समयमा प्राधिकरणले भारतबाट ५५४ मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । नेपालमा अहिले विद्युत्को अधिकतम जडित क्षमता तीन हजार ३८ मेगावाट पुगेको छ । तर, अहिले ११ सय मेगावाट हाराहारीमा मात्रै विद्युत् उत्पादन भइरहेको छ । न्यूनतम माग पूरा गर्न १४÷१५ सय मेगावाट विद्युत् चाहिन्छ । तर, रातको समयमा विद्युत् आयात गर्न नपाउँदा त्यो माग पूरा गर्न नसकिएको प्राधिकरणको भनाइ छ । मागअनुसार अहिले बढीमा चार सय मेगावाटभन्दा कम आपूर्ति छ ।

 

ad
ad