१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१८ महिनामै चौतारामा सुविधासम्पन्न अस्पताल तयार

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३८:oo

अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख आरएमबी अनुदान, ३९ बेडसहित मेडिकल कम्प्लेक्स 

सिन्धुपाल्चोक सदरमुकाम चौतारामा चीनको अनुदान सहयोगमा ३९ शय्याको सुविधासम्पन्न अत्याधुनिक अस्पताल तयार भएको छ । १८ महिनामा सम्पन्न भएको अस्पताल भवन नेपाल सरकारलाई हस्तान्तरण गर्न चिनियाँ निर्माण कम्पनी संवादमा छ । 

अस्पताल भवन निर्माणका लागि १५ अगस्ट २०१८ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो । विनाशकारी भूकम्पले ध्वस्त अस्पताल पुनर्निर्माण गर्न चीन सरकारले ६ करोड १० लाख आरएमबी अनुदान सहयोग गरेको हो । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिना अर्थात् ८ मार्च २०२४ मा निर्माण सम्पन्न भएको प्रोजेक्ट प्रमुख वरिष्ठ इन्जिनियर मिस्टर गुओ बाओचेङले जानकारी दिए । ‘हामीले समयसीमाभित्र निर्माण सकेका छौँ,’ उनले भने, ‘अब नेपाल सरकारलाई हस्तान्तरण गरेर चीन फर्कन्छौँ ।’

चाइना चियुयान इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले भवन तयार पारेको हो । अस्पताल निर्माणमा दैनिक २५ चिनियाँ र एक सय नेपाली कामदार खटेका थिए । निर्माण सम्पन्नपछि २० चिनियाँ र सबै नेपाली कामदार घर फर्केका छन् । 

तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ । 

भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्छा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । भुइँतलामै भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण जडान गरिएका छन् । 

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शय्याको अन्तरंग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै डे«सिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष रहेका छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन् । तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन् । अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन् । 

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ । फर्निचर, मेसिन, दराज सबै चीनबाट ल्याइएको हो । नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहनेछन् । उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने छन् । भूकम्पपछि ध्वस्त भएको चौतारा अस्पतालले करिब पाँच वर्ष टेन्टमा रहेर बिरामीको उपचार गरेको थियो । 

ad
ad