१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : इलाम र बझाङमा आजदेखि आचारसंहिता लागू

दल र उम्मेदवारको दैनिक खर्च विवरण लिइने 

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:५८:oo

इलाम र बझाङमा उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले कानुनबमोजिम इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

आयोगका अनुसार संघ, प्रदेश र स्थानीय सरकार, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा भ्रातृ सं‍गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ । 

आयोगले आचारसंहिता कार्यान्वयनका लागि उपनिर्वाचनमा सहभागी दल, उम्मेदवार तथा भ्रातृ संगठनको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । यसका लागि समितिले अनुगमन अधिकृत खटाउनेछ भने सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिन सक्नेछ । सीमाभन्दा बढी खर्च गरे तत्काल कारबाही गर्न भनिएको छ । जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय पनि सूक्ष्म निगरानीमा राख्न र आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारबाही प्रारम्भ गर्ने भनिएको छ । 

शालिग्राम शर्मा पौडेल प्रवक्ता, निर्वाचन आयोग
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले कानुनबमोजिम इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गरेको हो ।

यसैगरी संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार–प्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही प्रारम्भ गर्न निर्देशन गरिएको छ । यी विषयमा कुनै द्विविधा भए आयोगमा सिफारिस गरी पठाउन निर्देशित गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार २ वैशाखदेखि मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाउन भनिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित
निर्वाचन आयोगले इलाम– २ को प्रतिनिधिसभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य पदमा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । अन्तिम नामावलीमा कायम भएका इलाममा १९ र बझाङका ११ जनालाई आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । 

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाममा दलबाट १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले फिर्ता लिएका छन् । यसैगरी, दलबाट १२ जनाको उम्मेदवारी परेको बझाङ प्रदेश १ मा जनता दलका उम्मेदवार अशोक सुनारले फिर्ता लिएका छन् । 

इलाम– २ मा कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन लिम्बू, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू, जनता दलका रेशमबहादुर सुनारले उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फ डकेन्द्रसिंह लिम्बू, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालको उम्मेदवारी परेको छ । 

बझाङ प्रदेश १ मा कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमतका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

दुई दिन विद्यालय बन्द
आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले दुई दिन बिदा दिन सरकारलाई निर्देशन गरेको छ । १३ र १४ गते ती विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ । मतदानको दिन १५ गते शनिबार भएकाले आयोगले दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिनुपर्ने निर्णय गरेको हो । 

यसैगरी, मतदानको दिन उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले इलाम र बझाङ जिल्लाको वर्तमान सुरक्षा व्यवस्था र उपनिर्वाचनको हालसम्मको तयारीको समीक्षा गरेको थियो ।

 

ad
ad