१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:५२:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा त्यो १० विकेट 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५२:oo

नेपाली क्रिकेटले बिर्सन नसक्ने एउटा नाम हो, मेहबुब आलम । बायाँहाते बलर आलमले सन् २००८ को २५ मेको दिन न्यु जर्सीमा मोजाम्बिकविरुद्ध दश विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए । ५० ओभरमा उनको यो रेकर्ड अहिलेसम्म तोडिएको छैन । तर, टेस्ट फर्म्याटमा इंग्ल्यान्डका जिम लाकेर, भारतका अनिल कुम्बले र न्युजिल्यान्डका अजाज पटेलले मात्र एकै इनिङ्समा १० विकेट लिएका छन् । १६ वर्षअघि नेपालले आइसिसी विश्वकप डिभिजन ५ मा मोजाम्बिकविरुद्धको खेलमा आलमले १० जना खेलाडीलाई पेभेलियन पठाए । उनले पाँच बोल्ड, चार एलबिडब्लू र एक क्याच आउट गराए । विश्व क्रिकेटकै दुर्लभ कीर्तिमानी क्षणको स्मरण आलमले नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायसँग यसरी सुनाए : 

१६ वर्षअघिको त्यो दिन सम्झिँदा अहिले पनि म आफूलाई प्राउड फिल गर्छु । आजका दिनसम्म पनि एकदिवसीय फर्म्याटमा मेरो विश्व कीर्तिमानबराबर अरू कुनै बलरले गरेका छैनन् । न्यु जर्सीको मैदानमा कल्पनामा भए पनि एकपटक उभिएर हेर्दा नेपाल आमाको नाम अन्तर्राष्ट्रिय जगत्मा फैलाउन एउटा इँटा थपेको महसुस हुन्छ । तत्कालको समयमा हामी खेलाडीबाट राष्ट्रले जुन अपेक्षा राखेको थियो, त्यसमा हामी सफल भयौँ । एकै खेलमा दशै खेलाडीलाई एक बलरले आउट गर्नु सामान्य होइन । क्रिकेटमा यो असाधारण र दुर्लभ मानिन्छ । भनिन्छ, हरेक खेलाडीको भाग्यमा एक दिन लेखिएको हुन्छ । त्यो दिन मेरो थियो । 

मैले विश्वलाई चकित पार्ने अद्भुत र दुर्लभ प्रदर्शन गरेँ । अझै पनि मोजाम्बिकविरुद्धको खेल सम्झिँदा रोमाञ्चित र उत्साहित हुन्छु । आइसिसी विश्वकप लिग ५ विश्वकप छनोट खेल थियो । मैले विश्व कीर्तिमानी प्रदर्शन गर्नु अघिल्लो दिन हामीले मोजाम्बिकलाई ६६ रनमा अलआउट गरेका थियौँ । विकेट कन्डिसन राम्रो थियो । परेश लोहनी र म ओपनिङमा गयौँ । एक बलपछि नै पानी पर्‍यो । दिनभरि पानी रोकिएन । विश्वकप छनोट भएकाले अंक बाँडिएन । यसको नतिजा खेलबाटै हुने थियो । यसकारण भोलिपल्टको रिजर्भ डेमा पुनः नेपाल र मोजाम्बिकबीच खेल भयो । हो, त्यसै रिजर्भ डेमा मैले १० विकेट लिएको थिएँ । दोस्रो दिन हामीले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर दुई सय ३८ रन बनायौँ ।  

चिसो मौसममा तीव्र गतिको हावा
न्यु जर्सीमा अघिल्लो दिनको तुलनामा रिजर्भ डेमा बढी चिसो थियो । चिसो मौसमसँगै तीव्र गतिमा हावा चलिरहेको थियो । विकेटको दुवै एन्डमा मेरो बलिङ इन स्विङ भइरहेको थियो । जुन अघिल्लो दिनको जस्तो थिएन । जहाँ बल फ्याँक्ने योजना बनाए, बल त्यही बाउन्स वा इन स्विङ भइरहेको थियो । त्यसवेला मैले बलिङ स्पेलमा फरक अनुभूति पाएँ । बल फ्याँक्दा दिशा परिवर्तन भइरह्यो । साथै, म लयमा थिएँ । मोजाम्बिकका ब्याट्सम्यानको एज लागेको थिएन र उनीहरू बिट पनि भएनन् । केवल ७.५ ओभर मात्र बलिङ गरेँ । यही स्पेलमा म गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएँ । त्यो खेलको रमाइलो पक्ष के थियो भने हरेक ओभरमा एक वा दुई विकेट आइरहेको थियो । जेएम खोराभलाई पेभेलियन पठाउँदा मेरो पाँचौँ विकेट पूरा भयो । त्यसवेला मोजाम्बिक ९–५ को कमजोर अवस्थामा थियो । सुरुमा पाँच विकेट लिएको समयमा मैदानभित्र हल्का खुसी मनाइयो । सात ओभरसम्म सातै विकेट आइसकेको थियो । 

विनोद दाइले साथीलाई बोलाउनुभयो
मैले सात विकेट लिएपछि कप्तान विनोद दास दाइले सबै साथीलाई बोलाउनुभयो । उहाँले भन्नुभयो, ‘अब मोजाम्बिकका बाँकी तीन विकेट आलमले नै लिनुपर्छ, यसमा हामीले पूरै सहयोग गर्नुपर्छ ।’ मैले यसअघि पनि पाँचदेखि आठ विकेट लिएको थिएँ । मोजाम्बिकविरुद्ध सात विकेट लिनु त्यति ठूलो मानिनँ । तर, विकेटको कन्डिसन र मेरो बलिङ इनस्विङ भइरहँदा १० विकेट लिन सक्ने सम्भावना विनोद दाइले देख्नुभएको रहेछ । म आफू भने केवल सही लाइनमा बलिङ गर्ने मात्र योजना बनाइरहेको थिएँ । यसअघि म्यानमारविरुद्ध तीन रन खर्चेर सात विकेट लिएको थिएँ । माल्दिभ्ससँगको एक खेलमा आठ विकेट झारेको थिएँ । तर, १० विकेटको प्रदर्शन भएको थिएन । विनोद दाइले मबाट ऐतिहासिक प्रदर्शनको अपेक्षा राख्नुभएको थियो । लगातार बलिङ गरिरहँदा म थाकेको अवस्थामा उहाँले बलिङ परिवर्तन गराउनुभयो । 

अरूले विकेट लिने डर थिएन
मोजाम्बिकको सात विकेट गएपछि नेपालको एक किसिमको योजना बनेको थियो । म यति ढुक्क थिएँ कि नेपालका अरू बलरले विकेट लिनेछैनन् र मलाई पूरै सहयोग गर्नेछन् भनी । त्यसवेला शक्ति दाइ र विनोद दाइले मात्र बलिङ गर्नुभएको थियो । उहाँहरूले विकेट टु विकेट बलिङ गर्नुभएन । केवल विकेटको दायाँ र बायाँ मात्र बलिङ भइरहेको थियो । यसकारण विपक्षी ब्याट्सम्यानले जोखिमपूर्ण सट खेलेनन् । मैले आठौँ ओभरको सुरुमै दुई सफलता हात पार्दै विकेट संख्या नौ पुर्‍याएँ । तत्कालै कप्तान दासले फेरि एकपटक सबै साथीहरूलाई बोलाएर भन्नुभयो, ‘साथीहरू, मेहबुब अब कीर्तिमाननजिक छ, हामी कोही पनि चुक्नुहुन्न ।’ साथीहरूले ‘मेहबुब, तिमीले विश्व कीर्तिमान बनाउनुपर्छ, यसका लागि हामी तयार छौँ’ भन्दै मेरो उत्साह बढाउनुभयो ।

५० ओभर भएकाले मोजाम्बिकका ब्याट्सम्यानहरूको ध्यान पूरै इनिङ्स खेल्नेतिर थियो । उनीहरू आरामदायीपूर्वक ब्याटिङमा देखिन्थे । फेरि मेरो बल अनपेक्षित रूपमा धेरै इनस्विङ भइरहेको थियो । मैले फ्याँकेको बल कि स्टम्पमा लाग्थ्यो वा सीधै प्याडमा लाग्थ्यो । ब्याट्सम्यानलाई बल छाड्ने कुनै मौका थिएन । मोजाम्बिकका ब्याट्सम्यान डिफेन्स गर्ने चक्करमै एकपछि अर्को गरी आउट हुँदै गए । मैले पाँच बोल्ड, चार एलबिडब्लू र क्याच आउट विकेट लिएँ । 

विश्व कीर्तिमानी प्रदर्शनमा म तीनपटक ह्याट्रिकनजिक पुगेको थिएँ । मैले १० विकेट लिन एक मेडनसहित १२ रन मात्र दिएँ । मोजाम्बिकका नौ खेलाडीले खाता खोलेनन् । अन्तिम चार विकेट १७–७ बाट १७–१० को अन्तरमा पतन भयो । 

इनस्विङ बुझ्न सकेनन्
मोजाम्बिकका ११औँ खेलाडी इम्तियाज लिली थिए । त्यसवेला उनको अनुहारमा एक किसिमको डर थियो । अर्कोतिर म पनि भयभीत थिएँ । भित्रभित्रै म नौ विकेटमा सीमित हुने होइन भनी सोचिरहेँ । रेकर्ड बनाउन नदिन ब्याट्सम्यान जानी–जानी रनआउट पनि हुने गर्छन् । तर, नौ विकेट ल्याइसक्यौँ, अब एक संख्या हो भनी बलिङ गरेँ । आठौँ ओभरमै १० विकेटको प्रदर्शन गर्छु भनी संकल्प गरेँ । लिलीको डरमाथि मनोवैज्ञानिक खेल खेलेँ । मेरो चौथो बलमा उनले डिफेन्स गरे । त्यसपछि पाँचौँ बल स्टम्प टु स्टम्प गरेँ । मेरो स्विङ बल बुझ्न नसक्दा उनी बोल्ड भए । लिलीको स्टम्प हावामा उडेपछि मैले विश्व क्रिकेटमै आफ्नो नाम लेखाएँ । सिंगो मोजाम्बिक १४.५ ओभरमा १९ रनमै अलआउट भयो । नेपालले अर्को कीर्तिमानका रूपमा दुई सय १९ रनले जित हात पार्‍यो । त्यसपछि ३० यार्ड घेराभित्र फिल्डिङ गरेका साथीहरूले मलाई बधाई दिए । साथीहरूले काँधमा राखेर मैदानको एक फन्को घुमाए । लगभग दुई घण्टासम्म विश्व कीर्तिमान क्षणको मैदानमै खुसी मनायौँ । मेरो सफलतामा प्रशिक्षक रोय लुक डायस अत्यन्तै खुसी हुनुहुन्थ्यो । हाम्रा लागि उहाँ बुबाजस्तै हुनुहुन्थ्यो । प्रत्येक खेलाडीको सफलतामा उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो । 

होटेलमा मेरो प्रतीक्षा 
लगातार दुई दिन खेल भएकाले हामी सबै थाकेका थियौँ । होटेलमा खासै केही पनि गरेनौँ । तर, बिहान होटेलको लबीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार मेरो प्रतीक्षारत रहेछन् । मलाई यो थाहा थिएन । लगभग होटेलको लबीमा बसेका सबैले अघिल्लो दिन मोजाम्बिकविरुद्ध १० विकेट लिने बलर मेरैै प्रतीक्षामा थिए । कतिले अटोग्राफ लिए । धेरैले सोध्ने एउटै प्रश्न रह्यो, ‘कसरी १० विकेट लिनुभयो ।’ यहाँसम्म प्रतियोगितामा सहभागी अन्य टोलीका खेलाडीको पनि यही प्रश्न थियो । भ्याएसम्म सबैलाई उत्तर दिएँ । त्यसवेला म सेलेब्रिटीजस्तै नै भएँ । उनीहरूले विश्व कीर्तिमान बनाएका बलर भन्दै मसँग फोटो लिन आए । क्लिकइन्फोका एक पत्रकारले ‘मेहबुब तिम्रो १० विकेटको प्रदर्शन ग्रिनिज बु अफ रेकर्डमा दर्ता गर्नुपर्छ, थाहा छ किन छैन’ भनी प्रश्न गरे । मैले उनलाई भनेँ, ‘ऐ हो र, मलाई यसबारे केही थाहा छैन ।’ तत्कालै अर्को दिन पनि म्याच खेल्नुपर्ने कारण स्याम्पेन फोडेर खुसी मनाउन पाइएन । मेरो सफलतामा सबै रमाइरहँदा नेपाल राष्ट्रलाई मैले क्रिकेट खेलबाट सानो योगदान गरेजस्तै सम्झेँ ।

अरू खेलाडी सतर्क
मोजाम्बिकविरुद्धको प्रदर्शनपछि अरू खेलमा यसको प्रभाव ज्यादै पर्‍यो । अफगानिस्तान, सिंगापुर, मलेसिया र अमेरिकाविरुद्ध खेल हुँदा उनीहरूका खेलाडी मसँग त्रसित देखिए । खेलअगाडि उनीहरूका ब्याट्सम्यानले मेरो बलिङ एक्सनदेखि सबै पक्ष अवलोकन गरेका थिए । क्रिजमा मविरुद्ध कसरी खेल्ने भनी पूरै योजनाबद्ध रूपमा आएको महसुस गरे । मैले सुनेको थिएँ, ‘अरूको बल खेल्ने हो, तर आलमको बल छाड्ने है, उसको बलिङमा झुक्किएर पनि ठूलो सट नखेल्ने ।’ यस्ता योजना विपक्षीहरूले बनाएका रहेछन् । एकपटक अफगानिस्तानसँग खेल्दा मविरुद्ध उनीहरूले ठूलै योजना बनाएका थिए । मानसिक रूपमा मैल उनीहरूलाई यसरी दबाबमा राखेँ । तर, कहिल्यै पनि १० विकेटमाथि घमन्ड गरिनँ । रेकर्ड भनेको तोड्नकै लागि हो । आज बन्छ, भोलि कसैले यसलाई तोड्नेछन् । यसैकारण मोजाम्बिकविरुद्धको प्रदर्शन मेरा लागि भोलिपल्ट पुरानो भइसकेको थियो । एउटै सफलतामा अगाडि बढ्नुहुन्न भन्ने मेरो सोचाइ हो । देशका लागि थप यस्तै किसिमको रेकर्ड राखी अगाडि बढ्नुपर्ने मानसिकताका साथ अगाडि बढिरहेको छु । 

क्रिकेटबाट टाढिन सक्दिनँ
नेपाली क्रिकेटले अहिले धेरै सफलता प्राप्त गरेको छ । हामीले त्यसवेला सोचेको सपना बिस्तारै पूरा हुँदै छ । सन् २०१४ मा हामीले टी–२० विश्वकप खेल्यौँ । अब १० वर्षपछि फेरि पनि खेल्ने क्रममा छौँ । यसबीचमा नेपालले एसिया कप खेल्यो र खेलाडीले पाकिस्तान र भारतजस्तो शक्तिशालीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । यो सफलता देख्दा खुसी हुन्छु । जुन हामीले कुनै समयमा देखेको सपना थियो । हामी क्रिकेटरले आफ्नो पूरै जीवन नेपाली क्रिकेटलाई दियौँ । नेपाल आमाको नाम राख्न खेल्यौँ । म मैदानबाहिर वा भित्र किन नहोस्, सधैँभरि नेपालको क्रिकेटको विकासकै लागि म भगवान्सँग प्रार्थना गरिरहेको हुन्छु । नेपालको क्रिकेट जहाँ हुन्छ, त्यसबारे म प्रत्यक्ष पलको समाचार लिइरहेको हुन्छु । क्रिकेटप्रतिको माया कहिल्यै पनि मर्दैन । नेपालको हरेक जितमा साथीहरूसँगै मनाउँछु । हारमा त्यसको समीक्षा गर्छु । क्रिकेटबाट कहिल्यै टाढा हुँदिनँ र हुने पनि छैन । 

ad
ad