१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा पिसाबको संक्रमण देखिए के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१४:oo

मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि पिसाब भण्डारण तथा शरीरबाट पिसाब बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई युटिआई अर्थात् पिसाबको संक्रमण भनिन्छ । प्रायः पुरुषभन्दा महिलामा पिसाबको संक्रमण धेरै हुने गर्दछ । तर, नवजात शिशुका हकमा छोरीको दाँजोमा छोरामा चार गुणा बढी संक्रमण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

पिसाब संक्रमण गराउने मुख्य कीटाणु इकोलाई नामक जीवाणु हो । सामान्यतया पिसाबमा जीवाणु हुँदैन । तर, मलद्वारनजिकैको संक्रमित छालाबाट सजिलै उक्त जीवाणु मूत्र प्रणालीमा प्रवेश गर्दछ । तसर्थ, पिसाब संक्रमणको मुख्य स्रोत नै बिरामीको आफ्नै दिशालाई मानिन्छ । 

लक्षण 

  • पिसाब पोल्नु 
  • छिटोछिटो पिसाब लाग्नु 
  • पिसाब नियन्त्रण गर्न नसक्नु
  • पिसाबबाट गन्ध आउनु 
  • तल्लो पेट र कम्मर दुख्नु 
  • ज्वरो आउनु
  • पिसाबमा रगत देखिनु
  • मिर्गौलासम्म पुगेको संक्रमणमा बच्चालाई अत्यधिक कामज्वरो आउने, आमाको दूध खान नरुचाउने, वाकवाकी लाग्ने, बान्ता गर्ने आदि । 

संक्रमणको निदान र उपचार 
लक्षण देखा परेमा बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सकसँग जचाउनुपर्छ । चिकित्सकले बच्चालाई आवश्यक जाँच गरी पिसाबको स्याम्पल जाँचका लागि प्रयोगशाला पठाउँछन् । प्रयोगशालामा विशेष गरी पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ, संक्रमण गर्ने कीटाणु पनि उम्रिएको देखिन्छ, साथै उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । यसले संक्रमण उपचार गर्नका लागि चिकित्सकलाई सही एन्टिबायोटिक चलाउन सहज हुन्छ । 

प्रायः एकदेखि दुई हप्तासम्म एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ, तर अवस्था हेरी यो अवधि फरक पर्न सक्छ । पटक–पटक पिसाबको संक्रमण भइराख्ने बच्चामा मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुन सक्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थालाई भेसिको–युरेटेरल रिफ्लक्स भनिन्छ । यो अवस्थाको सही निदानका लागि एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ ।

रोकथामका उपाय 

  • कम उमेरका बच्चालाई डायपर फेर्न ढिलो गर्न हँुदैन । समयमै डायपर नफेर्नाले पिसाबको संक्रमण हुन सक्ने जोखिम बढ्छ । 
  • बच्चामा पिसाब फेर्न जाँदा प्रायः पूरै पिसाब नफेरी पिसाब बाँकी राख्ने बानी हुन्छ । बच्चालाई क्लियर हुने गरी पिसाब फेर्न सुझाव दिनुपर्छ । 
  • बालिकालाई प्रत्येकचोटि पिसाब फेरिसकेपछि मूत्रप्रणालीको बाहिरी अंग सही तरिकाले सफा गर्न सिकाउनुपर्छ । 
  • पिसाब लाग्दालाग्दै पनि रोकेर बस्ने बानी विकास गराउनुहुँदैन । मूत्रथैलीमा पिसाब केही बेर थिग्रेर बस्दा त्यहाँ ब्याक्टेरिया उम्रिन सक्ने उपयुक्त वातावरण हुन्छ ।
  • बच्चामा पिसाब संक्रमणको लक्षण देखा परेमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह लिनुपर्छ । 
ad
ad