१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख १८ मंगलबार १o:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

त्याग र समर्पणको रमजान

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१४:oo

मानवीय सहयोग, समाज कल्याण तथा न्यायकार्यमा लाग्न रमजानले प्रोत्साहित गर्छ

मुस्लिम सामुदायको पवित्र महिना रमजान अब सकिन लागेको छ । शुक्रबार मात्रै नेपालसहित संसारभरका मुस्लिम समुदायले जुमातुल बिदाइ अर्थात् अलबिदा जुम्माको नमाज पढेका छन् । अलबिदा जुम्मा भनेको रमजानको अन्तिम जुम्मालाई बुझिन्छ । इस्लाममा शुक्रबारको दिनलाई जुम्मा भन्निछ । मुस्लिम समुदायका लागि ‘जुम्मा’ दिनको ठूलो महत्व हुन्छ । 

जुम्माकै दिन मुस्लिम समुदाय मस्जिदमा गएर सामूहिक रूपमा नमाज पढ्छन् । इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरान सरिफमा अल्लाहले जुम्माकै दिन पहिलो मानवका रूपमा आदम अलैही सलामलाई जन्म दिएर जुम्माकै दिन उनलाई पृथ्वीमा पठाएको मानिन्छ । यसै दिन कयामत आउने इस्लाम धर्मग्रन्थमा उल्लेख भएकाले जुम्माले मुस्लिम समुदायका लागि विशेष महत्व राख्छ । त्यसैले, रमजानको अन्तिम जुम्माको अझ विशेष महत्व हुन्छ । अलबिदा जुम्माको नमाजलाई इदको निसानी भन्ने चलन छ ।  गत २८ फागुनमा सुरु भएको रमजान सकिन लागेको छ । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानसहितका मुस्लिम सामुदायले शनिबारसम्ममा २६ रोजा पूरा भएको छ । खाडी मुलुकमा एक दिन अघिदेखि रोजा बस्ने भएकाले त्यहाँका मुस्लिम सामुदायको आज २७ रोजा पूरा भएको छ । रमजानमा ३० रोजा बसिसकेपछि इदुल फित्र इद पर्व मनाइन्छ ।

इद पर्व आउने अब केही दिन मात्र बाँकी रहेको अवस्थामा बजारमा मुस्लिम समुदायको चहलपहल बढेको छ । नयाँ लुगा कपडादेखि इदमा विभिन्न परिकार पकाउने समानको जोहो हुँदै छ । इस्लामिक महिना सवाण समाप्त भई रमजान सुरु हुन्छ । इस्लाम धर्मका पाँचवटा अधार स्तम्भ इमान, नवाज, रोजा, जकात र हजमध्ये रोजा तेस्रो हो । रमजान महिनामा प्रत्येक वालिग मुस्लिम महिला तथा पुरुषले अनिवार्य रूपमा रोजा बस्नुपर्छ । रोजा धनीगरिब सबैमाथि अनिवार्य छ । रोजा (व्रत) बस्नेले दिनभरि केही नखाई साँझतिर अर्थात् सूर्यास्तपछि फलफूल खाई रोजा खोल्ने गरिन्छ । रोजा बस्नेले सम्भोग, झुटो बोल्नेलगायत कार्यबाट टाढै रही सफासुग्घर भई कम्तीमा दैनिक पाँचचोटि नमाज र विशेष प्रार्थनास्वरूप राति तराबी पढ्ने गर्छन् । सूर्य उदाउनुअघि ‘सेहरी’ खाएर दिनभर उपवास अर्थात् रोजा बस्ने मुस्लिमले सूर्य अस्ताएपछि मात्र खानपिन गर्छन् । इस्लामिक धर्मग्रन्थअनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिखदेखि मुस्लिम समुदायमाथि अनिवार्य गरिएको छ ।

इस्लामिक क्यालेन्डरअनुसार अहिले १४०० सय हिजरी चलिरहेको छ । इस्लामिक क्यालेन्डरका १२ मध्ये रमजान नवौँ महिनाको रूपमा रहेको छ । प्रत्येक दिन बिहान पाँच बजे फजर, दिउँसो एक बजे जोहर, बेलुका चार बजे असर, साँझ रोजा खोलेलगत्तै गरिब र त्यसपछि राति आठ बजेपश्चात् ईशाको नमाज पढिन्छ । त्यसैगरी, रमजानमा विशेष नमाजका रूपमा तराबिहको नमाज पढिन्छ । रमजान महिनाभरमा पाँचवटा रात यस्ता हुन्छन्, जसलाई सबेकदरको रात भनिन्छ । रमजान महिनाकै सबेकदरकै राति पवित्र कुरान सरिफ नाजिल अर्थात् आकाशबाट अवतरित भएको मानिन्छ । 

रमजानकै २७ तारिखका दिन इस्लाम धर्मका सबभन्दा ठूला ग्रन्थ पवित्र कुरान सरिफ नाजिल (अवतरित) भएको हो । त्यसैले यो महिनाको मुस्लिम समुदायमा विशेष महत्व हुन्छ । संसारको आवश्यकताअनुसार अल्लाहले एक–एक अनुच्छेदका रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरानले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग)का सातवटै ढोका खुला रहन्छन् भने जहनम–नर्क) का सबै ढोका बन्द रहन्छन् भन्ने विश्वास गरिन्छ । रोजा आत्मशुद्धि, त्याग र धैर्यको प्रतीक मानिन्छ । 

रमजान महिनाभर लगातार ३० दिन गरिने रोजाका तीन पाटा छन् । सुरुका १० दिनलाई ‘रहमत’ भनिन्छ । जसमा अल्लाहले विशेष कृपा गर्छन् भन्ने विश्वास छ । त्यस्तै, बीचका १० दिनलाई बरकत अर्थात् लाभ, समृद्धि उन्नतिका रूपमा लिइन्छ । यी १० दिनमा अल्लाहले आफ्ना भक्तजनको प्रार्थनाले खुसी भई तिनको कारोबारमा समृद्धि, उन्नति प्रदान गर्छन् भन्ने विश्वास गरिन्छ । 

त्यसैगरी, अन्तिम १० दिनलाई मगफिरत अर्थात् अल्लाहसँग मुक्ति तथा मृत्युपश्चात् जनत (स्वर्ग)का लागि प्रार्थना गर्ने अवसरका रूपमा लिइन्छ । मानव जातिलाई अल्लाहले जहनम (नर्क)बाट मुक्ति दिई जनत (स्वर्ग) प्रवेश गराउँछन् भन्ने इस्लामका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यसर्थ, मुस्लिमहरू रमजान तथा रोजाका नियमलाई विशेष पालन गर्छन् । रमजानमा कसैलाई एक रुपैयाँ दान गर्दा ७० रुपैयाँबराबरको सबाब (पुण्य) प्राप्त हुने जनविश्वास रहेको छ ।

एक नफिल नमाज पढ्दा एक फर्ज र एक फर्ज नमाज पढ्दा ७० फर्ज नमाज पढेबराबरको पुण्य प्राप्त हुने किंवदन्ती छ । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति नै बराबरको सम्पत्ति भएको खण्डमा अनिवार्य रूपमा जकात अर्थात् दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नुपर्छ । यसले गरिब र अशक्तका लागि केही गरौँ भन्ने सन्देश दिएको छ ।

यसरी गरिब तथा असहायलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने नियम मानव जातिका लागि उत्तम मानिन्छ । कसैलाई सित्तैमा एक सुको पनि दिन हिचकिचाउने मानवीय प्रवृत्ति रहेको भए पनि इस्लाममा यस्तो प्रवृत्तिको कहीँ स्थान छैन । जकात (दान)का लागि प्रत्येक वर्ष निकालिने रकम गरिब, विपन्न, असहायमा खर्च गर्नुपर्ने प्रावधान छ । ‘रोजामार्फत अरूको भोकको अनुभव गर्न सकिन्छ । भोकै बस्नुपर्ने बाध्यता भएका गरिबलाई आफ्नो कमाइको केही अंश सहयोग गरेर मानवीय सहयोग, समाज कल्याण तथा न्यायको कार्यमा लाग्न रमजानले प्रोत्साहित गर्छ ।

रमजान महिनाभरि विशेष रूपमा अल्लाहप्रति समर्पित मुस्लिम अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राखेर धार्मिक तथा समाजलाई भलो हुने काममा तल्लीन हुन्छन् । आपराधिक, अश्लील तथा समाजलाई अहित हुने कार्य यो महिनामा मुस्लिमबाट हुँदैन । तर, अपराधीको कुनै जात हुँदैन, अपराधीहरू जात, धर्म, कानुनभन्दा बाहिर हुन्छन् ।

रमजानको यो विशेषताले सामाजिक विकृति न्यूनीकरण, कानुनी राज्यको सम्मान, सामाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । इदको नमाज पढ्नुपूर्व रोजामा भएको त्रुटि वा रोजालाई शुद्धीकरणका लागि प्रतिव्यक्ति दुई किलो ४५ ग्राम गहुँ वा त्यतिबराबरको रकम परिवारका सबै सदस्यले अनिवार्य रूपमा मदरसा तथा गरिबमा दान गर्नुपर्छ । यस्तो परम्पराले निश्चित रूपमा समाजमा राम्रो सन्देश दिएको हुनुपर्छ । सबै धर्ममा यस्ता राम्रा पक्ष हुन्छन् । त्यसकारण धर्मका राम्रा पक्षलाई जगेर्ना र त्यसको विकासका लागि पहल गर्नु आजको आवश्यकता हो ।

ad
ad