१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका ताप्लेजुङ
२०८० चैत ११ आइतबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फागुनयता ताप्लेजुङमा १६ घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०८० चैत ११ आइतबार १७:१३:००

ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुक्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त संख्यामा घर जलेर नष्ट भएका हुन्।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार घर जलेर नष्ट भएका छन्।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो साता मात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। अन्य कारणबाट चैतमा एउटा घर जलेको छ।

फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन घर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए। उनका अनुसार डढेलो र अन्य कारणले सुरु भएको आगोले झन्डै डेढ दर्जन घर जलेका छन्।

प्रहरी निरीक्षक लुंगेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन्। 

यसैगरी, फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एक दर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ। 

फागुनदेखि चैतको पहिलो हप्तासम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफलबराबरको वन जंगलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए।