१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १४:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुक बन्दैन : हमाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:o७:oo

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।

धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उनले विकासका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए।

स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए। ‘सत्तामा पुगेपछि पार्टी बनाउने, पार्टी जोगाउने कुरा हुन्छ, देश बनाउने कुरा हुँदैन,’ उनले भने, ‘पार्टी जोगाउनु भनेको योजना कार्यकर्तालाई दिनु हो।’

उनले उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेको बताए। ‘उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेका छन्। उपभोक्ता समितिमा एक करोडको योजना पाए ६० लाखमा ठेक्का दिने र ४० लाख खाने प्रवृत्ति छ,’ नगर प्रमुख हमालले भने, ‘धनगढीमा हामीले योजना ठेक्कामा लग्ने व्यवस्था गरेका छौँ।’

उपमहानगरमा भ्रष्टार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उनको भनाइ थियो। औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको उनले बताए। 

सुदूरपश्चिम कर्णालीभन्दा पनि बढी गरिबीको अवस्थामा पुगेको उनले बताए। गरिबी निवारणमा शिक्षा र स्वास्थ्यको विकास महत्वपूर्ण रहेको उनले धारणा राखे। सरकारी अस्पतालमा स्तरीय सुविधा नहुँदा बिरामी परेपछि घरजग्गा बेचेर निजी अस्पतालमा महँगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता गरिबी बढ्नुको एउटा कारण रहेको हमालको भनाइ छ।

एउटा पनि औद्योगिक क्षेत्र र मेडिकल कलेज नभएको प्रदेश सुदूरपश्चिम मात्र रहेको उनले बताए। सुदूरपश्चिममा के गर्ने भनेर संघले निर्क्याेल गरिदिनुपर्ने उनले बताए। ‘पर्यटन, उद्योगधन्दा, कृषिमा के गर्ने भनेर निर्क्याेल गर्नुपर्छ, अब एक प्रदेश एक उत्पादनको अवधारणामा जानुपर्छ,’ हमालले भने, ‘हामीसँग स्रोतसाधनको होइन, इच्छाशक्तिको कमी छ।’ 

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा. हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए। 

‘बनवासाको पुलमा गएर हेरे हुन्छ, ८० वर्षको बुढो र बालक कामका लागि भारत जाँदै गरेको देखिन्छ। उनीहरूका बाजे पुस्ता पनि उतै जान्थे,’ डा. पन्तले भने, ‘म कैलाली क्याम्पसमा ४० वर्षदेखि पढाइरहेको छु। त्यतिवेला क्याम्पस जाँदा दाउराको भारी बोकिरहेका मान्छेहरू बाटोमा भेटिन्थे, अहिले क्याम्पस जाँदा पनि त्यही देख्छु। जनताको अवस्था उस्तै छ।’

चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्साललगायत सामाजिक, राजनीतिकलगायत क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा छन्। 

चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्दत पुर्‍याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको बताए।

ad
ad