१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागार्जुन नगरपालिकाले तोक्यो निजी विद्यालयको शुल्क

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o३:oo

नर्सरीको अधिकतम मासिक शुल्क ३७ सय, कक्षा १० को ५९ सय 

नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले शैक्षिक सत्र ०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो ।

नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका साथ लागू हुनेछ । ‘तोकिएको शुल्क कार्यान्वयनमा कुनै सम्झौता हुन्न,’ प्रमुख कुँवरले भने । नगरपालिकाका अनुसार शिक्षा नियमावली, ०५९ अनुसार निजी विद्यालयको शुल्क निर्धारण गरिएको हो । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, ०७२ अनुसार विद्यालय वर्गीकरणका आधारमा आगामी शैक्षिक सत्रदेखि विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा कायम भएको छ । 

नगरपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवर भन्छन्– 
नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका साथ लागू हुनेछ । तोकिएको शुल्क कार्यान्वयनमा कुनै सम्झौता हुन्न । ऐनले तोकेविपरीतका शीर्षकमा शुल्क लिए कारबाही गर्छौँ ।

नियमावलीले तोकेबाहेकका शीर्षकमा शुल्क लिए कारबाही
नगरपालिकाका अनुसार अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी नियमावली, ०७७ मा उल्लेख भएबमोजिम सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापत कुनै पनि शीर्षकमा शुल्क लिन पाउनेछैनन् ।

यसैगरी, अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, ०७५ मा उल्लेख भएबमोजिम प्रत्येक निजी विद्यालय र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयले प्रारम्भिक बालबिकासदेखि कक्षा १२ सम्म पाँच सयसम्म विद्यार्थी भए कम्तीमा १० प्रतिशत विद्यार्थीलाई नि:शुल्क शिक्षा दिनुपर्नेछ । पाँच सयदेखि आठ सयजनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १२ प्रतिशत र आठ सयभन्दा धेरै विद्यार्थी भएका विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई नि:शुल्क शिक्षा दिनुपर्नेछ ।

निजी लगानीका विद्यालयले शिक्षा नियमावली, ०५९ अनुसार मासिक पढाइ, वार्षिक भर्ना, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास परिवहन र भोजन शुल्कबाहेक शुल्क लिन पाउनेछैनन् । यसैगरी, विद्यालयले आफ्ना विद्यार्थीलाई विद्यालयपरिसरभित्रै वा विद्यालयले तोकेको स्थान–पसलबाट पुस्तक, स्टेसनरी, पोसाकलगायत सामग्री खरिद गर्न बन्द गरी अभिभावकलाई खुला बजारबाट खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यस नगरपालिकामा करिब ६० वटा संस्थागत विद्यालय छन् ।

यस्तो छ नगरपालिकाले निर्धारण गरेको शुल्क
- नगरपालिकाभित्र नर्सरीमा पढ्ने विद्यार्थीका लागि ‘क’ श्रेणीका विद्यालयले मासिक तीन हजार सात सय ५०, ‘ख’ श्रेणीकाले तीन हजार र ‘ग’ श्रेणीमा रहेका विद्यालयले दुई हजार चार सय शुल्क लिन पाउनेछन् । 

- एलकेजीका विद्यार्थीका लागि ‘क’ श्रेणीका विद्यालयले तीन हजार नौ सय, ‘ख’ श्रेणीकाले तीन हजार एक सय २५ र ‘ग’ श्रेणीकाले २५ सयसम्म शुल्क लिन पाउनेछन् ।

- युकेजी पढ्ने विद्यार्थीलाई ‘क’ श्रेणीका विद्यालयले चार हजार ५०, ‘ख’ श्रेणीकाले तीन हजार दुई सय ५० र ‘ग’ श्रेणीकाले २६ सय शुल्क लिन सक्नेछन् ।

- कक्षा एकमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ४२ सय, ‘ख’ श्रेणीकाले ३३ सय ७५ र ‘ग’ श्रेणीकाले २७ सय रुपैयाँ मासिक शुल्क लिन पाउनेछन् ।

- कक्षा दुईमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ४३ सय ५०, ‘ख’ श्रेणीकाले ३५ सय र ‘ग’ले २८ सयसम्म शुल्क लिन पाउनेछन् ।

- कक्षा तीनमा पढ्ने विद्यार्थीबाट ‘क’ श्रेणीका विद्यालयले ४५ सय ५०, ‘ख’ श्रेणीले ३६ सय ५५ र ‘ग’ श्रेणीका विद्यालयले २९ सय रुपैयाँ शुल्क लिन सक्नेछन् ।

- कक्षा चारमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ४६ सय ७५, ‘ख’ श्रेणीकाले ३७ सय ५० र ‘ग’ श्रेणीकाले तीन हजार शुल्क लिन पाउनेछन् । 

- कक्षा पाँचमा पढ्ने विद्यार्थीका लागि ‘क’ श्रेणीका विद्यालयले ४८ सय ५०, ‘ख’ श्रेणीकाले ३८ सय ७५ र ‘ग’ श्रेणीका विद्यालयले ३१ सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।

- कक्षा ६ मा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले पाँच हजार, ख श्रेणीकाले चार हजार र ‘ग’ श्रेणीकाले ३२ सयसम्म शुल्क लिन सक्नेछन् ।

- कक्षा सातमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ५१ सय ५०, ‘ख’ श्रेणीकाले ४१ सय २५ र ‘ग’ श्रेणीकाले ३३ सयसम्म शुल्क लिन पाउनेछन् ।

- कक्षा आठमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५३ सय २५, ‘ख’ श्रेणीकाले ४२ सय ५० र ‘ग’ श्रेणीकाले ३४ सय रुपैयाँ लिन पाउनेछन् । 

- कक्षा नौमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५८ सय, ‘ख’ले ४६ सय २५ र ‘ग’ श्रेणीका विद्यालयले ३७ सयसम्म शुल्क लिन सक्नेछन् ।

- कक्षा १० पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५९ सय ५०, ‘ख’ श्रेणीकाले ४७ सय ५० र ‘ग’ श्रेणीकाले ३८ सय शुल्क लिन सक्नेछन् ।

- कक्षा ११ र १२ पढ्ने विद्यार्थीका लागि भने एउटै शुल्क निर्धारण गरिएको छ । कक्षा ११ र १२ पढ्ने विद्यार्थीबाट ‘क’ श्रेणीका विद्यालयले सात हजार, ‘ख’ श्रेणीकाले ५६ सय र ‘ग’ श्रेणीकाले ४५ सयसम्म शुल्क लिन पाउने भएका छन् ।

ad
ad