१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १३:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:३o:oo

प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सत्ता र प्रतिपक्षका सांसदहरूले एक–अर्काको विरोधमा कुर्सीबाट उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

आजको बैठक सुरु हुनेबित्तिकै सत्ता र प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदले कुर्सीबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद सुशीला थिङलाई बोल्नका लागि समय उपलब्ध गराएका थिए।

त्यसक्रममा सांसद थिङले सडकमा लाखौँको संख्यामा देशभरका सहकारी पीडितहरू लडिरहेको र अर्बौँको रकम अपचलन भएको कुरा आएको बताइन्। सूर्यदर्शनलगायत ६ वटा सहकारीबाट एक अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीको नाममा लगानी भएको भन्दै सहकारीमा सर्वसाधारणले जम्मा गरेको निक्षेप गोर्खा मिडिया कम्पनीले लैजान पाउँछ कि पाउँदैन भन्दै उनले प्रश्न गरिन् । 

सांसद थिङले सो मिडियाका एक सञ्चालक तथा प्रबन्ध–निर्देशक रवि लामिछानेमाथि अनुसन्धान किन नहुने भन्दै सर्वसाधारणले गरेको भए यस्तो अवस्थामा कानुन लाग्ने, तर लामिछानेको हकमा सरकारले अनुसन्धान नै प्रभावित पार्ने कस्तो विडम्बना भन्दै आपत्ति जनाइन्। 

साथै, उनले आजै बसेको कांग्रेस संसदीय समितिको बैठकको निर्णय सुनाउँदै आफ्ना माग सम्बोधन नभए सदन चल्न नसक्ने जानकारी गराइन् । 

त्यसपछि सभामुख घिमिरेले उभिएर विरोध जनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिए । तर, झा बोल्न थाले पनि कांग्रेस सांसदहरू कुर्सीमा बसेनन् र विरोध जनाइरहे। यसपछि सत्तापक्षका दलहरू एमाले र माओवादीका सांसद समेत उठेर कांग्रेसको अवरोधको विरोध गरे। यसरी दुवै पक्षका सांसद उठेर एक–अर्काको विरोध गर्न थालेपछि सभामुखले पटकपटक दुवै पक्षका सांसदलाई बस्न र एक–अर्काको कुरा सुन्न आग्रह गरे।

सदनको कार्यसूचीमा निकै महत्वपूर्ण विषयवस्तुहरू रहेको भन्दै सभामुखले  देशभरका जनसरोकारका विषयमा सदनमा बहस हुनुपर्ने भएकाले संयमित हुन पटकपटक आग्रह गरे।

दुवै पक्षका सांसद उभिएर विरोध गर्न नछाडेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । बैठक स्थगित गरेका सभामुखले सहमतिका लागि दलहरूसँग संवाद सुरु गरेका छन्।

ad
ad