१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समयानुकूल वस्तुनिष्ठ शिक्षा नीति आवश्यक : राष्ट्रपति पाैडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन्। जनज्योति क्याम्पस भिमाद तनहुँको १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘राजनीतिक अस्थिरताको शृंखलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो। मैले प्रधानमन्त्रीलाई  पनि यही भनेको छु– तपाईंहरूको राजनीतिमा मेरो भन्नु केही छैन, तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो। प्रधानमन्त्रीले तपाईं र म रहेसम्म केही हुँदैन भन्नुभएको छ,’ उनले भने, ‘तपाईंहरूले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईंहरूसँग कबुल गर्दछु।’

राष्ट्रपति पौडेलले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्याय क्षेत्रको ध्यानाकर्षण गराए। उनले भने, ‘विकासको काम रोकेर कानुनको कुरा नगरौँ, न्याय पनि जनताको पक्षमा हुनुपर्छ। यो मेरो सुझाव र सल्लाह हो।’

उनले देश विकासको मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। त्यसका लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकूल शिक्षा नीति जरुरी रहेको प्रस्ट पारे। 

‘त्यसैले सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ,’ उनले भने। रोजगारी र शिक्षाका लागि सहर पस्ने र सहर हुँदै बिदेसिने प्रवृत्ति बढिरहेका वेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

ad
ad