१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कमलबहादुर शाह मुख्यमन्त्री सुदूरपश्चिम/डिल्लीबहादुर चौधरी मुख्यमन्त्री लुम्बिनी
२o८१ बैशाख १७ सोमबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसले एकै दिन गुमायो दुई प्रदेश सरकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१६:oo

कांग्रेसले एकै दिन दुईवटा प्रदेश सरकार गुमाएको छ । केन्द्रमा समीकरण फेरिएपछि अल्पमतको सरकार चलाइरहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले बिहीबार साँझ राजीनामा बुझाएका हुन् । उनले प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिने तयारी गरेका थिए । नागरिक उन्मुक्तिका सातैजना सांसदको समर्थन पाउने अपेक्षा गरेका मुख्यमन्त्रीले एक सिट रहेको राप्रपा र एकजना स्वतन्त्र सांसदको समर्थनमा बहुमत जुटाउने कोसिस गरेका थिए । विश्वासको मत दिन नागरिक उन्मुक्ति एक भएको अवस्थामा राप्रपा र स्वतन्त्र सांसद मुख्यमन्त्रीलाई समर्थन गर्न तयार पनि थिए । तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट सांसद कैलाश चौधरी र टीका थापा विश्वासको मत दिन काठमाडौंबाट धनगढी आएनन् । उनीहरू केन्द्रको गठबन्धनको पक्षमा छन् । सांसद आउने आशामा रहेका मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजे आह्वान गरिएको प्रदेश सभा बैठक साँझ ५ बजे सारिएको थियो । राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूले राजीनामा दिए पनि सरकार गठनका लागि कांग्रेसले जुनसुकै दलसँग सहकार्यको ढोका खुला राखेको बताए । 

यस्तै, तत्कालीन एमाले–माओवादी गठबन्धन भत्केर कांग्रेस–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि चौधरी गत १४ वैशाखमा मुख्यमन्त्री बनेका थिए । तर, फेरि समीकरण फेरिएर माओवादीले समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतको सरकार चलाइरहेका थिए । उनले विश्वासको मत लिने बताइरहे पनि अन्ततः संसद्मा राजीनामा घोषणा गरे । लुम्बिनीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन गठबन्धनमा आबद्ध दल सहमत भएका छन् ।

केन्द्रमा गठबन्धनले माओवादीलाई नेतृत्व दिने सहमति गरेअनुसार यहाँ माओवादी संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले पाँचबुँदे सहमति गरेका हुन् ।

नागरिक उन्मुक्तिको समर्थनविना गठबन्धनको पक्षमा पनि पुग्दैन बहुमत
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि नागरिक उन्मुक्तिको समर्थन आवश्यक हुन्छ । तर, नागरिक उन्मुक्तिमा भने प्रदेश सरकारमा सहभागिताबारे दुई पक्षबीच विवाद छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले नागरिक उन्मुक्तिले सहयोग नगर्दा उनले सरकार छाड्नुपर्‍यो । 

यसअघि गत वर्ष मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । नयाँ सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । सातजना सांसद रहेको नागरिक उन्मुक्तिविना अहिलेको गठबन्धनको सरकार पनि बन्दैन । प्रदेश सभामा गठबन्धनको २४ सिट मात्र छ । त्यसबाहेक कांग्रेसका १८, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले राजीनामा दिए पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरिसकेका छैनन् ।

संविधानको कुन धाराअनुसार सरकार गठनको आह्वान गर्ने भन्नेबारे प्रदेश प्रमुख परामर्शमा रहेकाले शुक्रबारसम्म सरकार गठनका लागि आह्वान हुन सक्ने उनीनिकट स्रोतले जनाएको छ । संविधानको धारा १६८ को उपधारा २ मा फर्कने वा ५ अनुसार आह्वान गर्ने भन्ने यकिन नभएको बताइएको छ । स्रोतका अनुसार उपधारा २ अनुसार सरकार गठनको आह्वान हुने सम्भावना छ ।

ad
ad