आचार्य रामतीर्थ एकपटक गंगाकिनार घुम्ने विचारले ऋषिकेश गए । गंगाकिनारमा घुम्दै गर्दा उनले एक साधु आरामले बसिरहेको देखे । साधुलाई देखेपछि रामतीर्थको मनमा अचानक एउटा विचार आयो । उनलाई साधुबाबासित कुराकानी गर्ने रहर जाग्यो ।
साधुको नजिकै पुगेपछि उनले सोधे, ‘बाबा, तपाईं सन्न्यासी बनेको कति वर्ष भयो ?’ ‘त्यस्तै चालीस वर्ष भयो होला बालक,’ साधुले जवाफ दिए ।’ ‘अनि यी चालीस वर्षमा तपाईंले के–के प्राप्त गर्नुभयो त बाबा ?’ रामतीर्थले साधुलाई प्रश्न गरे । ‘यो देख्दै छौ,’ गंगातिर इसारा गरेर साधुले बडो गर्वले भने, ‘यदि मैले चाहेँ भने म यो गंगाको पानीको एक छेउबाट हिँडेरै अर्को छेउसम्म जान सक्छु ।’ ‘त्यसो भए त त्यो छेउबाट यो छेउसम्म फर्केर आउन पनि सक्नुहुन्छ होला हैन बाबा !’ रामतीर्थले फेरि प्रश्न गरे । ‘हो, बिल्कुल आउन सक्छु । तिमी हेर्न चाहन्छौ भने म हिँडेर देखाउन पनि सक्छु,’ साधुको गर्धन गर्वले तन्कियो ।
‘यसबाहेक अरू के–के गर्न सक्नुहुन्छ बाबा तपाईं ?’ रामातीर्थले फेरि प्रश्न गरे । ‘के तिमीले यसलाई सजिलो काम सम्झेका छौ ?’ रामतीर्थको प्रश्नमाथि प्रश्न सोध्ने शैलीबाट तिल्मिलाएका साधुले तीखो स्वरमा प्रश्न गरे । रामातीर्थ साधुको कुरा सुनेर मुसुक्क मुस्कुराए र भने, ‘मेरो कुराले तपाईंको आत्मसम्मानमा ठेस पुगेको भए मलाई माफ गर्नुस् बाबा ! म तपाईंलाई दुःखी बनाउन चाहन्नँ । तर, बाबा, मेरो विचारमा तपाईंले आफ्नो ४० वर्ष त्यत्तिकै गुमाउनुभएछ । किनकि, यो नदी डुंगा चढेर पनि पार गर्न सकिन्छ ।
उता जाँदा दुई आना र उताबाट यता फर्किंदा दुई आना तिरेर एकैछिनमा यो नदी पार गर्न सकिन्छ । चालीस वर्षमा तपाईंले केवल त्यही प्राप्त गर्नुभएछ, जुन कुनै मानिसले जम्मा चार आना खर्च गरेर पाउन सक्छ । त्यसैले बाबा, तपाईंले ज्ञानको सागरमा गोता लगाउनुभयो तर मोतीको ठाउँमा सिपी टिपेर ल्याउनुभयो ।’ रामातीर्थको कुराले साधु बाबा अवाक् बने ।