१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

शिक्षामन्त्री नआएपछि समिति बैठक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:३o:oo

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलका लागि बिहीबार बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो । मन्त्री नआएपछि सांसदले असन्तुष्टि जनाएका थिए ।

प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमा दफावार छलफल हुँदा संसदीय समितिमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, बिहीबार बसेको बैठकमा शिक्षामन्त्रीको उपस्थिति थिएन । यसअघि श्रेष्ठ मन्त्री नबन्दै उनले तत्कालीन शिक्षामन्त्री अशोक राई समितिको बैठकमा उपस्थित नहुँदा आफैँले विरोध गर्ने, तर आफू मन्त्री बनेपछि अनुपस्थित भएको भन्दै सांसदहरूले विरोध गरेका हुन् । 

करिब दुई महिनाअघि शिक्षा विधेयकबारे दफावार छलफलका लागि बसेको बैठकमा तत्कालीन शिक्षामन्त्री राई उपस्थित नहुँदा बैठक यसै गरी स्थगित भएको थियो । बिहीबार पनि समितिको बैठकमा शिक्षामन्त्री नै उपस्थित नहुने भएपछि स्थगित गर्न समितिका सदस्यहरूले सभापतिलाई दबाब दिएका थिए ।

समितिको बैठकमा शिक्षामन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भए पनि अनुपस्थित रहेकाले विरोध गरिएको सांसद देवेन्द्र पौडेलले बताए । सांसद ईश्वरी घर्तीमगरले पनि शिक्षामन्त्री उपस्थित नभएको भन्दै विरोध गरिन् ।

शिक्षामन्त्री उपस्थित नहुँदा अधिकांश सांसदले विरोध गर्न थालेपछि समितिका सभापति अम्मरबहादुर थापाले बिहीबारको बैठक स्थगित गर्दै शुक्रबार दिउँसो १ बजेका लागि बैठकको समय तोकेका छन् । बैठकमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी उपस्थित थिए । 

ad
ad