१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न प्रदान हुँदै    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:५१:oo

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण हुँदै छ ।  निर्वाचन कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले भने, ‘आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान ९ देखि १ बजेसम्मलाई तोकिएको छ । १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय ३ देखि ४ बजेसम्मलाई तोकिएको छ।’

कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ । उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गराएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा महिला उम्मेदवारको संख्या शून्य छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन् । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलनकुमार लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगाेल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । 

स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।     
 

ad
ad