१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०८० चैत १२ सोमबार १२:०४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

ठूला लगानी र सहयोग वृद्धिका लागि दाता फकाउँदै अर्थमन्त्री

चीन, भारत, अमेरिकालगायत देशका राजदूतसँग छलफल, वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०८० चैत १२ सोमबार १२:०४:००

अर्थमन्त्री वर्षमान पुनले नेपालमा ठूला वैदेशिक लगानी भित्र्याउन तथा विकास सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई फकाउन थालेका छन् । स्रोतमा परेको चाप र लगानीको अभावलाई ध्यानमा राख्दै ठूला निजी लगानी एवं सरकारी सहायता वृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने प्रयासमा अर्थमन्त्री पुन लागेका हुन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछिका दुई सातायता उनले दर्जनभन्दा बढी कूटनीतिक अधिकारीलाई भेटेर आवश्यक कानुनी एवं नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा ठूला लगानी भित्र्याउन पहल गरिदिन आग्रह गरेका छन् । 

अर्थमन्त्रीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा अधिकारीहरूसँग भएको शिष्टाचार एवं औपचारिक भेटवार्तामा नेपाललाई अहिले ठूला लगानी र सहायताको अत्यावश्यक भएको बताउँदै त्यसमा सार्थक पहल गरिदिन आग्रह गर्ने गरेको अर्थ मन्त्रालयका एक सहसचिवले बताए । ‘उहाँले विदेशी लगानीका लागि जस्तोसुकै सुधार गर्नसमेत तयार भएको बताउँदै कूटनीतिज्ञहरूको विश्वास जित्ने प्रयास गर्नुभएको छ,’ उनले भने, ‘हरेकजस्तो भेटमा ठूला लगानी भित्र्याउने सार्थक पहिल गरिदिन र मेजर तथा गेमचेन्जर परियोजनामा अनुदान वा सहुलियतपूर्ण ऋण सहायता दिन आग्रह गर्दै आउनुभएको छ ।’  

गत २३ फागुनमा अर्थमन्त्रीमा नियुक्त भएयता उनले भारत, चीन, अमेरिका, युरोपियन युनियन, दक्षिण कोरिया, रसियालगायत देशका राजदूतहरूसँग औपचारिक भेट तथा छलफल गरेका छन् । बधाई तथा शुभकामना दिन अर्थ मन्त्रालयमै आएका राजदूतहरूसँग पनि उनले नेपालमा ठूला लगानी भित्र्याउने सार्थक पहल गरिदिन आग्रहसमेत गरेका छन् ।

तेस्रो लगानी सम्मेलन आगामी १६–१७ वैशाख ०८१ मा काठमाडौंमा हुँदै छ । अर्थमन्त्री पुन लगानी सम्मेलन निर्देशक समिति अध्यक्षसमेत हुन् । उनले कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीलाई लगानी सम्मेलनका लागि निम्तो दिँदै बढीभन्दा बढी लगानीकर्ताको सहभागिता बढाइदिन आग्रहसमेत गरेका छन् । 

पुन अर्थमन्त्री भएको भोलिपल्ट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अर्थ मन्त्रालय पुगे । बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका श्रीवास्तवलाई अर्थमन्त्री पुनले नेपालमा ठूला भारतीय लगानी भित्र्याउने पहल गरिदिन आग्रह गरे । नेपालमा भारतीय सहयोग एवं लगानी वृद्धिमा उनले जोड दिए । भेटकै अवसरमा अर्थमन्त्रीले आसन्न लगानी सम्मेलनमा बढीभन्दा बढी भारतीय लगानीकर्तालाई सहभागी हुने वातावरण मिलाइदिन आग्रहसमेत गरे । जवाफमा राजदूत श्रीवास्तवले पुनको कार्यकालमा नेपाल–भारत आर्थिक–व्यावसायिक सम्बन्ध अझ विस्तार हुनेमा विश्वस्त रहेको बताएका थिए । 

अर्थमन्त्री पुनले २७ फागुनमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र बेलायतको विदेश तथा कम वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरलाई मन्त्रालयमा छुट्टाछुट्टै भेट गरे । बधाई तथा शुभकामनाका लागि पुगेका उनीहरूलाई पनि अर्थमन्त्रीले नेपालमा ठूला लगानी भित्र्याउने पहल गरिदिन आग्रह गरे । उनले लगानी सम्मेलनमा सहभागिताको निम्तो पनि दिए ।

अमेरिकी राजदूत थम्पसनलाई लगानी सम्मेलनमा बढीभन्दा बढी अमेरिकी लगानीकर्ता आउने वातावण बनाइदिन आग्रह गरे । नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै उनले कानुनी र व्यावहारिक सहजीकरणका लागि सरकार तप्पर रहेको बताए ।  ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्यान्ड हो,’ उनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होेस् भन्ने चाहन्छु ।’ उनले कृषि, उद्योग तथा आइटीमा राम्रो सम्भावनाका क्षेत्र रहेको बताए । उनले लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने र तयारीका लागि तीव्रता दिएको समेत बताए ।

भेटमा राजदूत थम्पसनले नेपालमा अमेरिकी सहयोग एवं लगानी वृद्धिमा प्रयास गर्ने बताए । त्यस्तै, बेलायतको विदेश तथा कम वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए । 

अर्थमन्त्री पुनले २८ फागुनमा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोसलाई नेपाललाई थप सहायता दिन र प्राथमिकतामा राख्न आग्रह गरे । २९ फागुनमा एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर आर्नो कोसवासँग भएको भेटमा नेपालमा एडिबीको सहयोग बढाउन आग्रह गरे । 

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनिएल मेउली र अर्थमन्त्री पुनबीच १ चैतमा भेट तथा छलफल भयो । उक्त अवसरमा अर्थमन्त्रीले स्विट्जरल्यान्डको ठूला लगानी भित्र्याउन तथा सहयोग वृद्धि गर्न आग्रह गरे । राजदूत मेउलीले लगानी सम्मेलन सफल पार्न स्विट्जरल्यान्डबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्विट्जरल्यान्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी दिइन् । उनले उत्साहजनक सहभागिता रहनेसमेत जनाइन् । 

अर्थमन्त्रीले ६ चैतमा चिनियाँ राजदूत छन सोङलाई आगामी वैशाखमा हुने लगानी सम्मेलनमा निमन्त्रणा गरिसकेको जानकारी दिँदै बढीभन्दा बढी लगानी आउन प्रेरित गरिदिन आग्रह गरे । जवाफमा राजदूत सोङले लगानी सम्मेलनमा चिनियाँ व्यवसायीको उत्साहजनक सहभागगिता रहने प्रतिबद्धता जनाए । त्यस्तै, नेपालका लागि रसियाका राजदूत अलेक्सेई ए नोभिकोभलाई पनि वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावण बनाउन आग्रह गरे । जवाफमा राजदूत नोभिकोभले लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचान गर्न रसियाको एक प्रतिनिधिमण्डल नेपाल आउने जानकारीसमेत गराएका थिए । 

पुनले नेपालका लागि कोरियाली राजदूत पार्क थेयङलाई कोरियाका ठूला लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरे । ९ चैतमा मन्त्रालयमै भएको भेटमा पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिनसमेत राजदूत थेयङलाई आग्रह गरे । पुन ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरू स्पष्ट रहेकाले त्यसको नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी दिए । उनले कोरियाले नेपालमा धेरैभन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीको अवसर सिर्जना होस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  

अर्थमन्त्रीज्यूले विदेशी लगानी र सहायता वृद्धिका लागि प्रयास गर्नुभएको छ
धनीराम शर्मा, प्रवक्ता, अर्थ मन्त्रालय

सामान्यतः मन्त्रीहरू परिवर्तन भएपछि कूटनीतिक नियोग तथा विकास साझेदरका प्रमुख एवं पदाधिकारीहरूले शिष्टाचार भेट गर्नुहुन्छ । भेटमा आपसी सहकार्यको विषयमा छलफल हुन्छ । यही सन्दर्भमा अहिले माननीय अर्थमन्त्रीज्यूसँग पनि कूटनीतिक नियोग तथा विकास साझेदारका प्रमुखहरूले शिष्टाचार भेट गरिरहनुभएको छ । भेटहरूमा अर्थमन्त्रीज्यूले लगानी एवं सहायता वृद्धिका लागि आग्रह गरिरहनुभएको छ । 

अहिले नेपालमा फिस्कल ग्याप (स्रोत न्यूनता)को समस्या छ । त्यसैले अर्थमन्त्रीज्यूले नयाँ एवं मेजर तथा गेमचेन्जर परियोजनामा सहायता बढाउन दुईपक्षीय एवं बहुपक्षीय दातालाई आग्रह गर्नुभएको हुनुपर्छ । त्यस्तै, ठूला निजी लगानी वृद्धि एवं विस्तारका लागि समेत उहाँले आग्रह गर्नुभएको छ । अर्कोचाहिँ हामीले वैशाखमा लगानी सम्मेलन गर्दै छौँ । त्यो सन्दर्भमा बढीभन्दा बढी र ठूला लगानीकर्ताको सहभागिताका लागि समेत उहाँले पहल गर्नुभएको हो ।