१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
ताप्लेजुङ सदरमुकाम फुङलिङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक ढुवानी गरिँदै ।
तेजराज भट्ट रामेछाप
२o८१ बैशाख १७ सोमबार o८:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ शैक्षिक सत्रअघि नै  विद्यार्थीको हातहातमा पुस्तक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५९:oo

चैत मसान्तअघि नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउँदै जनक शिक्षा 

सरकारले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गरेसँगै अहिले व्यवसायीले पुस्तक आयातलाई तीव्र पारेका छन् । जसकारण विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरि पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् । 

ताप्लेजुङका सामुदायिक विद्यालयका पाठ्यपुस्तक विगतमा भन्दा दुई साताअगाडि आइपुगेको छ । शुक्रबार र शनिबार गरी दुई ट्रक पाठ्यपुस्तक ल्याएको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । गत वर्ष २८ चैतदेखि मात्रै पुस्तक वितरण हुने गरेको थियो । तर, यस वर्ष शिक्षकको अनुकूलताअनुसार जुनसुकै समयमा विद्यालयलाई दिइने व्यवस्था मिलाइएको मिश्रले बताए । 

जिल्लामा स्टेसनरी व्यवसायीले सामुदायिक विद्यालयको पुस्तक संयुक्त रूपमा बिक्री गर्दै आएका छन् । ‘जनक शिक्षाले अग्रिम भुक्तानी गरेपछि मात्रै किताब दिन्छ, जिल्लाभरिका लागि ल्याउन करिब डेढ करोडबराबरको लागत लाग्छ, त्यसैले हामी संयुक्त रुपमा ल्याएर बिक्री गर्छाैं,’ मिश्रले भने । यो वर्ष कक्षा १ देखि ७ सम्मका पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा रहेको महासंघका सचिव भेषराज पौडेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म प्रतिकक्षा १५ सय सेटको दरले ल्याएको संघले १ देखि ७ सम्मको अंग्रेजी मिडियम र लिम्बू भाषाको आनीपान पाँच सयका दरले ल्याएको छ । मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र सिरिजंगा गाउँपालिकाका कतिपय विद्यालयले वाहिर जिल्लाबाट ल्याउने गरेका छन् । व्यवसायीले व्यक्तिगत रूपमा बिक्री गर्दा कतिपय विद्यालयले वर्षैपिच्छे पसल फेर्ने र पैसा नतिर्ने गरेपछि व्यवसायी संगठित हुनुपरेको व्यवसायी दिनेश भट्टराईले बताए । भौगोलिक हिसाबले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा, याङमा, फले, ग्याब्लाजस्ता बस्तीमा किताब पुर्‍याउन चार दिनसम्म लाग्ने गर्दछ । 

यस्तै, रामेछापमा शैक्षिक सत्र सुरु हुनुअगावै सबै कक्षाको पाठ्यपुस्तक आइपुगेको हो । जिल्लामा रहेका मिलिजुली पुस्तक पसल, जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज,नवदुर्गा पुस्तक पसल, घिमिरे पाठ्यपुस्तक, आशीष पुस्तक पसल, विद्यार्थी पुस्तक पसल र वाइआर पुस्तक पसललगायतमा शुक्रबार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक आइपुगेका छन् । 

सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा गरेसँगै यस वर्ष कक्षा १ देखि ४ सम्मका निजी क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ । कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन र वितरणको जिम्मा लिएको थियो । विगतमा सिजन सुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले सबै विषयको सेटमा पुस्तक ल्याउन सकेका थिएनन् । तर यस वर्ष केन्द्रले बेलैमा सेटसंख्यामा पुस्तक प्रकाशन गरेका कारण चाँडै पाठ्पुस्तक जिल्लामा ल्याएको पुस्तक व्यवसायी मीनप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार चैत महिनाभित्रै जिल्लामा आएका सबै पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पुर्‍याइसक्ने गरी काम अघि बढाइएको बताए । यस वर्ष समयमै पाठ्यपुस्तक प्राप्त भएकाले विगतमा जस्तो विद्यार्थीहरूले खाली झोला बोकेर विद्यालय जानुपर्ने स्थितिको अन्त्य हुने शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए ।

सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तक बिक्री–वितरण सुरु
जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तकको बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीबाट प्रदेशका पुस्तक व्यवसायीलाई गत मंगलबारबाट पाठ्यपुस्तक बिक्री सुरु भएको हो । पहाडी जिल्लामा पुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताए ।

सुरुका दुई दिन प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पुस्तक ढुवानी भएको जनक शिक्षाले जनाएको छ । प्रदेशका अन्य जिल्लामा पनि पालैपालो पाठ्यपुस्तक ढुवानीको कार्यतालिका बनाइएको छ । प्रादेशिक कार्यालय प्रमुख कुँवरले शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी ढुवानी थालिएको बताए । उनले यहाँ खपत हुने संख्यामध्ये करिब ८० प्रतिशत ढुवानी भइसकेकाले पाठ्यपुस्तक अभावको समस्या नहुने दाबी गरे । जनक शिक्षाले आउने शैक्षिक सत्रमा प्रदेशभरि १२ कक्षासम्मका १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ । चालू शैक्षक सत्रमा जनक शिक्षाले प्रदेशमा १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको थियो । एसइई परीक्षा सकिएलगत्तै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि ढुवानी सुरु गरिने जनक शिक्षाले जनाएको छ ।

‘बिक्री लक्ष्यको करिब ८० प्रतिशत पाठ्यपुस्तक धनगढी आइपुगेको छ । गोदाममा भण्डारणको क्षमता नभएर बाँकी पाठ्यपुस्तक ढुवानी हुन नसकेको हो,’ कुँवरले भने, ‘आजबाट बिक्री सुरु गरेका छौँ, बिक्रीकै क्रममा थप पाठ्यपुस्तक ढुवानी गर्छौँ ।’ जनक शिक्षाले पाठ्यपुस्तक बिक्रीका लागि प्रदेशभरि एक सय ६५ पुस्तक व्यवसायीलाई अनुमति दिएको छ । 

१ देखि ४ कक्षासम्मका पाठ्यपुस्तक भने निजी प्रकाशनले पनि प्रकाशित गर्छन् । १ र २ कक्षाका पाठ्यपुस्तक निजी प्रकाशनले नै बेच्छन् । ३ र ४ कक्षाका पाठ्यपुस्तक भने निजी प्रकाशनसँगको प्रतिस्पर्धामा जनक शिक्षाले बेच्छ । विगतमा सुदूरपश्चिममा पाठ्यपुस्तक अभाव हुने गरेको थियो । केही वर्षयता भने पाठ्यपुस्तकको अभाव देखिएको छैन । यस वर्ष गत वर्षभन्दा पनि छिटो पाठ्यपुस्तक बिक्री सुरु गरिएको जनक शिक्षाले जनाएको छ । बाजुराको पनि अतिविकट कोल्टी क्षेत्रका लागि त्यहाँका व्यवसायी नरेशजंग शाहीले प्रादेशिक कार्यालयबाट मंगलबार पाठ्यपुस्तक ढुवानी गर्न सुरु गरेका हुन् । गत वर्षको तुलनामा करिब १० दिनअघि नै पाठ्यपुस्तक पाएको शाहीले बताए । समयमै ढुवानी गर्न पाइएकाले पाठ्यपुस्तक पुर्‍याउन सहज हुने उनले बताए । 

ad
ad