१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २o:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस समयअनुकुल निर्णय गर्न सक्ने पार्टी हो : प्रदेश सभापति बानियाँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:५६:oo

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस समयअनुसार निर्णय गर्न सक्ने पार्टी भएको बताएका छन्। 

काठमाडौंको मध्यबानेश्वरस्थित सनराइज ब्यान्क्वेटमा शनिबार भएको कांग्रेस बागमती प्रदेश भातृ संघ समन्वय विभागको पूर्णबैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसको बागमती प्रदेश सभापति बानियाँले यस्तो बताएका हुन्।

‘देश र जनताको चाहनाअनुसार समयअनुकुल निर्णय गर्न सक्ने पार्टी भएकाले नै कांग्रेसले जहानियाँ राणाशासन फाल्नेदेखि गणतन्त्र ल्याउनसम्मको आन्दोलनको अगुवाई गरेको हो,’ सभापति बानियाँले भने, ‘त्यसैलाई पछ्याउँदै एमाले, माओवादी, राप्रपालगायतका दल यहाँसम्म आएका हुन्।’

बागमती प्रदेश सांसदसमेत रहेका बानियाँले मिश्रित निर्वाचन प्रणालीका कारण मुलुकमा अस्थिरता कायम रहेको भन्दै अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रणाली आवश्यक रहेको बताए । 

‘केही दल ०८४ को निर्वाचनमा एक सय ५० सिट ल्याउँछौँ भन्दै हिँडेका छन् । म ती दललाई भन्न चाहन्छु निर्वाचन प्रणाली बदलौँ र प्रत्यक्ष जित्ने प्रणाली मात्र राखौँ, अनि थाहा हुन्छ कसले कति सिट ल्याउन सक्छ,’ रास्वपातर्फ संकेत गर्दै सभापति बानियाँले भने। 

उनले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने गरी मन्त्रालयको नेतृत्व गरिरहेको भन्दै संसदीय छानबिन समिति गठन गरेर उनी जोडिएको भनिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नुपर्ने धारणा राखे।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विपक्षीका आवाजलाई समेत सम्बोधन गर्ने गरेको भन्दै उनले कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दश शर्माले बजेट निर्माणका वेला अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै विपक्षीले माग गरेपछि संसदीय छानबिन समिति गठन भएको चर्चा गरे। तर, यसपटक विपक्षी दलका रुपमा रहेको कांग्रेसले सहकारीको ठगीबारे छानबिन गर्न बारम्बार समिति गठनको माग उठाइरहँदा पनि सरकारले बेवास्ता गरेको उनको भनाइ थियो। 

‘कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । तर, प्रधानमन्त्री र प्रहरी प्रमुख न्यायाधीशजस्तो बनेका छन् । एमाले छानबिन समिति बनाउन हुँदैन भनिरहेको छ,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले हिजो विपक्षीको पनि आवाजलाई सम्बोधन गर्यो । तर, कम्युनिष्टहरु लोकतान्त्रिक हुँदैनन् । त्यसैले जबरजस्ती गर्छन् । पेलेर जाने प्रयास गर्छन् । अहिले त्यही भइरहेको छ।’

बागमती प्रदेशका १३ जिल्लाबाट बैठकमा प्रतिनिधित्व गरिरहेका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई सुदृढ पार्टी बनाउने जिम्मेवारी पूरा गर्न युवाहरु गाउँगाउँ जानुपर्ने र जनतालाई वास्तविकता बुझाउनुपर्ने बताए । 

‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ। गाउँगाउँमा, टोलटोल पुगेर कांग्रेस के हो? यसको इतिहास र बोक्दै आएको विचार कस्तो छ ? भन्नेबारे जनतालाई बुझाउनुपर्यो। त्यति मात्र होइन, नयाँ पार्टीका बोली र व्यवहार कति फरक छन् भनेर देखाउनुपर्यो, बुझाउनुपर्यो,’ उनले भने। 

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेसले सधैँ संघर्षको नेतृत्व गरेको चर्चा गर्दै उनले भने, ‘राणाको परिवारमा जन्मिएका भए पनि सवर्णशम्शेरले सबै जनतालाई शिक्षामा अधिकार दिनुपर्छ, समानता चाहिन्छ भनेर संघर्ष गर्नुभयो । बिपी र गणेशमानले जनतालाई अधिकार सम्पन्न बनाउन पूरै जीवन अर्पिनुभयो। यी नेता मन्त्री, प्रधानमन्त्री बन्नका लागि लडेका थिएनन् । जनतालाई अधिकार सम्पन्न बनाउनकै लागि मात्र संघर्ष गरेका थिए। त्यसैले जहानियाँ राणा फल्न सफल भए, एकदलीय पञ्चाय ढाल्न सफल भए। मानवतामाथि नै खतराको रुपमा मान्छेले मान्छे मार्ने युद्ध चलाइरहेको माओवादीलाई हिंसा छाडेर शान्ति प्रक्रियामा आउन गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभयो ।’ 

ad
ad