१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
२o८१ बैशाख १८ मंगलबार १३:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:१७:oo

केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा अहिले कक्षा छ मा पढ्छिन, अंकिता दमाई। विगतका वर्षमा मुस्किलले पास हुने उनी यसपटक भने कक्षामा उत्कृष्ट अंक ल्याउन सफल भइन्। पाठ्यपुस्तक  अभाव र मेहेनत नहुँदा खस्केको उनको पढाइ यस वर्ष भने राम्रो हुँदा उनका परिवार पनि दंग छन्।

‘उसको पढ्ने रहर त थियो। तर, पढ्नलाई किताबै पाइँदैन थिए’, उनकी  दिदी सिर्जनाले भनिन्, ‘पुराना किताब आधा च्यातिसकेका हुन्थे। घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए। बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो।’ गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानी पनि विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले सुनाइन्। 

सोही विद्यालयका तेजेन्द्र भण्डारी चार कक्षामा पढ्ने बेलामा एउटा किताब त फागुनमा मात्रै पुगेको थियो। ‘फागुनमा किताब पढेर चैतमा जाँच दिएर कसरी पास हुनु ? निकै मुस्किल हुन्थ्यो। मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए । यस पटक सबैले राम्रो अंक ल्याएर पास भएका छन्’, उनले भने। 

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनिन्छन्। गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने झन् उनले मेहेनत बढाए। ‘विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो। सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचक्क्र्याँई गर्नुहुन्थ्यो’, उनले भने, ‘आधा कोर्स पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो। अहिले भने सबै पढाइ हुन्छ। विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन्।’

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययनरत कल्पना ढाँटको पनि। उनले भनिन्, ‘सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ। विभिन्न सङ्घ संस्थाले सहयोग गरिरेका छन् केही अपुग भए पनि हामी गुनासो गर्छौँ। समस्या समाधान हुन्छ।’

जिल्लाकै बढी विद्यार्थी हुने मध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उनले सुनाए। शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाई बझाङको भनाइ छ। 

इकाईका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्यांक यकिन नभए पनि नतिजा फेरिएको छ। पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने ज्ञान पनि हासिल गर्ने उनले बताए। 

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन्।

कतिपय विद्यालयले आवश्यकताअनुसार चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन्। खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ। रासस 

‘सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्’ उनले भने, ‘नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौँ । बढी ल्याउँदा पछि खेर जान पनि सक्छन्। बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौँ।’

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरूले पुस्तकहरू धमाधम ढुवानी गरिरहेको शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ। इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट सबै विद्यार्थीले नयाँ पुस्तक पाउनेछन्। 

ad
ad