१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : एपिफ
२०८० चैत ९ शुक्रबार १४:५३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सुरक्षा परिषदमा गाजा युद्धविरामबारे मतदान हुँदै

Read Time : > 1 मिनेट
२०८० चैत ९ शुक्रबार १४:५३:००

गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको अमेरिकाले ‘तत्काल युद्धविराम’को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेस गर्ने भएको छ ।

गत ७ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि यसअघि भएका मतदानमा भिटो प्रयोग गर्दै आएको थियो ।

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटोपछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा ६ हप्ताको युद्धविरामका लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’लाई उल्लेख गरिएको छ ।  

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ । 

इजरायलको प्रमुख अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समयमा बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा संकेत’ दिएको बताए । 

प्रस्तावमा बन्धकहरूको रिहाइसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको र राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्नेमा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताएका थिए । 

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रुसले प्रस्तावमा प्रयोग गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी उपराजदूत दिमित्री पोल्यान्स्कीले बिहीबार सञ्चारकर्मीसँग भने, ‘तत्काल युद्धविरामको माग नगर्ने कुनै पनि कुराबाट हामी सन्तुष्ट छैनौँ ।’ 

इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचार्ड गोवनले अमेरिकाले अझै पनि कुनै पूर्वसर्तविना युद्धविरामको माग गरिरहेको छैन । तर, अमेरिकाको यो सीमित परिवर्तनले पनि इजरायलीहरूलाई चिन्तित तुल्याउनेछ, किनकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु संयुक्त राष्ट्रसंघलाई युद्धबारे कूटनीतिबाट पूर्णतया टाढा राख्न चाहन्छन् । 

कूटनीतिक स्रोतका अनुसार अमेरिकासँग अब यो प्रस्ताव पारित गर्न पर्याप्त मत १५ मध्ये कम्तीमा नौ मत छ, तर रुसले भिटो लगाउन सक्ने सम्भावना कायमै छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले यसलाई अंगीकार गर्न आफू आशावादी रहेको बताए । युद्धविरामका अतिरिक्त प्रस्तावले ‘गाजामा जनसंख्यकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अस्वीकार गर्दछ’ र इजरायलविरुद्ध ‘अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणसहित सबै आतंकवादी कार्यहरू’ को निन्दा गर्दछ ।

यदि प्रस्ताव पारित भएमा सुरक्षा परिषद्ले पहिलोपटक इजरायलमा करिब एक हजार एक सय ६० जनाको मृत्यु भएको हमासको आक्रमणको निन्दा गर्नेछ । (रासस/एएफपी)