१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०८० चैत १० शनिबार ०६:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको समाजवादी मोर्चा नीति : संवादमा बस्ने, तत्काल सामेल नहुने 

Read Time : > 1 मिनेट
२०८० चैत १० शनिबार ०६:५४:००

एमालेले समाजवादी ध्रुवीकरणको उद्देश्यसहित माओवादी, नेकपा एस, जसपा र नेकपा सामेल समाजवादी मोर्चामा तत्काल सामेल नहुने, तर आपसी संवाद र अन्तरक्रियामा बस्ने नीति लिएको छ । नयाँ समीकरण फेरिएलगत्तै मोर्चामा आबद्ध नेताहरूले एमालेलाई समेत सामेल गरेर मोर्चा विस्तारको प्रयास गरेपछि उसले यस्तो नीति अख्तियार गर्ने जानकारी प्रस्ट्याएको हो । 

मोर्चामा एमालेलाई सामेल गराउने प्रयासका लागि अध्यक्ष केपी ओलीसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बिहीबार मोर्चाको संयोजक नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले अलग–अलग भेटवार्ता गरेका थिए । यी भेटवार्तापछि ओलीले तत्काल एमाले समाजवादी मोर्चामा सहभागी नहुने प्रतिक्रिया दिएका छन् । 

ओलीसँगको भेटको प्रगति जानकारी गराउँदै विप्लवले समाजवादी मोर्चामा तत्काल सामेल नभए पनि साझा उद्देश्य जोडिएका कार्यक्रम र अन्तरक्रियामा निरन्तर संवाद र छलफलमै रहने एमालेको नीति पाएको प्रस्ट्याए । ‘उहाँले पहिला त (अर्कै गठबन्धन भएकाले) हामी अलमलमै थियौँ, तर अहिले परिस्थिति फेरिएपछि त्यो स्थिति रहेन, संवाद गर्दै जाउँला भन्नुभएको छ,’ ओलीसँगको संवाद उद्धृत गर्दै विप्लवले नयाँ पत्रिकासँग भने, ‘अर्कोपटक ठ्याक्कै बस्ने कुरा त गर्नुभएको छैन, तर नकारात्मक लिनुपर्ने स्थिति छैन, सकारात्मक प्रगति भइहालेको अवस्था पनि होइन ।’

उनले एमाले मोर्चाका विषयमा छलफल गर्न तयार रहेकाले त्यसलाई सकारात्मक रूपमै आफूले लिएको जानकारी गराए । ‘उहाँहरूले संवादमै बस्ने, अन्तरक्रिया र छलफल गर्ने नै भन्नुभएको छ, त्यसैले यसलाई सकारात्मक रूपमै बुझ्नुपर्छ,’ उनले भने । 

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले नयाँ समीकरण फेरिएको स्थितिमा ठूलो वाम दल एमालेविना मोर्चाको बैठक र कार्यक्रमहरू गर्नु उपयुक्त नभएकाले सामेल गर्न प्रयास गर्ने, तर तत्काल सहभागी नभएको अवस्थामा उससँगको संवाद र जानकारीमा मात्रै मोर्चाको गतिविधि अगाडि बढाउने निर्णय गरेको थियो । त्यस्तो निर्णयसँगै मोर्चाले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो । 

लगत्तै दिउँसो प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा ओलीसँग मोर्चामा एमालेको सहभागिता, नयाँ समीकरण र सरकारको कामका विषयमा केन्द्रित रहेर अलग्गै छलफल गरेका थिए । भेटपछि एमाले अध्यक्ष ओलीले छलफलबारे प्रस्ट नपारे पनि समाजवादी मोर्चामा भने आफ्नो पार्टी सामेल नहुने जानकारी गराए । सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले मोर्चामा एमालेको सहभागिताबारे जिज्ञाशा राखेका थिए । ‘समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ?’ ओलीले जवाफ फर्काए, ‘होइन ।’ यद्यपि, प्रधानमन्त्रीसँग राम्रै कुराकानी भएको उनले सञ्चारकर्मीहरूलाई बताए । 

नयाँ समीकरणपछि माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सामेल गर्न प्रधानमन्त्री प्रचण्डसहित मोर्चामा आबद्ध नेताहरूले प्रयास गर्दै आएका छन् । नयाँ समीकरणअगावै एमालेलाई पनि सामेल गर्ने विषयमा मोर्चामा छलफल भएको थियो । 

आलोपालो प्रणालीअनुसार मोर्चाको नेतृत्व नेकपाका अध्यक्ष नेत्रविक्रम चन्दले सम्हालेलगत्तै १२ फागुनमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो । त्यसयता मोर्चाले एमालेलाई पनि सामेल गर्ने प्रयास गर्दै आएको छ । 

प्रधानमन्त्री प्रचण्ड–ओली भेटमा भने मोर्चाबाहेक समग्र विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘उहाँहरूबीच वन टु वन छलफल भएको हो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘अहिलेका समसामयिक सबै विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको छ ।’ उनका अनुसार प्रधानमन्त्री र ओलीबीच नयाँ समीकरणमा रहेका दलहरूको बैठक राखेर गठबन्धन र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित हुँदै आएको छ ।