१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

आन्तरिक कलहमै ‘इन्डिया’ गठबन्धन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१२:oo

भाजपा र उसका सहयोगीले लगभग सम्पूर्ण उम्मेदवारको सूचीलाई अन्तिम रूप दिइसक्दा विपक्षी ‘इन्डिया’ गठबन्धनभित्र भने सिट बाँडफाँटकै बार्गेनिङ चलिरहेको छ 

यसै साता भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) मा आबद्ध पार्टीहरूले दिल्लीको रामलीला मैदानमा प्रभावशाली ‘लोकतन्त्र बचाओ’ र्‍याली आयोजना गरे । यसले मोदी सरकारका नीतिको विरोध गर्न कुनै खास विवरण प्रस्तुत गरेन, न त वैकल्पिक एजेन्डा पेस गर्‍यो । यसको सट्टा गठबन्धनमा एक ‘पीडित’ मानसिकता प्रस्ट देखिन्थ्यो । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आफूहरूलाई निसाना बनाएको गठबन्धनका नेताको कथन थियो ।

उनीहरूले १८औँ आमनिर्वाचनको निष्पक्षतालाई पनि चुनौती दिए । मोदीले केन्द्रीय एजेन्सीहरू र ‘चार पुँजीपति’को सहयोगमा हेमन्त सोरेन र अरविन्द केजरिवालजस्ता नेतालाई गिरफ्तार गरेर ‘म्याच फिक्सिङ’मा संलग्न रहेको राहुल गान्धीले आरोप लगाए । तथ्य यो हो कि कंग्रेसले नै दिल्लीको आम आदमी पार्टी (आप) सरकारलाई मदिरा घोटालामा संलग्न रहेको आरोप लगाएको थियो । सोही विषयलाई लिएर केजरिवाल अहिले जेलमा छन् । चुनावी र्‍यालीमा आम आदमी पार्टी र कंग्रेस नेतृत्वबीचको सौहार्दताले कंग्रेसको गिर्दो भाग्यलाई केही हदसम्म प्रकाश पार्छ ।

जनवरी २५ मा कंग्रेसका विदेश प्रमुख साम पित्रोदाले इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)को निष्पक्षतामा प्रश्न गर्न भर्चुअल प्रेस सम्मेलन गरे । तथापि उनले हिमाञ्चल, कर्नाटक र तेलंगाना चुनावमा आफ्नो पार्टीको जितबारे सोधिएको प्रश्नलाई बेवास्ता गरे, जहाँ उही इभिएम प्रयोग गरिएको थियो । केजरिवालको गिरफ्तारीपछि अमेरिका, जर्मनी र संयुक्त राष्ट्रसंघले पनि भारतको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । स्पष्ट छ, राहुल गान्धीको बारम्बार विदेश भ्रमणले सार्थकता पाइरहेको छ ।

रामलीला मैदानमा भएको र्‍याली इन्डिया ब्लकले आयोजना गरेको तेस्रो कार्यक्रम थियो । मार्च ३ मा गठबन्धनले पटनामा एक विशाल ‘जनचेतना र्‍याली’ आयोजना गर्‍यो र पन्ध्र दिनपछि मार्च १७ मा राहुलको भारत जोडो न्याय यात्राको समापनका अवसरमा ब्लकमा आबद्ध पार्टीहरू मुम्बईमा भेला भए । मार्च १० मा कोलकातामा पनि एक प्रभावशाली र्‍याली आयोजित गरिएको थियो, तर तृणमूल कंग्रेस (टिएमसी)ले राज्यका सबै ४२ सिटका लागि नाम घोषणा गरिसकेको थियो ।

रामलीला मैदान सन् २०११ मा अन्ना हजारेको इन्डिया अगेन्स्ट करप्सन (आइएसी) आन्दोलनको चर्चित स्थल हो, जसले तत्कालीन कंग्रेस नेतृत्वको केन्द्रीय सरकारलाई चुनौती दिएको थियो । आइएसीको एक शाखा आम आदमी पार्टी (आप)मा केजरिवाल एक भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा देखा परे । आइतबार सोही ठाउँमा भ्रष्टाचारको मुद्दामा जेल परेको विरोधमा जुलुस निकाल्नु विडम्बना हो ।

त्यहाँबाट सय किलोमिटर टाढा मेरठमा राष्ट्रिय लोक दल (आरएलडी)का नवनियुक्त जयन्त चौधरीसहित भाजपाको उत्तर प्रदेश गठबन्धन साझेदारको साथमा प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारविरुद्ध लड्ने र विकास सुनिश्चित गर्ने भन्दै २०२४ को निर्वाचन अभियान सुरु गरे । भाजपाको एजेन्डा र उसको प्रतिद्वन्द्वीबीचको भिन्नता एकदमै फरक छ । नकारात्मकताले विपक्षीलाई निरन्तर अगाडि बढाइरहेको छ, जबकि मोदी आफ्नो सरकारका उपलब्धिको प्रचार गर्छन् र तिनीहरूलाई ‘ट्रेलर’को रूपमा प्रस्तुत गर्छन् ।

रामलीला मैदानको र्‍यालीमा सोनिया गान्धीले भाग लिएकी थिइन्, जो अस्वस्थताका कारण अहिले बिरलै सार्वजनिक रूपमा देखा पर्छिन् । राहुल गान्धी र प्रियंका वाड्रासँगै सोनिया जेलमा परेका दिल्ली र झारखण्डका मुख्यमन्त्रीहरूका पत्नी सुनिता केजरिवाल र कल्पना सोरेनको छेउमा बसिन् । अरविन्द केजरिवाल र हेमन्त सोरेनका लागि मञ्चमा प्रतीकात्मक रूपमा दुई खाली कुर्सी राखिएका थिए । अन्य दुई मुख्यमन्त्री ममता बनर्जी र एम.के. स्टालिन मञ्चमा अनुपस्थित थिए । तर, उनीहरूको सम्मानमा कुनै कुर्सी राखिएका थिएनन् । उनीहरूलाई आ–आफ्ना सांसदले प्रतिनिधित्व गरेका थिए । ममता आफ्नो पार्टीका उम्मेदवार मोहुआ मोइत्राको प्रचार गर्न आइतबार कृष्णनगर पुगेकी थिइन् । टाउकोमा चोट लागेपछि पन्ध्र दिनमा ममताको यो पहिलो सार्वजनिक उपस्थिति थियो ।

केजरिवाललाई पक्राउ गरेपछि ममताले उनीप्रति सहानुभूति राखिन् । यद्यपि, न त उनी न उनको भतिजा तथा पार्टी महासचिव अभिषेक बनर्जी (जो ब्लक बैठकहरूमा सक्रिय थिए)लाई रामलीला मैदानको र्‍यालीमा सहभागी हुन सार्थक लाग्यो । डेरेक ओब्रायन र नयाँ सांसद सागरिका घोषले तृणमूलको प्रतिनिधित्व गरे । बंगालका सबै ४२ सिटका लागि उम्मेदवार घोषणा गरेर टिएमसीले गठबन्धनविरुद्ध चेतावनीको घन्टी बजाइदिएको छ । गठबन्धनसँग भरोसा नभएको उनले संकेत गरेकी छिन् । कृष्णनगरमा आयोजित र्‍यालीमा ममताले भनिन्, ‘देशमा इन्डिया गठबन्धन छ । वास्तवमा मैले गठबन्धनको नाम दिएकी थिएँ । चुनाव सकिएपछि हेर्छु । तर, भाकपा र कंग्रेससँग कुनै ब्लक छैन ।’ बंगलामा उनले गठबन्धनलाई भ्रम भनेर वर्णन गरिन् ।

ममताको स्पष्टतालाई रामलीला मैदान मञ्चमा उपस्थित अन्य दलले सेयर गरेनन् । सिपिआईले केरलाको वायनाडमा राहुल गान्धीविरुद्ध उम्मेदवार खडा गरेको छ । बिहारमा यसले बेगुसरायका कंग्रेसका स्टार प्रचारक तथा युवाका प्रतीक कन्हैया कुमारलाई सहयोग गर्न अस्वीकार गर्‍यो । अन्ततः आरजेडीले स्वीकार गर्‍यो । पूर्णियामा पनि आरजेडीले हालै आफ्नो पार्टी कंग्रेसमा विलय गर्ने पप्पु यादवको उम्मेदवारीलाई अस्वीकार गरेर कंग्रेसलाई समर्थन जनायो । महाराष्ट्रमा गठबन्धनको वार्ताको परिणामबाट विचलित कंग्रेस राज्य एकाइले पाँच सिटमा ‘मैत्रीपूर्ण लडाइँ’ गर्ने विचार गरिरहेको छ । इन्डिया ब्लकको आधारमा धेरै दरार देखा परेका छन् । तर, ममताबाहेक अन्यले यी दरार ढाक्न पाखण्डलाई प्राथमिकता दिएका छन् ।

सोरेन र केजरिवालको गिरफ्तारीलाई अदालतले कुनै निन्दा गरेको छैन । नोभेम्बरदेखि केजरिवालले नौवटा बोलावट बेवास्ता गरेका छन् । यदि उनी पहिले नै उपस्थित भएका भए अहिलेसम्म चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्न स्वतन्त्र हुन सक्थे । पक्राउ परेका दिन दिल्ली उच्च अदालतले उनलाई सुरक्षा दिन अस्वीकार गर्‍यो । आफ्नो विवरण तयार गर्न केजरिवालसँग नोभेम्बरदेखि समय थियो । तर, पक्राउ परेका दिन उनी र उनको पार्टीसँग रणनीति तयार थिएन । ४०० सिटमा बिजेपीविरुद्ध उम्मेदवारी दिने चर्चा फितलो भएको छ । भाजपा र उनका सहयोगीहले लगभग सम्पूर्ण उम्मेदवारको सूचीलाई अन्तिम रूप दिएका छन् । यसबीच भारत गठबन्धन अझै पनि आन्तरिक कलह र बार्गेनिङमा लडिरहेको छ ।

– एनडिटिभीका लागि शुभब्रत भट्टाचार्यको आलेख

ad
ad