१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
बाजुराको कोल्टी क्षेत्रका लागि व्यवसायी नरेशजंग शाहीलाई पाठ्यपुस्तक हस्तान्तरण गर्दै जनक शिक्षा केन्द्र प्रादेशिक कार्यालय, सुदूरपश्चिम प्रमुख रामबहादुर कुँवर । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

४५ जिल्लामा पुग्यो पाठ्यपुस्तक 

२५ चैतसम्म सबै जिल्लामा पुर्‍याउने योजना, काठमाडौंमा मंगलबार वितरण गरिँदै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१८:oo

शैक्षिक सत्र सुरु हुनुअगावै अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा केन्द्रले समयमै पाठ्यपुस्तक ढुवानी सुरु गरेपछि दुर्गम तथा सहरी क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको हो । 

विगतमा भन्दा यो वर्ष केही छिटो पाठ्यपुस्तक ढुवानी सुरु भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । गत वर्ष १५ चैतबाट मात्रै पाठ्यपुस्तक ढुवानी थालिए पनि यस वर्ष ८ चैतबाटै पाठ्यपुस्तक ढुवानी थालिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार २५ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्नेछ । ‘हामीले अधिकांश जिल्लामा पाठ्यपुस्तक पठाइसकेका छौँ, सोमबारसम्म दुर्गम तथा उपत्यकाबाहिरका अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगिसक्छ,’ उनले भने, ‘जिल्ला शिक्षा समन्वय एकाइ, स्थानीय तहसँगको समन्वयमा हामीले डिपो तथा विक्रेतालाई ढुवानी गर्न लगाउँछौँ, त्यहाँबाट विद्यालयले लैजान्छन् । कतिपय विद्यालय आफैँ पनि लिन आउने गरेका छन् ।’ पाठ्यपुस्तकको खरिदको रकम स्थानीय तहले पाठ्यक्रम विकास केन्द्रलाई दिनुपर्छ । 

हाल सरकारी विद्यालयको बालविकास तहदेखि कक्षा १२ सम्म ५६ लाखभन्दा बढी विद्यार्थी छन् केन्द्रले सोही परिमाणमा पाठ्यपुस्तक छापेको छ । यसपटक १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक निजी छापाखाना र त्यसभन्दा माथिल्लो तहको पाठयपुस्तक जनक शिक्षालाई छाप्न जिम्मा दिइएको थियो । पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छापेर डिपोहरूमा पठाउने गरेको छ । डिपोहरूले पाठ्यपुस्तक ढुवानीबापतको न्यूनतम शुल्क जनक शिक्षासँग लिन्छन् । यस वर्ष १ देखि १२ कक्षासम्मको पुस्तक छपाइमा साढे दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ भने सो तहमा दुई करोड ६० प्रति थान किताब प्रकाशन गरी वितरण गरिँदै छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार अब करिब चार लाख थान पाठ्यपुस्तक छपाइको काम बाँकी छ, तर गत वर्षको पनि पाठ्यपुस्तक बाँकी भएकाले माग आएमा मात्रै छापिने केन्द्रले जनाएको छ । 

आइतबारसम्म केन्द्रले ४५ जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसकेको छ । खोटाङ, ओखलढुंगा, सिन्धुली, दोलखा, रामछोप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, हुम्ला, जुम्ला, दैलेख, कालीकोट, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, रौतहट, बारा, महोत्तरी, प्युठान, रोल्पा, गुल्मी, अर्घाखाँची, बाजुरा, दार्चुला, बझाङ, बैतडी, जाजरकोट, सुर्खेत, कैलाली, संखुवासभा, ताप्लेजुङ, इलाम, तेह्रथुम, मोरङ, सुनसरी, भोजपुर, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, म्यादी, पर्वत र बागलुङ जिल्लामा पाठ्यपुस्तक ढुवानी भइसकेको छ । जिल्लामा पुगेको पाठ्यपुस्तक मागअनुसार जिल्ला शिक्षा समन्वय एकाइले विद्यालयलाई प्रदान गर्नेछ । कतिपय विद्यालय आफैँ आएर पनि जनक शिक्षाबाट पाठ्यपुस्तक लैजाने गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले जिल्लामा पुग्नासाथ विद्यालयहरूलाई पाठ्यपुस्तक लैजान अनुरोधसमेत गरेको छ । केन्द्रका अनुसार सोमबार काभ्रेपलाञ्चोक जिल्लामा पाठ्यपुस्तक ढुवानी हुनेछ । 

जनक शिक्षाले सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तकको बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीबाट प्रदेशका पुस्तक व्यवसायीलाई गत मंगलबारबाट पाठ्यपुस्तक बिक्री सुरु भएको हो । पहाडी जिल्लामा पुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताए ।

विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरि पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् । सरकारले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने घोषणा गरेसँगै रामेछापमा शैक्षिक सत्र सुरु हुनुअगावै सबै कक्षाका पाठ्यपुस्तक पुगेका छन् । ताप्लेजुङका सामुदायिक विद्यालयका पाठ्यपुस्तक विगतमा भन्दा दुई साताअगाडि आइपुगेको छ । शुक्रबार र शनिबार गरी दुई ट्रक पाठ्यपुस्तक ल्याएको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । 

३२ जिल्लामा २५ गतेसम्म पुग्नेछ पाठ्यपुस्तक
आइतबारसम्म ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगे पनि ३२ जिल्लामा भने अझै पुग्न सकेको छैन । त्यसमध्ये सोमबार काभ्रेपलाञ्चोक र छुटेका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी हुनेछ । त्यस्तै, मंगलबार काठमाडौं उपत्यकामा पाठ्यपुस्तक विवतरण हुनेछ । हाल पाठ्यपुस्तक पुग्न बाँकी रहेका अधिकांश जिल्ला तराई र सहरी क्षेत्रका छन् । यी क्षेत्रमा पाठ्यपुस्तक पठाउन सहज र छिटो हुने भएकाले जनक शिक्षा सामग्री केन्द्रले पहाडी, दुर्गम र हिमाली क्षेत्रलाई प्राथमिकता राखेर पाठ्यपुस्तक ढुवानी थालेको थियो । दुर्गम, पहाडी र हिमाली जिल्लामा ढुवानी गर्न समय लाग्ने र अन्य समस्या आउने भएकाले छिटो पाठ्यपुस्तक वितरण भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार हाल पाठ्यपुस्तक पुग्न बाँकी जिल्लामध्ये सबैजसो सहरी र तराई क्षेत्रका जिल्ला छन् । यी जिल्लामा ढुवानी छिटो हुने भएकाले पहिलो चरणमा दुर्गम, हिमाली र पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी भएको हो । ‘भौगोलिक हिसाबले असहज र अप्ठ्यारो हुने जिल्लामा हामीले पाठ्यपुस्तक पठाइसकेका छौँ,’ उनले भने, ‘अब सहरी र तराईका जिल्लामा ढुवानी तथा वितरण गर्न सहज हुन्छ ।’ 

जनक शिक्षा सामग्री केन्द्रले मंगलबार उपत्यकाका तीन जिल्लामा पाठ्यपुस्तक वितरण गर्नेछ । यद्यपि, काठमाडौंको चावहिल महांकालमा रहेको जनकल्याण माविमा भने आइतबार नै पाठ्यपुस्तक पुगेको छ । काठमाडौं उपत्यकाका जिल्लामा पनि डिपो तथा विक्रेताहरूसँग विद्यालयले पाठ्यपुस्तक खरिद गर्न सक्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक झाका अनुसार चार लाख थान किताब छाप्न बाँकी छ । तर, निजी स्कुलबाट माग भयो भने मात्रै छापिनेछ । कतिपयले गत वर्ष पुगेर बाँकी रहेको पुस्तकले पनि काम चलाउने भएकाले चार लाख पुस्तक आवश्यकता भएपछि मात्रै छापिनेछ । 
 

ad
ad