१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० चैत १२ सोमबार ०८:१८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रसूतिसम्बन्धी उपचार गराउन जाने ६ मध्ये एक महिलामा पिसाब चुहिने समस्या

चिकित्सकसँग खुलेर समस्या राख्न नसक्दा शारीरिक र मानसिक समस्या झेल्दै महिला

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० चैत १२ सोमबार ०८:१८:००

१. पिसाब चुहिने समस्या भएपछि रामेछाप मन्थलीकी ५६ वर्षीया एक महिला तीन महिनाअघि थापाथलीस्थित परोपकार प्रसूतिगृह पुगेकी थिइन् । सुत्केरी छोरी स्याहार्न अस्पताल पुगेकी उनी आफ्नो समस्या देखाउन ओपिडी पुगिन् । पिसाब चुहिने समस्याको उपचार हुन्छ भन्नेसमेत थाहा नपाएकी उनको काउन्सिलिङपछि पिसाबथैलीको शल्यक्रिया भयो । अघिल्लो महिना शल्यक्रिया गराएपछि उनको समस्या पूर्ण ठीक भएको छ ।

शल्यक्रियाअघि काउन्सिलिङमा धेरै समय लागेको चिकित्सकहरू बताउँछन् । पिसाब चुहिने समस्याकै कारण उनी १६ वर्षयता घरबाट टाढा निस्किन्नथिन् । यही समस्याका कारण भिडभाड, सामाजिक जमघटमा जानै छाडेको उनको भनाइ थियो । पिसाबका कारण शरीर गन्हाउने, छालामा संक्रमण देखिने समस्या सिभियर बन्दै गए पनि उनी अस्पताल नगएर समस्या लुकाएर बसेकी थिइन् । 

२. काभ्रेकी ४३ वर्षीया एक महिला सुत्केरीसम्बन्धी समस्या लिएर गत महिना प्रसूतिगृह पुगिन् । प्रसूतिसम्बन्धी समस्या लिएर अस्पताल आए पनि चेकजाँचका क्रममा उनमा खोक्दा, हाच्छिउँ गर्दा वा भारी काम गर्दा पिसाब चुहिने समस्या पनि देखिने गरेको चिकित्सकले पत्ता लगाए । चिकित्सकले उनलाई नियमित एक्सरसाइज र औषधि सेवन गर्ने सल्लाह दिए । अहिले उनमा उक्त समस्यामा सुधार आइरहेको चिकित्सक बताउँछन् । 

माथि उल्लिखित प्रतिनिधि उदाहरण मात्रै हुन् । विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने अधिकांश महिलामा पिसाब चुहिने समस्या देखिने गरेको छ । परोपकार प्रसूतिगृहको ओपिडीमा आउने प्रत्येक ६ जनामध्ये एकजनामा पिसाब चुहिने समस्या देखिने गरेको छ । तर, समस्याबारे खुलेर नबताउने र समस्या गम्भीर नहुँदासम्म उपचार नगराउने भएकाले समस्याले जटिल रूप लिने गरेको डा. सन्देश पौडेल बताउँछन् । ‘ओपिडीमा चेकजाँचको क्रममा लक्षणबारे सोध्दा केही महिलाले ‘हिन्ट’ मात्रै दिन्छन् । यो समस्याले पारिरहेको असरबारे सचेत नहँुदा शारीरिक, मानसिक दुवै खालका स्वास्थ्य समस्या निम्त्याइरहेको छ,’ उनले भने ।

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल पनि पिसाब चुहिने समस्या लिएर अस्पताल आउने दर पछिल्लो समय बढेको बताउँछन् । उनीहरूमध्ये अधिकांश अन्य रोगको कारण समस्या भएको हुन सक्ने भन्दै परीक्षणका लागि आउने गरेको उनको भनाइ छ । ‘गुणस्तरीय प्रसूति सेवा नपाउँदा, पोषणयुक्त खानपान अभाव र अस्वस्थ जीवनशैलीका कारण पनि समस्या देखिने गरेको छ । उनीहरूमा खोक्दा, हाच्छिउँ गर्दा वा शरीरमा भार पर्दा पिसाब चुहिने समस्या देखिने गरेको छ,’ उनले भने ।


 वयस्क महिलाको प्रमुख समस्या बन्दै
डा. जागेश्वर गौतम पिसाब चुहिने समस्या लिएर अस्पताल पुग्नेको यकिन तथ्यांक नभए पनि महिनामा तीनदेखि चारजनाको शल्याक्रिया नै गर्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने गरेको बताउँछन् । ओम अस्पतालमा कार्यरत उनी पिसाब चुहिने समस्या लिएर आइपुग्ने बिरामीको अनुपात अत्यधिक रहेको स्वीकार गर्छन् । ‘पिसाब चुहिने समस्या अहिले मात्रै बढेको होइन, अस्पताल आउने दर मात्रै बढेको हो । पाठेघर खस्ने समस्यामा बिस्तारै सुधार आइरहेकाले पिसाब चुहिने समस्या पनि कम हुँदै गएको हो । तैपनि, पिसाब चुहिने समस्या वयष्क महिलामा मुख्य समस्याका रूपमा देखिने गरेको छ ।’

अन्यको तुलनामा महिनावारी रोकिइसकेका महिलामा यो समस्या बढी देखिइरहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. पदमराज पन्तको भनाइ छ । ‘मेनोपोजपछिको समयमा र गर्भावस्थापछि महिलामा पिसाब चुहिने समस्या बढी देखिने गरेको छ । खासगरी आफ्नो समस्या लुकाएर बस्ने र गम्भीर भएपछि मात्रै अस्पताल आउने भएकाले शल्यक्रिया गर्नुपर्ने केससमेत बढी देखिन्छन्,’ उनले भने । 

उपचारका लागि पाटन अस्पताल पुग्ने बिरामीमध्ये पिसाब चुहिने समस्या धेरैजसो महिलामा देखिने गरेको बताउँछिन्, पाटन अस्पतालमा कार्यरत चिकित्सक डा. अल्का सिंह पनि । उनका अनुसार अस्पताल भर्ना भएकाहरूको लक्षणबारे तथ्यांक राखिने भए पनि ओपिडीमा आउने बिरामीको विस्तृत तथ्यांक छैन । तर, वयस्क महिलामा पिसाब चुहिने समस्या हामीकहाँ मात्रै नभई संसारभरि नै व्याप्त छ । यो समस्याले महिलाको शारीरिक, मानसिक र सामाजिक रूपमा असर गर्ने भएकाले महिलाहरू झन् पीडित भइरहेको उनको भनाइ छ । नेपालमा पिसाब चुहिने समस्या लिएर अस्पताल पुग्नेको संख्याबारे कुनै यकिन तथ्यांक भने छैन । अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने र लक्षणका आधारमा पिसाब चुहिने समस्याको उपचार हुने भएकाले अस्पतालले समेत भिन्न विवरण राख्ने गरेका छैनन् । पिसाब चुहिने समस्या लिएर धेरै महिला आउन थालेकाले अब विवरण राख्ने तयारी गरेको प्रसूति गृहले जनाएको छ । 

 विश्वभर २० करोडमा पिसाब चुहिने समस्या 
अमेरिकी नेसनल एसोसिएसन अफ इनकन्टिनेन्सले तयार पारेको पछिल्लो तथ्यांकअनुसार विश्वभर दुई सय मिलियन (२० करोडभन्दा बढी)भन्दा बढी जनसंख्यामा पिसाब चुहिने समस्या छ । तथ्यांकअनुसार १८ वर्षभन्दा माथिका हरेक चारमध्ये एक महिलाले पिसाब चुहिएको अनुभव गर्छन् । 

औसतमा पहिलोपटक लक्षण अनुभव गरेदेखि साढे ६ वर्षसम्म उपचारका लागि अस्पताल जाँदैनन् । अर्थात्, पिसाब चुहिने समस्यालाई सामान्य रूपमा लिइने गरेको अध्ययनले देखाएको छ । यो समस्या महिला र पुरुष दुवैमा देखिने भए पनि पुरुषको तुलनामा महिलामा दुई गुना बढी देखिने गरेको अध्ययनको तथ्यांकले देखाउँछ । गर्भावस्था, सुत्केरी र रजोनिवृत्तिका कारण पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिएको हो । यस्तै, ६० वर्षभन्दा माथिका महिलामा अर्थात् करिब २३ प्रतिशतमा पिसाब चुहिने समस्या देखिएको पाइन्छ ।

के हो महिलामा पिसाब चुहिने समस्या ?
डा. सन्देश पौडेल, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

पिसाब चुहिने समस्या तीन किसिमका हुन्छन् । महिलामा फिस्टुलाका कारण गम्भीर खालको पिसाब चुहिने समस्या हुन्छ । जसमा पिसाब निरन्तर चुहिरहन्छ । लामो समयसम्म सुत्केरी बेथा लाग्नु वा समयमा उपचार नपाउनु, शल्यक्रिया गर्नुपर्ने सुत्केरीको समयमा शल्यक्रिया नहुनु आदि कारणले अब्सेटिक फिस्टुला हुने गर्छ । पाठेघरको शल्यक्रियाका क्रममा पिसाबथैली च्यातिँदा पनि फिस्टुला हुन सक्छ । 

यस्तै, स्ट्रेस इन्कन्टिनेन्स, हाच्छिउँ गर्दा, गह्रौँ सामान उठाउँदा, हिँड्दा पनि पिसाब चुहिने हुन्छ । सुरुवातमा कम देखिए पनि उपचार नगर्दा बिस्तारै गम्भीर बन्दै जान्छ । कतिपयमा बोल्दा, हिँड्दासमेत पिसाब चुहिने हुन सक्छ । यसबाहेक अर्ज इन्कन्टिनेन्स अर्थात् पिसाब रोक्न नसक्दा चुहिने हुन्छ । पिसाब लागिसकेपछि शौचालय नपुग्दै पिसाब झर्ने समस्या पनि हुन्छ । यो समस्याबाट महिला बढी प्रभावित भइरहेका छन् । यसको मुख्य कारण गर्भावस्था र जटिलताहरूको समयमा उपचार नहुनु हो । महिनावारी सुकिसकेपछि मांशपेसी कमजोर हुँदा वा अन्य कारणले पिसाबथैली च्यातिँदा समस्या भइरहेको हुन्छ । अस्वस्थ जीवनशैली अर्थात् मोटोपना, धूम्रपान र अल्कोहलको प्रयोग, चिया, कफीजस्ता पेय पदार्थको अत्यधिक सेवन आदि यी अवस्थामा समेत स्ट्रेस र अर्ज इन्कन्टिनेन्स भइरहेको छ । 

फिस्टुलालाई रिपेयर गरेर उपचार गर्न सकिन्छ । स्ट्रेस र पिसाब रोक्न नसक्दा चुहिने समस्याको पनि सामान्य शल्यक्रिया, पेल्भिक फ्लर एक्सरसाइज (पिसाबथैली, पाठेघरवरपरको मांशपेसीलाई बलियो बनाउने एक्सरसाइज), औषधिको प्रयोगबाट उपचार गर्न सकिन्छ । साथै, स्वस्थ जीवनशैली, चिया, कफी, अल्कोहलको प्रयोगमा रोक र प्रशस्त पानी सेवनबाट पनि समस्याको निराकरण गर्न सकिन्छ । कतिपय अवस्थामा ब्लडप्रेसर वा अन्य समस्याका लागि प्रयोगमा ल्याइएका औषधिले समेत पिसाब चुहिने समस्या भइरहेको हुन सक्छ ।