१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नाै महिनामा नाै प्रतिशत मात्र राजस्व वृद्धि भएको रहेछ : अर्थमन्त्री पुन

प्रकृया पुगेका पुरानो दायित्व भुक्तानीका फाइल नरोकिने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:५१:oo

अर्थमन्त्री वर्षमान पुन अनन्तले चालू आर्थिक वर्षको हालसम्मको राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन्।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसद्सहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालू आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तर्क्रियामा उनले लक्ष्य महत्वाकांक्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको बताए।

चालू आर्थिक वर्षको नाै महिनामा हालसम्म नाै प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनको भनाइ थियो। यद्यपि, आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको मन्त्री पुनले बताए। राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए।

‘चालू आर्थिक वर्षमा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा नाै प्रतिशत हारामारीमा मात्र वृद्धि रहेछ,’ उनले भने, ‘अर्थ र गृहको अन्तरमन्त्रालय समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौँ। अब राजस्व संकलन बढ्छ।’ 

मन्त्री पुनले स्राेतको सीमितताभित्र रहेर सत्तागठन्धनले संविधानको दायराभित्रै बसेर तय गरेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको जानकारी दिए।

विगतमा पुँजीगत खर्चको अवस्था उत्साहजनक नहुने गरेको चर्चा गर्दै अर्थमन्त्री पुनले विनाअध्ययन र तयारी हचुवाका भरमा कार्यान्वयन हुन नसक्ने योजना यो वर्षको बजेटमा समावेश नगरिने स्पष्ट गरे। उनले स्राेत सुनिश्चित भएका राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनामा समेत बजेट खर्च हुन नसक्नुको जवाफ राजनीतिक र प्रशानिक नेतृत्वले दिनुपर्ने औँल्याए।

मन्त्री पुनले नियामक निकायका अनुसन्धानहरूका कारण कर्मचारीतन्त्र काम गर्न हच्किएको भन्ने चर्चा सुनेको भन्दै विधि, प्रक्रिया र कानुनसम्मत काम गर्दा कोही आत्तिनुनपर्ने स्पष्ट गरे। ‘कर्मचारीतन्त्रमा काम गर्ने वातावरण छैन भनिन्छ। कसैले नियामक निकायको हस्तक्षेपले काम भएन भनेको पनि सुनिन्छ,’ उनले भने, ‘कानुनसम्मत काम गर्नेले नियामक निकायसँग डराउनुपर्दैन।’

फरक प्रसंगमा मन्त्री पुनले प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोकिने प्रतिबद्धता जनाए। आफू मन्त्री भएको एक महिनामा सामाजिक सुरक्षा, दुग्ध किसान तथा विकास आयोजनाका गरी ७० अर्ब भुक्तानी भइसकेको जानकारी उनले दिए।

ad
ad