१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार ०८:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुरक्षित पर्यटनका लागि महिला गाइडलाई रेस्क्यु तालिम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार ०८:१४:००

सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडलाई रेस्क्युसम्बन्धी तालिम प्रदान गरिएको छ । सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यु तालिम प्रदान गरेको हो । 

माउन्टेन गाइड बन्न आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले बताए । नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम काठमाडौंको जगडोल जंगलमा ७ चैतबाट सुरु भएर मंगलबार सम्पन्न भएको हो । तालिमका क्रममा भिर, खोचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रेभासभित्र पसेका व्यक्तिलाई सहज रूपमा उद्धार र सुरक्षित स्थानमा पुर्‍याउन सक्ने गरी अभ्यास गराइएको प्रशिक्षकले बताएका छन् । 

पदयात्रा र आरोहणका क्रममा मृत्यु हुनेको संख्या वार्षिक रूपमा बढ्दै गएकाले नियन्त्रणका लागि यो तालिम फलदायी हुने पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । 

उनका अनुसार सीप र दक्षताविनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक छ । उद्धारसम्बन्धी २५ जना महिला गाइड सहभागी रहेको यो तालिम पहिलोपटक आयोजना गरिएको बताउँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिं ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । ‘सरकारले राखेको पर्यटन दशक (२०२३–२०३३) को उद्देश्य पूरा गर्नसमेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता छ,’ ऐरले भने । 

ट्रेकिङ गाइड र आरोहीहरू मात्र सहभागी तालिममा सहभागीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । हालसम्म नेपालमा दावा याङ्जुम शेर्पा मात्र महिला माउन्टेन गाइड छिन् ।