१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार o६:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठाैँ विराट गोल्डकप : एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४९:oo

अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै पाहुना टोली सिक्किम ड्रागन विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार बुढासुब्बा गोल्डकप विजेता न्युरोड क्लब (एनआरटी)लाई २–१ ले हराउँदै सिम्किमले अन्तिम चारमा स्थान बनाएको हो । सिक्किमले फाइनल प्रवेशका लागि मच्छिन्द्र एफसी र साउदर्न समिति एफसी कोलाकताबीच मंगलबार हुने खेलको विजेतासँग खेल्नेछ । 

जितका लागि सिक्कमका ह्यारिसन र आदर्श तामाङले गोल गरे । सहिद स्मारक ए डिभिजन लिग टोली एनआरटीका तर्फबाट शिशिर लेखीले एक गोल फर्काएका हुन् । हारपछि एनआरटीका प्रशिक्षक जीवन सिन्केमनले खेलाडीबीच तालमेल नमिलेका कारण पराजय भोग्नुपरेको बताए । ‘दुईजना खेलाडी आइतबार काठमाडौं जानुपर्ने भयो । त्यही कारण पनि हार भयो,’ उनले भने । जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि जितका लागि अतिरिक्त समय पर्खिनुपरेको बताए । 

अन्तिम मिनेटमा जित
एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले ४०औँ मिनेटमा निकालेको पासलाई सदुपयोग गर्दै शिशिरले अग्रता दिलाएका थिए । तर, खेलमा सिक्मिमको टोली पुनरागमन गर्न सफल भयो । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रामक खेल खेल्यो । ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले बराबरी गोल गरे । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारिसनले बक्सभित्रबाट आकर्षक गोल गरे । 

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयमा १–१ गोल भएपछि खेल अतिरिक्त समयतिर मोडिएको थियो । ११९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्री किक दिएका थिए । आदर्शले प्रहार गरेको फ्री किक बलले जाली चुमेको थियो । सिक्किमका आदर्श खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

रोमाञ्चक खेल
एनआरटीले आक्रामक खेल खेल्दै आधा दर्जनभन्दा बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका गोलकिपर प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराएका हुन् । एनआरटीका रिचार्डले खेल सुरु भएको सातौँ मिनेटमा प्रहार गरेको बललाई सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगत्तै शिशिर लेखीको प्रहार बाहिरियो ।

२१औँ मिनेटमा एनआरटीका अफिज ओलावालेको प्रहारलाई सिक्किमका किपर प्रिसोले उत्कृष्ट ढंगले बचाए । २९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डबाट गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बारमाथिबाट फालिदिए । पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभागबाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावालेले बक्सनजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले विफल पारिदिए । 

खेलाडीले राम्रो खेले
कुन्जन भुटिया, प्रशिक्षक, सिक्किम

खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले जित निकाल्न सफल भयौँ । एनआरटीले पनि राम्रो खेल्यो । त्यसैले खेल जित्न अतिरिक्त समय पर्खिनुपर्‍यो ।

तालमेल मिलेन
जीवन सिन्केमान, प्रशिक्षक, एनआरटी

खेलाडीबीच आन्तरिक तालमेल नमिलेका कारण पराजय भोग्नुपर्‍यो । दुई खेलाडी नभएका कारण पनि हार भयो । समग्रमा खेल राम्रो भएको थियो । 

मच्छिन्द्र बाहिरियो
 सहिद स्मारक ‘ए’ डिभिजनको पूर्वविजेता मच्छिन्द्र एफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको पहिलो खेलमै पराजित भएको छ । कपिलवस्तुस्थित बुद्ध रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा मच्छिन्द्र सडन डेथमा हनामी बिएफसीसँग ५–४ ले पराजित भयो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष सुमन, र भवीन्द्र मल्लले गोल गरेका थिए । राम शाही, अनिल खड्का र अमृत श्रेष्ठ भने चुके । मच्छिन्द्रका लागि विशाल तामाङ, चन्दन दास, छिरिङ लामा र आशिष श्रेष्ठले गोल गरे । राष्ट्रिय टोलीका सदस्य विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीको प्रहार भने गोलमा परिणत हुन सकेन । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र सहारा फुटबल एकेडेमी प्रतिस्पर्धा हुनेछ ।

ad
ad