१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२८:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१० क्यासिनोबाट तीन अर्ब ८५ करोड बक्यौता अझै उठेन

बक्यौता नतिरेकै कारण एभरेष्ट, याक एन्ड यती र र्‍याडिसनको पाँचतारे नवीकरण भएन, नयाँ व्यवस्थापन आएपछि टाइगर प्यालेसले बुझायो पुरै बक्यौता

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२८:oo

१० क्यासिनोले रोयल्टीबापत बुझाउनुपर्ने तीन अर्ब ८५ करोड बक्यौता वर्षौँदेखि सरकारलाई बुझाएका छैनन् । हेप्पी आवर, रक इन्टरनेसनल, क्यासिनो र्‍याड, याक एन्ड यती, सेन्ट्रल मिडिया प्रालि, फूलबारी रिसोर्ट, नेपाल रिक्रियसन सेन्टर, सोल्टी होटेल, अन्नपूर्ण इन्टरनेसनल र होटेल एभरेस्टले बक्यौता नबुझाएका हुन् ।

पुरानो बक्यौता नबुझाएका केही कम्पनीले अदालतको ‘स्टे अर्डर’को भरमा क्यासिनो सञ्चालन गरिरहेका छन् । अदालती मुद्दालगायत कारणले वर्षौँदेखि उठाउन नसकेको एक अर्ब ७५ करोड बक्यौताको हिसाब महालेखा नियन्त्रकको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पठाइएको पर्यटन विभागका महानिर्देशक चक्र बुढाले बताए । कुमारीचोकमा पठाएको बक्यौता उठाउने दायित्व उसैको हुने बुढाको भनाइ छ । त्यस्तै, पर्यटन विभाग आफैँले उठाउने बक्यौताको दायित्व दुई अर्ब १० करोड रुपैयाँ छ । 

भारतीय नागरिक राकेश बाधवा नेतृत्वको रिक्रियसन सेन्टरले सबैभन्दा धेरै बक्यौता बुझाउन बाँकी छ । रिक्रियसन सेन्टरले सोल्टी, अन्नपूर्ण, हायात, एभरेस्टलगायत होटेलमा विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेबापतको ८७ करोड ५९ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । उसले राज्यलाई बुझाउनुपर्ने रोयल्टी बक्यौता अझै नबुझाएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । त्यस्तै, याक एन्ड यतीको विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेबापतको ७३ करोड ९५ लाख बक्यौता छ । जसमध्ये साढे ५४ करोड पर्यटन विभाग र १९ करोड ४४ लाख केन्द्रीय तहसिल कार्यालयले उठाउनुपर्ने दायित्वमा हो । 

विभागका अनुसार चारवटा क्यासिनो सञ्चालनको अनुमति पाएको हेप्पी आवरको कुल ५९ करोड २९ लाख रुपैयाँ बक्यौता छ । जसमध्ये ४७ करोड ९४ लाख विभाग आफैँले र पुरानो ११ करोड ३५ लाख बक्यौता केन्द्रीय तहसिल कार्यालयले उठाउनुपर्नेछ । रक इन्टरनेसनलले २९ करोड २० लाख, क्यासिनो र्‍याडले ४० करोड २७ लाख, याक एन्ड यतीले ५४ करोड ५० लाख र सेन्ट्रल मिडिया प्रालिले सात करोड ८० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । रक इन्टरनेसनलले पनि चारवटा क्यासिनो सञ्चालनको अनुमति पाएको छ । हेप्पी आवर, रक र सेन्ट्रल मिडियाले चार–चारवटा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल (मिनी क्यासिनो) सञ्चालन गर्ने अनुमति लिएका छन् । 

बन्द अवस्थामा रहेको पोखरास्थित फूलबारी रिसोर्टको ४० करोड ८० लाख, सोल्टी होटेलको १० करोड ४० लाख, अन्नपूर्ण इन्टरनेसनलको १९ करोड १४ लाख र होटेल एभरेस्टको १६ करोड ९५ लाख रुपैयाँ बक्यौता बाँकी रहेको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । 

बक्यौता नतिर्ने कतिपय सञ्चालनमा, कतिपय बन्द 

पुरानो बक्यौता नतिर्ने कतिपय कम्पनीले अदालतबाट स्टे अर्डर ल्याएर क्यासिनो सञ्चालन गरिरहेका छन् । क्यासिनो नियमावली, २०७० को विरुद्धमा रक इन्टरनेसनल, हेप्पी आवर, रोयल, क्यासिनो र्‍याड, सिएमजी, एसएचएललगायत कम्पनी अदालती ढोका ढकढक्याउन गएका थिए । अदालतबाट स्टे अर्डर ल्याएर सञ्चालन भए पनि क्यासिनो र्‍याड (र्‍याडिसन होटेल) र रोयल क्यासिनो (याक एन्ड यती) कोभिडकै बीचमा बन्द भए । 

सरकारले कोभिड महामारीमा दिएको छुटको फाइदा उठाउँदै सिएमजीले बक्यौता तिरेर नवीकरण गरेको पर्यटन विभाग होटेल शाखाका अधिकृत चुनबहादुर तामाङले बताए । यस्तै, एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले भैरहवाको टाइगर प्यालेस र काठमाडौंस्थित सांग्रिलाको मिलिनियर्स क्लबको पूरै बक्यौता माघ महिनामै चुक्ता गरेको छ । दुई क्यासिनोको साढे ५१ करोड बक्यौतामध्ये २२ करोड ६० लाख नगद र बाँकी बैंक ग्यारेन्टी बुझाएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए । 

रक इन्टरनेसनल र हेप्पी आवरले पुरानो बक्यौता नतिरे पनि ०७८/७९ यताको रोयल्टी नियमित तिरेको विभागको भनाइ छ । ‘दुवै क्यासिनोले पछिल्लो समय रोयल्टी पनि तिरेका छन्, क्यासिनो पनि सञ्चालन गरिरहेका छन्,’ तामाङले भने, ‘तर, पुरानो बक्यौता नतिर्दा फाइन लागेर बढेको बढ्यै छ ।’ कोभिडको बीचमा करिब १९ करोड पुरानो बक्यौता तिरेर रिन्यु भएको सिएमजीले ०७९/८० को मात्र बक्यौता तिर्न बाँकी रहेको देखिन्छ । अन्नपूर्ण होटेलमा क्यासिनो सञ्चालन गरिरहेको क्यासिनो अन्नाको पुरानो बक्यौता तिर्न बाँकी छ । अहिले अन्नपूर्णमा एटलान्टिक रिक्रियसनले क्यासिनो सञ्चालन गरिरहेको छ, जसले पूरै बक्यौता तिरेको विभागले जनाएको छ । सबैभन्दा बढी बक्यौता बाँकी रहेको नेपाल रिक्रियसन प्रालिले अहिले कुनै क्यासिनो सञ्चालन गर्दैन ।

अहिले १० पाँचतारे होटेलमा मात्र क्यासिनो सञ्चालनमा छन् । सोल्टीमा माजोङ इन्टरटेनमेन्टले क्यासिनो सञ्चालन गर्छ । त्यस्तै, अलफ्ट, मल्ल, म्यारियट, अन्नपूर्ण, मेची क्राउन प्लाजा, किङ्सबेरी, सोल्टी वेस्टेन्ड क्यासिनो सञ्चालनमा छन् । भैरहवाको टाइगर प्यालेसमा १६ चैतदेखि क्यासिनो सञ्चालनमा आउँदै छ ।

कति तिर्नुपर्छ रोयल्टी ?

कुनै पनि क्यासिनोको रोयल्टी प्रत्येक वर्ष बजेटमार्फत आउने आर्थिक ऐनले निर्धारण गर्छ । तर, क्यासिनोको इजाजतपत्र दिने र नवीकरण गर्ने भने क्यासिनो नियमावली, २०७० अनुसार हो । ठूलो क्यासिनोको इजाजत लिन साढे दुई करोड र मिनी क्यासिनोको एक करोड रुपैयाँ लाग्छ । क्यासिनो नवीकरण गर्न ५० प्रतिशत शुल्क तिर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षको आर्थिक ऐन, २०८० को दफा १६ ले ठूलो क्यासिनोको रोयल्टी पाँच करोड र मिनी क्यासिनोको डेढ करोड रुपैयाँ तोकेको छ । आर्थिक ऐन प्रत्येक वर्ष आउने हुँदा रोयल्टी पनि फरक–फरक हुने गर्छ ।

तीन होटेलको पाँचतारे नवीकरण भएन

बक्यौता नतिरेकै कारण एभरेस्ट, याक एन्ड यती र र्‍याडिसन होटेलको पाँचतारे वर्गीकरण नवीकरण भएको छैन । फूलबारी रिसोर्ट भने वर्षौँदेखि बन्द छ । ‘एभरेस्टले हालै मात्र इन्भायरोमेन्टल इम्प्याक्ट एसिस्मेन्ट (इआइए) गरेर रिपोर्ट पेस गरेको छ, अझै क्यासिनको बक्यौता पनि बुझाएको छैन, अदालती मुद्दाको पूर्ण पाठ पनि आएको छैन, यसैले उसको पाँच तारा वर्गीकरण नवीकरण नभएको हो,’ पर्यटन विभाग होटेल शाखाका अधिकृत तामाङले भने, ‘अरू होटेलको पनि पाँच तारा वर्गीकरण नहुनुमा बक्यौता मुख्य कारण हो ।’ पहिला होटेल सञ्चालनका लागि इआइएको व्यवस्था थिएन । अहिले इआइए अनिवार्य गरिएको छ ।

अहिलेसम्म १७ पाँचतारे होटेल नवीकरण भएको विभागले जनाएको छ । होटेल मेची क्राउन, सोल्टी, अन्नपूर्ण, पोखरा ग्रान्ड, हायात रिजेन्सी, मल्ल, सांग्रिला, टाइगर प्यालेस, सोल्टी वेस्टेन्ड प्रिमियम, होटेल सेन्ट्रल प्लाजा, म्यारियट, अलफ्ट, द किङ्सबेरी, हायात प्लेस, इच्छा, दुसित प्रिन्सेस र अकाले नवीकरण गरेका हुन् । यीमध्ये मेची क्राउनले पाँचतारे डिलक्सको वर्गीकरण लिएको छ । 

याक एन्ड यती, र्‍याडिसन र द एभरेस्टको क्यासिनो बक्यौता बाँकी रहेकाले पनि नवीकरण नभएको हो । एभरेस्टको पाँच तारा नवीकरण हुनका लागि सबैभन्दा पहिला इआई स्वीकृत हुनुपर्छ । त्यसपछि उसको मुद्दा किनारा लाग्नुका साथै बक्यौता रकम तिरेपछि बल्ल पाँच तारा नवीकरण हुने विभागले जनाएको छ । 

क्यासिनो र्‍याडले र्‍याडिसन होटेलमा क्यासिनो सञ्चालन गर्दै आएको थियो । हेप्पी आवरले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र काँकडभिट्टामा तथा रक इन्टरनेसनलले धनगढी, वीरगन्ज, भैरहवा र काँकडभिट्टामा चार–चार ठाउँमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । 

अब एक कम्पनी, एक क्यासिनो 

अब एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरणको प्रक्रियामा रहेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले पर्यटन ऐन, २०३५ पनि संशोधन गरेको छ, जसमा क्यासिनो सञ्चालनमा कडाइ गरिएको हो । यसअघि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए ०८२ असार मसान्तभित्र रोजेको कुनै एउटा क्यासिनो चलाउन दिइने ऐनमा प्रावधान छ । यदि अन्य क्यासिनो सञ्चालन गर्ने भए ०८५ असार मसान्तसम्म अलग अलग कम्पनी पर्यटन ऐनबमोजिम इजाजतपत्र लिनुपर्ने छ । अहिले एउटै कम्पनीले चारवटासम्म क्यासिनो सञ्चालनको इजाजत पाएका छन् । नयाँ प्रावधानअनुसार क्यासिनो इजाजतपत्रको अनुमति एक वर्षको मात्र हुनेछ । 

आर्थिक ऐन, २०७२ मै एउटा कम्पनीले एउटाभन्दा बढी ठूला क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको थियो । आर्थिक ऐन, २०७३ को दफा १६ ले मिनी र ठूलो क्यासिनो दुवैको हकमा ‘एक कम्पनी, एक क्यासिनो’को व्यवस्था गर्‍यो । यो व्यवस्थाका विरुद्ध हेप्पी आवर, रक, सिएमजी, रोयल (याक एन्ड यती), क्यासिनो र्‍याडलगायत मुद्दामा गएका थिए । बक्यौता बढ्नुको कारण यही पनि हो । 

नयाँ प्रावधानअनुसार नयाँ दर्ता हुने क्यासिनो कम्पनी अन्तर्राष्ट्रिय सिमानाबाट कम्तीमा पाँच किलोमिटर दूरीमा हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि तीन किलोमिटर कायम थियो ।

टाइगर प्यालेसले बुझायो साढे ५१ करोड रोयल्टी बक्यौता, दुई करोड ३४ लाख पुँजीगत लाभकर

भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भित्रिएको नयाँ व्यवस्थापनले क्यासिनोको पूरै बक्यौता चुक्ता गरेको छ । अमेरिकाका गैरआवासीय नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजसँग रिसोर्टको पूरै स्वामित्व खरिद गरेर माघमै साढे ५१ करोड रुपैयाँ बक्यौता तिरेको हो । बक्यौता चुक्ता भएपछि क्यासिनो नवीकरण भइसकेको छ । १६ चैतदेखि क्यासिनो सञ्चालनमा आउने रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक लेखकले बताए ।

दुईवटा क्यासिनो (टाइगर प्यालेस र सांग्रिला होटेल)को क्यासिनो बक्यौता र पुँजीगत लाभकर गरी ५४ करोड रुपैयाँ राजस्व बुझाएको टाइगर प्यालेसका नयाँ सञ्चालक बुद्धि सुवेदीले बताए । सिल्भर हेरिटेजको भगिनी कम्पनी एसएचएल म्यानेजमेन्ट सर्भिसेजले टाइगर प्यालेस र सांग्रिला होटेलमा क्यासिनो सञ्चालन गरिरहेको थियो । टाइगर प्यालेसको २५ करोड ६० लाख र सांग्रिलाको २५ करोड ९० लाख गरेर ५१ लाख ५० हजार बक्यौता पुगेको थियो । 

‘टाइगर प्यालेसको बक्यौतामध्ये २२ करोड ६० लाख नगद र तीन करोडको बैंक ग्यारेन्टी प्राप्त भएको छ,’ विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, ‘सांग्रिलाको क्यासिनोको २५ करोड ९० लाख बक्यौताको बैंक ग्यारेन्टी प्राप्त भइसकेको छ ।’ दुवै क्यासिनोको आर्थिक वर्ष ०७७/७८ देखिको बक्यौता बाँकी थियो । 

रिसोर्ट खरिद–बिक्री गर्दाको पुँजीगत लाभकरबापत राज्यलाई दुई करोड ३४ लाख राजस्व बुझाएको छ । ‘नयाँ व्यवस्थापन आएसँगै रिसोर्ट लयमा फर्किन थालेको छ, हामीले क्यासिनो बक्यौता र कर तिर्नेदेखि श्रमिकको समस्या पनि समाधान गर्‍यौँ,’ सिइओ लेखकले भने, ‘छिट्टै क्यासिनो पनि सञ्चालनमा आउँदै छ, भारतको लखनउ, बेंग्लोर, कानपुर, मुम्बई, कोलकातालगायत ठाउँबाट बुकिङ आइरहेको छ ।’ 

रिसोर्ट र क्यासिनोमा गरी करिब पाँच सयले रोजगारी पाउने टाइगर प्यालेसका नयाँ सञ्चालक बुद्धि सुवेदीले बताए । ‘टाइगर प्यालेसलाई देशकै अब्बल दर्जाको रिसोर्ट बनाउनेछौँ,’ उनले भने । 

टाइगर प्यालेसको श्रमिक समस्या पनि नयाँ व्यवस्थापनले समाधान गरिसकेको सिइओ लेखकले बताए । अदालत पुगेका ९९ प्रतिशत कर्मचारीले मुद्दा फिर्ता लिएको उनको भनाइ छ । ‘एक सय ६४ मध्ये करिब एक सय ४० जना जागिरमै फर्किए, बाँकीको पनि व्यवस्थापन भइसकेको छ,’ लेखकले भने, ‘अब रिसोर्टमा कुनै समस्या छैन, रिसोर्ट स्मुथली चल्न थालेको छ ।’ करिब १५ बिघामा फैलिएको रिसोर्टमा भिल्लासहित एक सय दुई कोठा छन् । 
 

ad
ad