१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०८० चैत १३ मंगलबार ०७:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचनमा एमालेलाई सघाउन माओवादी लचक

Read Time : > 2 मिनेट
२०८० चैत १३ मंगलबार ०७:४७:००

सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्न छलफल गर्न सकिने प्रधानमन्त्रीको भनाइ

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन माओवादीले लचकता देखाउने संकेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको शीर्ष छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढाउन उपचुनावमा एमाले उम्मेदवारलाई सघाउने गरी छलफल गर्न सकिने बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच उपचुनाव, मन्त्रिपरिषद्लाई पूर्णता र प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा केन्द्रित रहेर कुराकानी भएको थियो । एमालेले आइतबार इलाम– २ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेश सभा (ख)मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट उनीहरूबीच चुनावसहितका विषयमा केन्द्रित रहेर छलफल भएको हो । 

माओवादी महासचिव देव गुरुङले सत्ता घटकमा रहेका दलहरू उपनिर्वाचनमा मिलेर जाने विषय छलफलकै क्रममा रहेको बताए । ‘मिलेर जाने विषय अहिले छलफलकै क्रममा छ । उहाँहरू (एमाले)ले आफ्नोतर्फबाट उम्मेदवार तय गर्नुभएको छ,’ उनले भने, ‘चुनावमा भाग लिने कुरा मुख्य कुरा हो, उम्मेदवार तय भइसके पनि २४ चैतमा मात्र उम्मेदवार मनोनयन दर्ता हुने भएकाले त्यसअघि र त्यसपछि पनि कुराकानी हुन सक्छ । तालमेल के–कति, कसरी मिलाउन सकिन्छ भन्ने कुरा सत्तापक्षका घटक बसेर छलफल गर्दै जाने कुरा हो ।’ 

एमालेले उम्मेदवार तय गरिसके पनि माओवादीले उम्मेदवार सिफारिस मागका साथै कुनै आन्तरिक छलफल गरिसकेको छैन । प्रधानमन्त्री प्रचण्ड एमालेलाई विश्वासमा लिन उसका उम्मेदवारलाई सघाएर जाने ‘मुड’मा देखिएको र ओलीसँग त्यसअनुसार नै कुराकानी चलिरहेका कारण अहिले माओवादी तत्काल उम्मेदवार टुंग्याइहाल्ने पक्षमा छैन । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने एमालेलाई इलाममा सघाउन सकिने, तर बझाङमा संघीय निर्वाचन क्षेत्र जितेका कारण राम्रो प्रभाव रहेकाले आफ्नो उम्मेदवारलाई सघाउनुपर्ने सर्त अगाडि सारेका छन् । स्रोतका अनुसार बालुवाटार छलफलमा नेपालले अन्यथा दुवैतिर अलग्गै उम्मेदवार उठाउने ओली र प्रचण्डलाई जानकारी गराएका छन् । 

बालुवाटार स्रोतका अनुसार शीर्ष नेताहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको छ । जसअनुसार तीन राज्यमन्त्रीमा एक एमाले, एक जसपा र एउटा नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने गरी छुट्याएर जाने सहमति भएको छ । पछिल्लो सहमतिअनुसार सोमबार नै जसपाबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् । यससँगै मन्त्रिपरिषद्को आकार २३ सदस्यीय भएको छ । संविधानअनुसार प्रधानमन्त्रीले २५ जनासम्म मन्त्री नियुक्त गर्न पाउँछन् । 

एमाले नेता राजेन्द्र गौतमले सत्तागठबन्धनका सहयात्री दलहरूले एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘इलाम र बझाङमा एमालेको जनाधार बलियो छ । इलाममा युवा, ऊर्जाशील उम्मेदवार छन् । सत्ता समीकरणमा रहेका दलहरूलाई सघाउन प्रस्ताव गरेका छौँ । हाम्रो जनाधार बलियो रहेकाले तालमेल गर्ने होइन, हामीलाई सहयोगका लागि आग्रह गरेका छौँ । सत्तागठबन्धनका सहयात्री दलहरूले एमालेलाई सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने । 

वामपन्थी आन्दोलन बचाउन नयाँ समीकरण : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी सरकारले दिनुपर्ने डेलिभरीका लागि नयाँ समीकरण बनेको बताएका छन् । पार्टीको बागमती प्रदेश बैठकलाई सोमबार सम्बोधन गर्दै उनले दुवैतर्फबाट ‘हिस्टोरिकल्ली रियलाइजेसन’ नयाँ समीकरणको आधार भएको बताए ।

प्रचण्डले नयाँ समीकरण बनाउनुपर्नाको आधार र गठबन्धनको भविष्यबारे बैठकलाई बताएको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । ‘वामपन्थी सरकारले दिनुपर्ने डेलिभरी, दुवैतर्फबाट ‘हिस्टोरिकल्ली रियलाइजेसन’ र वामपन्थी आन्दोलन बचाउने सन्दर्भमा नयाँ ठाउँमा आइपुगेका छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने । सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको यात्रामा सरकार स्पष्ट भएर अगाडि बढेको उनले बताए ।

विरोधीले अनावश्यक हल्ला फैलाउने गरेको चर्चा गर्दै प्रचण्डले नेता तथा कार्यकर्ता सचेत भएर जनतामाझ सही सूचना पु¥याउनुपर्नेमा जोड दिएका छन् । उनले दीर्घकालीन लक्ष्य वामपन्थी एकता भए पनि हतार भने नगर्ने बताए ।

‘हामीसँग विगतको अनुभव पनि छ । त्यसकारण एकताका लागि हामी हतार गरिहाल्ने पक्षमा छैनौँ । कम्युनिस्टहरू एकले अर्कालाई सिध्याउन खोज्दा वामपन्थी आन्दोलन नै कमजोर बन्यो । अहिले हामी कार्यगत एकताको अवस्थामा छौँ,’ उनले भने । प्रचण्डले प्रदेश सरकारका बारेमा केही दिनमै निर्णय हुने पनि बताएका छन् । ‘प्रदेश सरकारको बारेमा पनि हामी छलफलमा छौँ । केही दिनमा निष्कर्ष निकाल्छौँ,’ उनले भने ।