१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ६ मंगलबार ११:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राइनासकोटमा लालीगुराँस फुलेपछि पर्यटक आकर्षित

Read Time : < 1 मिनेट
२०८० चैत ६ मंगलबार ११:५२:००

भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोट पछिल्लो समय पर्यटकको उत्कृष्ट गन्तव्य बनेको छ । लमजुङको राइनास नगरपालिका– ९ मा रहेको ऐतिहासिक राइनासकोटमा पछिल्लो समय लालीगुराँसले पर्यटकलाई आकर्षित गरेको छ । लालीगुराँसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङले बताए ।

उनका अनुसार राइनासकोट पुगेका पर्यटक लालीगुराँससँग फोटो खिचेर र भिडियो बनाएर रमाउँछन् । शुक्रबार, शनिबार र बिदाका दिनमा राइनासकोटमा बढी पर्यटक आउने गरेका छन् । राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । ०७४ मा गण्डकी प्रदेश सरकारको सूचीमा घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो भने ०७६ मा नेपालकै उत्कृष्ट होमस्टेमा परेको थियो ।

गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ संग्रहालय रहेको छ । यहाँ गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाटु, कृष्ण चरित्रलगायत नृत्य प्रस्तुत गरिन्छ । राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाडौं, पोखरा, चितवनलगायत देशका विभिन्न ठाउँबाट पर्यटक दैनिक आउँछन् ।

राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखैअगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मस्र्याङ्दीको लोभलाग्दो दृश्य, बाइसे–चौबिसे राज्य शासनमा निर्माण गरिएको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरूको अवलोकन गर्न सकिन्छ । सर्वोदय सेवा आश्रमका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार राइनास नगरपालिका–९ मा रहेको राइनासकोटबाट एक सय ८० डिग्रीको बिन्दुमा एकैपटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छे«लगायत १८ वटा हिमशृंखला आँखैअगाडि देख्न सकिन्छ ।