१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विकट हिमाली जिल्ला बाजुराको अतिविकट कोल्टी क्षेत्रका लागि त्यहाँका व्यवसायी नरेशजंग शाहीलाई पुस्तक हस्तान्तरण गर्दै प्रादेशिक कार्यालय प्रमुख कुँवर।
२०८० चैत १३ मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा जनक शिक्षाले थाल्यो पाठ्यपुस्तक बिक्री

Read Time : < 1 मिनेट
२०८० चैत १३ मंगलबार १३:०६:००

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तकको बिक्री–वितरण सुरु गरेको छ। जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीबाट प्रदेशका पुस्तक व्यवसायीहरूलाई मंगलबारबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो।

पहाडी जिल्लाहरूमा पुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताए।

दुई दिनसम्म प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पुस्तक ढुवानी गरिनेछ। प्रदेशका अन्य जिल्लाहरूमा पनि पालैपालो पाठ्यपुस्तक ढुवानीको कार्यतालिका बनाइएको जनक शिक्षाले जनाएको छ। प्रादेशिक कार्यालय प्रमुख कुँवरले शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी ढुवानी सुरु गरिएको बताए। 

उनले यहाँ खपत हुने संख्यामध्ये करिब ८० प्रतिशत ढुवानी भइसकेकाले पाठ्यपुस्तक अभावको समस्या नहुने दाबी गरे। जनक शिक्षाले आउने शैक्षिक सत्रमा प्रदेशभरि कक्षा १ देखि १२ सम्मका १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ। चालू शैक्षक सत्रमा जनक शिक्षाले यहाँ १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको थियो।

‘बिक्री लक्ष्यको करिब ८० प्रतिशत पाठ्यपुस्तक धनगढी आइपुगेको छ। गोदाममा भण्डारणको क्षमता नभएर बाँकी पाठ्यपुस्तक ढुवानी हुन सकेको छैन,’ कुँवरले भने, ‘आजबाट बिक्री सुरु गरेका छौँ, बिक्रीकै क्रममा थप पाठ्यपुस्तक ढुवानी गर्छौँ।’ जनक शिक्षाले पाठ्यपुस्तक बिक्रीका लागि प्रदेशभरि एक सय ६५ पुस्तक व्यवसायीलाई अनुमति दिएको छ। व्यवसायीले आ–आफ्नो क्षेत्रका विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउनेछन्।