१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १७ सोमबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशी-कमला डाइभर्सन छिटो सञ्चालन गर्न राष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी-कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार पूजापश्चात् आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि क्रान्ति हुने सप्तरीलगायतका जिल्लाहरू सुक्खाको समस्याबाट जुधिरहेको अवस्थामा कोशी–कमला डाइभर्सन सञ्चालन भए सुक्खाको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

सप्तरी पुरानो र इतिहास बोकेको जिल्ला भएको बताउँदै राष्ट्रपति पौडेलले १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनको वेला भारतीय नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियालगायतलाई हनुमाननगर जेल तोडेर मुक्त गराएको इतिहाससमेत स्मरण गरे । 

मधेशको पुरानो र ऐतिहासिक सप्तरी जिल्ला पछिल्लो समय पछाडि परेको बताउँदै राष्ट्रपति पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालसहित सप्तरीको समग्र विकासका लागि आफू सप्तरीवासीको साथमा रहेको र सप्तरी आफ्नो  मुटुबाट नहट्ने बताए ।

नेपाल र भारतका लाखौँ भक्तजनले श्रद्धा, सम्मान र सुरक्षाको अनुभूति गर्ने स्थल छिन्नमस्ता भगवती मन्दिर रहेको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपतिको हैसियतमा आफू पहिलोपटक छिन्नमस्ता भगवतीको दर्शन गर्न पाउँदा खुसी लागेको बताए ।

सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजोदेवी यादवले अभिनन्दनपत्र, दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरेका थिए । 

हेलिकोप्टरबाट पत्नीसहित छिन्नमस्ता आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेशकुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य नीलम रजक, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्तरीका पालिका प्रमुखहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले छिन्नमस्ता मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् ।

ad
ad