१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
अतिवादीको घातक हमलापछि क्षतिग्रस्त क्रोकस सिटी हल कन्सर्ट । तस्बिर रोयटर्स
२o८१ बैशाख १९ बुधबार १o:o१:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इस्लामिक स्टेटको निशाना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o१:oo

मस्कोको कन्सर्ट हलमा भएको घातक हमलामा १३३ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने करिब १२० जना घाइते भएका छन्

मस्कोको क्रोकस सिटी हलमा शुक्रबार सोभियतकालीन रक ब्यान्डको प्रदर्शन हेर्न गएकाहरूमाथि अन्धाधुन्ध गोलीबारी भयो । आक्रमणमा १३३ जनाभन्दा बढीको मृत्यु भएको छ भने अन्य सयजनाभन्दा बढी घाइते भएका छन् । बन्दुकधारीले गोलीबारीपछि विस्फोटक पदार्थ पनि प्रहार गर्दा भएको आगजनीले कन्सर्टस्थलको छत भत्किएर खसेको थियो । आक्रमणपछि घटनास्थलमा गोलीबारीमा प्रत्यक्ष संलग्न चारजनासहित ११ जनालाई हिरासतमा लिइएको रुसस्को समाचार एजेन्सी इन्टरफ्याक्सले जनायो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट(आइएस)को अफगान शाखा (जसलाई इस्लामिक स्टेट–खोरासान (आइएस–के)ले लिएको छ । अमेरिकी अधिकारीले पनि आइएसकेपीको दाबीको प्रामाणिकता पुष्टि गरेका छन् । यस समूह र मस्को आक्रमणको तिनको उद्देश्यबारे हालसम्म थाहा भएको तथ्यको यहाँ चर्चा गरिँदै छ : 

आइएसको अफगानिस्तान शाखा 
आइएसको अफगान शाखा ‘आइएस–के’ आइएससँग आबद्ध भएका संगठनमध्ये सबैभन्दा सक्रिय रहँदै आएको छ । आइएस–केले अफगानिस्तान, इरान, पाकिस्तान र तुर्कमेनिस्तानका क्षेत्रहरूलाई समेटेको यस क्षेत्रलाई हेर्छ । यसको नाममा जोडिएको (खोरासान) प्राचीन खलिफाको समयमा रहेको हिस्साको नाम हो । सन् २०१४ को अन्तमा पाकिस्तानमा सक्रिय तालिबानका लडाकु र स्थानीय लडाकु मिलेर बनेको थियो । त्यति वेला समूहका सदस्यहरू आइएसका दिवंगत नेता अबु बकर अल–बगदादीप्रति बफादारीको वाचा गरेर सक्रिय भएका थिए । 

स्थापनाकालदेखि यस समूहले क्रूरतापूर्ण गतिविधिका लागि कुख्याति कमाएको छ । सैन्य विश्लेषक तथा टर्किस सेनाका अवकाश प्राप्त कर्णेल मुरात अस्लान पनि आइएसको अफगान शाखा उसको ‘कट्टरपन्थी र कठोर विधिहरू’का लागि परिचित भएको मान्छन् । ‘जहाँसम्म आक्रमण गर्ने निसानाको छनोटको कुरा छ, मेरो विचारमा यसलाई संगठनको विचारधाराले निर्देशित गर्छ । पहिलो त रुस सिरियामा संलग्न छ र अमेरिकाजस्तै त्यस भेगका आइएस लडाकुविरुद्ध लडिरहेको छ । यसले गर्दा रुसलाई स्वाभाविक रूपमा संगठनले शत्रु ठान्छ,’ असलानले अल जजिरालाई भने । सिरियामा आइएसविरुद्धको लडाइँमा मस्कोले दमास्कसलाई सघाइरहेको छ । गृहयुद्धको प्रारम्भिक वर्षमा आइएस लडाकुहरूले हासिल गरेका लाभलाई पछाडि धकेल्न बसर अल–असदलाई मस्कोको सहयोग महत्वपूर्ण भएको थियो । 

‘उनीहरूले अहिले मस्कोलाई निसाना बनाए । यसअघि तिनले इरानमा आक्रमण गरेका थिए । आगामी दिनमा यस्ता अरू पनि आक्रमण देख्नेछौँ । हुन सक्छ अन्य देशका राजधानी पनि तिनको निसानामा छन्,’ असलानले भने । यद्यपि अफगानिस्तानमा यसको सदस्यता सन् २०१८ मा सबैभन्दा उच्च पुगेर घटेको बताइन्छ । यसका बाबजुद आइएस–केका लडाकुहरू अफगानिस्तानमा तालिबान सरकारको सबैभन्दा ठूलो चुनौती बनेका छन् । 

आइएस–केले यसअघि गरेका आक्रमण
सन् २०२१ मा अन्तिम अमेरिकी सैनिक टुकडीहरू अफगानिस्तानबाट बाहिरिँदा काबुल विमानस्थलबाहिर जम्मा भएका अफगान नागरिकको भिडमा भएको आक्रमणका लागि पनि आइएस–केले जिम्मेवारी लिएको थियो । आक्रमणमा कम्तीमा १७५ आमअफगान नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए भने दर्जनौँ घाइते भएका थिए । सन् २०२० मेमा काबुलको एक प्रसूति वार्डमा भएको रक्तपातपूर्ण आक्रमण पनि यही समूहले गरेको आरोप लगाइएको थियो । त्यसमा महिला र शिशुसहित २४ जनाको ज्यान गएको थियो । सोही वर्ष नोभेम्बरमा संगठनले काबुल विश्वविद्यालयमा हमला गर्‍यो, जसमा कम्तीमा २२ शिक्षक र विद्यार्थी मारिए । 

सन् २०२२ सेप्टेम्बरमा यस समूहले काबुलमा रहेको रुसी दूतावासमा भएको घातक आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको थियो । गत वर्ष अगस्टमा इरानको दक्षिणी सिराजको एउटा प्रमुख सिया मन्दिर ‘शाह चेराघ’मा भएका दुई अलग–अलग आक्रमणका लागि यही समूहलाई दोष दिइएको थियो । त्यस समय कम्तिमा १४ जनाको ज्यान गयो भने ४० भन्दा बढी घाइते भए । यही वर्ष जनवरीमा पुनः इरानको दक्षिणपूर्वी सहर केरमानमा झन्डै सयजनाको ज्यान लिने आक्रमणमा आइएस–केले जिम्मेवारी लियो ।

आइएसले रुसमा आक्रमण गर्नुको कारण के हो ? 
रक्षा र सुरक्षा विश्लेषकका अनुसार आइएसले पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलक्षित प्रोपोगान्डा सामग्री प्रसार गर्न थालेको पाइएको बताएका छन् । रुस मुस्लिमहरूको दमनमा संलग्न भएको उक्त सामग्रीमा उल्लेख हुने गरेको तिनले बताए । 

साउथ क्यारोलिनास्थित क्लेमसन विश्वविद्यालयकी सहायक प्राध्यापक तथा आइएस–केसम्बन्धी पुस्तककी सहलेखिका अमिरा जादुनका अनुसार आइएसले रुसलाई प्रमुख प्रद्विन्द्वीका रूपमा हेरेको छ । ‘आइएस र यसका शाखाविरुद्ध विश्वभर जारी संघर्षमा रुसको संलग्नता र विशेषतः सिरियामा आइएसविरुद्ध जारी सैन्य कारबाहीमा रुसको महत्वपूर्ण भूमिकाले रुस आइएस र उसका शाखाका प्रमुख शत्रु बनेको हो,’ जादुनले अल जजिरालाई भनिन् । मस्को आक्रमणपछि समूहले ‘आफू रुसमा समेत आक्रमण गर्न सक्ने विश्वव्यापी प्रभाव भएको संगठन’ भएको देखाउन सक्छ र समर्थन विस्तार गर्न सक्छ । ‘आइएस–केले एक शक्तिशाली क्षेत्रीय एकाइमा विकसित हुने आफ्नो महत्वाकांक्षा निरन्तर प्रदर्शन गरेको छ, इरान र रुसजस्ता राष्ट्रहरूतर्फ आफ्नो आक्रामकता निर्देशित गरेर यसले क्षेत्रीय शक्तिको मात्र सामना गर्दैन, विश्वव्यापी मञ्चमा आफ्नो राजनीतिक सान्दर्भिकता र परिचालन पहुँचलाई पनि जोड दिन्छ,’ जदुनले भनिन् । नयाँदिल्लीस्थित थिंक ट्यांक ‘अब्जरभर रिसर्च फाउन्डेसन’अन्तर्गतको रणनीतिक अध्ययन कार्यक्रमका फेलो कबिर तनेजाका अनुसार आइएस–केले सुरुदेखि नै रुसलाई निसाना बनाएको थियो । संगठनले सन् २०२२ मा काबुलस्थित रुसी दूतावासमा आक्रमण गरेको थियो । त्यसपछि नै रुसी सुरक्षा एजेन्सीहरूले रुस र उसवरपरका क्षेत्र, त्यसमा विशेषतः मध्यएसिया क्षेत्रमा आइएस समर्थन रोक्ने प्रयास बढाएको थियो । मार्चको सुरुमा रुसको संघीय सुरक्षा सेवा(एफएसबी)ले मस्कोको सिनागोगमा आक्रमण गर्ने आइएस–केको योजनालाई विफल पारेको बताएको थियो । 

त्यसमा अर्को कारक तत्व पनि छ, विश्वको ध्यानबाट ओझेलमा रहेर यस सशस्त्र समूहले सिरिया र इरानमा असफलतापछि आफूलाई शक्तिशाली शक्तिमा पुनर्गठित गरिरहेको छ । ‘अफगानिस्तानमा आइएस–के सशक्त बलको रूपमा उदाएको छ, अफगानिस्तानमा मात्र होइन, आइएसको मूल थलो सिरिया र इराकमा पनि यसको आक्रमण क्षमतामा वृद्धि देखिन थालेको छ,’ तनेजाले भने । उनका अनुसार ‘राजनीतिक, रणनीतिक रूपमा नभए पनि यो अझै वैचारिक रूपमा शक्तिशाली छ ।’ र, विचलित विश्वका लागि यसले ठूलो चुनौती खडा गर्न सक्छ । ‘ठूला शक्ति राष्ट्रहरू एक–आपसमा प्रतिस्पर्धामा व्यस्त भएर आतंकवादीको मुद्दा ओझेलमा पर्दा यसविरुद्ध कसरी लड्ने अहिलेको मुख्य प्रश्न यही हो,’ तनेजाले थपे ।

रुसमा मुस्लिम अतिवादीको आक्रमणको इतिहास
मस्को र अन्य रुसी सहरहरू यसअघि पनि अतिवादी आक्रमणको निसाना बनेको इतिहास छ । सन् २००२ मा चेचेन लडाकुले मुस्लिमबहुल चेचन्या क्षेत्रबाट रुसी सेना फिर्ता गर्न र यस क्षेत्रमा रुसी अतिक्रमणको अत्यको माग गर्दै मस्कोको एक थिएटर ‘डुब्रोभका’लाई कब्जामा लिए । नौ सयभन्दा बढी मानिसलाई बन्धक बनाएका थिए । बन्दक प्रकरण लामो जाने देखिएपछि रुसी विशेष बलहरूले गतिरोध अन्त्य गर्न थिएटरमा आक्रमण गरे । त्यस क्रममा १३० जना मारिए । मारिनेमध्ये धेरै चेचन लडाकुलाई बेहोस पार्न सुरक्षा बलहरूले प्रयोग गरेको ग्यासबाट निसास्सिएर मरेका थिए । चेचेन संकटको क्रममा भएको सबैभन्दा घातक हमला सन् २००४ मा भएको थियो । त्यस घटनामा चेचेन्याको स्वतन्त्रताको माग गर्दै चेचेन लडाकुले बेस्लान स्कुललाई कब्जामा लिएका थिए, जसमा १८६ बालबालिकासहित ३३४ जना मारिए । 

– अलजजिराका लागि केविन डोयलको रिपोर्ट


 

ad
ad