१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नगरपालिकाकै मिलेमतोमा तारकेश्वरमा गुठीको ६ आना जग्गा हिनामिना, अख्तियारले थाल्यो अनुसन्धान

चलनचल्तीको मूल्य प्रतिआना ७० लाख

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१७:oo

तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ६ आना जग्गा हिनामिना भएको छ । नगरपालिकामातहतको न्यायिक समितिले तारकेश्वर नगरपालिका– ८ स्थित ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको नाममा पास गर्न सिफारिस गरेपछि हिनामिना भएको हो । 

नगर प्रमुख कृष्णहरि महर्जनको रोहवरमा समिति प्रमुख तथा उपमेयर  सिर्जना बुर्लाकोटी अर्यालको अध्यक्षतामा ३ फागुनमा बसेको बैठकले शैक्षिक गुठीको जग्गा श्रेष्ठको नाममा नामसारी गर्न सिफारिस गरेको थियो । चलखेलका लागि गरिएको नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं. १२४४ को व्यक्तिगत जग्गा सरेर कित्ता नं. २७१ र ९९५ मा पुग्यो । जसमध्ये कित्ता नं. २७१ को जग्गा दालेकी गुठीको हो । यो कित्ताको २ आना जग्गा मिचिएर श्रेष्ठको नाममा पुगेको छ । समितिले सट्टापट्टा गर्न आदेश दिएपछि उक्त दुई आना जग्गा श्रेष्ठको नाममा गएको हो ।

त्यस्तै, कित्ता नं. ९५५ को जग्गा डा. मोहम्मद सरिप साहको हो । सिफारिसपछि उनको पनि जग्गा मिचिन पुग्यो । जहाँ अहिले पनि उनको निजी घर छ । त्यस्तै, कित्ता नं. २७२ र २७३ को २ आना जग्गा सरेर कित्ता नं. २१८८ तर्फ पुग्यो, जुन जग्गा मधु सापकोटाको नाममा छ । तर, नगरपालिकाले कित्ता नं. २१८८ को जग्गा कित्ताकाट गर्न भनेन । त्यसो हुँदा दालेकीले दुईतर्फबाट थप ४ आना जग्गा गुमायो । त्यस्तै, बाँकी दुई आनामध्ये एक आना गोरेटो बाटो र अर्को एक आना सडकमा मिसिन पुगेको छ । चलनचल्तीको दरभाउअनुसार उक्त जग्गाको मूल्य प्रतिआना ७० लाख पर्छ ।

शिक्षा ऐन २०२८, को दफा १६ को उपदफा २ अनुसार शैक्षिक गुठीको स्वामित्वमा रहेको जग्गाको स्वरूप परिवर्तन गर्न पाइँदैन । उक्त दफामा भनिएको छ, ‘शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहनेछ । कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन गरिएकामा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ । त्यस्तो सम्पत्तिको स्वरूप परिवर्तन गर्न पाइनेछैन ।’ दालेकी गुठीले उक्त जग्गामा नेपाल रत्न स्कुल चलाउँदै आएको छ । विद्यालयमा अहिले चार सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । गुठीले सबै विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको छ ।

विद्यालयको नाममा रहेको जग्गा सट्टापट्टा पनि गर्न नपाइने शिक्षा नियमावली २०५५ मा स्पष्ट छ । सट्टापट्टा गर्नैपर्ने भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्छ । नियमावलीको नियम १६१ को उपनियम २ मा भनिएको छ, ‘विद्यालयको कमाउन्ड वा खेलमैदानसँग जोडिएको जग्गासँग कुनै जग्गा सट्टापट्टा गर्नुपर्ने भएमा सामुदायिक विद्यालयको भए सम्पत्ति संरक्षण समिति, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा र संस्थागत विद्यालयको भए सम्बन्धित गुठियार वा कम्पनीका सञ्चालक, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई सट्टापट्टा गर्न सकिनेछ ।’ तर, दालेकी शैक्षिक गुठीको जग्गा सट्टापट्टा गरिँदा न व्यवस्थापन समितिको सिफारिस भएको छ, न सम्बन्धित मन्त्रालयको नै स्वीकृति लिइएको छ । 

गुठीको जग्गा व्यक्तिको नाममा पठाउन निर्णय गर्ने नगरको न्यायिक समिति प्रमुख बुर्लाकोटीले यसबारे कुरा गर्न चाहिनन् । उनले भनिन्, ‘यो विषयमा म तपाईंसँग कुरै गर्न चाहन्नँ । आवश्यक कागजात हेर्नुपरे कार्यालय आउनुहोस् ।’

अख्तियारले थाल्यो अनुसन्धान
नगरपालिकाको शंकास्पद कार्य देखिएपछि घटना सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि अख्तियारले मिलापत्रसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाएको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घटना शंकास्पद देखिएपछि अनुसन्धान थालिएको बताए । ‘शैक्षिक गुठीको जग्गा कानुनविपरीत सट्टापट्टा गरिएको भन्दै उजुरी परेको छ । यस सम्बन्धमा अख्तियारले अनुसन्धान सुरु गरेको छ ।’ 

जग्गा हिनामिनामा गुठीकै पदाधिकारी पनि संलग्न
जग्गा हिनामिनामा गुठीका तत्कालीन अध्यक्ष कामी शेर्पा र सचिव दीपक पुन पनि संलग्न रहेको देखिएको छ । निजी स्वार्थमा लागेर गुठीको जग्गा व्यक्तिको नाममा हस्तान्तरण गर्न भूमिका खेलेको भन्दै गुठीले शेर्पा र पुनलाई कारबाही गरेको छ । गुठीका हालका अध्यक्ष दोर्जेनोर्बु शेर्पाले तत्कालीन अध्यक्ष कामी र दीपकले गुठीको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गर्न भूमिका खेलेको देखिएपछि कारबाही गरिएको बताए । उनले भने, ‘दालेकी गुठीको जग्गा नगरपालिका, कामी र दीपकको मिलेमतोमा दुई आना व्यक्तिको नाममा लगिएको पाइयो । हामीले कामी र दीपकलाई कारबाही गरेका छौँ । नगरपालिकाको कार्यले गुठीको थप चार आना पनि गायब भएको छ ।’ धनीपुर्जाअनुसार गुठीको नाममा कुल २९ आना जग्गा थियो । तर, समितिको सिफारिसपछि अहिले २३ आना मात्रै रहेको उनको भनाइ छ । नारायण श्रेष्ठको नाममा जग्गा लैजान गत ३ फागुनमा सिफारिस भएको थियो । श्रेष्ठले न्यायिक समितिको सिफारिसपछि गुठीले भोगचलन गरेको जग्गा आफ्नो नाममा आएको बताए । उनले भने, ‘दालेकी गुठी र मेरो स्वामित्वमा रहेको जग्गाको सीमामा १२ वर्षअघिदेखि विवाद थियो । नगरपालिकाले दुई पक्षबीच सहमति गराइदियो । मेरो जग्गा फिर्ता भएको छ ।’

ad
ad