१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन गुरुङ नयाँ पत्रिका
२०७९ बैशाख २ शुक्रबार ०९:०३:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

टिएमजे : जता फर्के पनि ढकमक्क लालीगुराँस

Read Time : > 1 मिनेट
नवीन गुरुङ, नयाँ पत्रिका
२०७९ बैशाख २ शुक्रबार ०९:०३:००

यतिवेला पूर्वी पहाडी जिल्लाहरू संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका वन लालीगुराँसले ढकमक्क भएका छन् । लालीगुराँस फुलेर वनै राताम्मे भएको छ ।

राताम्मे भएको वन हेर्न आउने पर्यटकको घुइँचो लागेको छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष गुराँसको राजधानी टिएमजे पुग्न नपाएका पर्यटक यस वर्ष भने धोको फुकाएर पुगेका छन् । यस वर्ष तुलनात्मक रूपमा लालीगुराँस पनि धेरै फुलेको स्थानीयको भनाइ छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमंगलबारे, मदामसिंह क्षेत्र र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर परिसरमा अचेल गुराँस हेर्न पर्यटकले भरिभराउ छ । भारत, अमेरिका र बेलायतबाट समेत यस क्षेत्रमा घुम्न आउने गरेको स्थानीयको भनाइ छ । उनीहरू विशेष कामले नेपाल आएको मौकामा टिएमजे घुम्न आउने गरेका छन् । अनलाइन, युट्युबलगायत सञ्चारमाध्यमबाट थाहा पाएपछि यहाँ घुम्न आएको अमेरिकाका टिनक्यर कम्पनीका सिइओ सुजन्माले बताइन् । उनले नेपाल र नेपालका ग्रामीण क्षेत्र घुम्ने रहर भएकाले गुराँस हेर्न आएको बताइन् ।

टिएमजे क्षेत्रमा वनैभरि राताम्मे फुलेका लालीगुराँस । 

दैनिक तीन सय पर्यटक पुग्छन् टिएमजे
चैत पहिलो सातादेखि जेठ पहिलो सातासम्म टिएमजे क्षेत्रमा दैनिक दुई तीन सय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको चौकीका स्थानीय कृष्ण लों तामाले बताए । दिनभर घुमफिर, रमाइलो गर्ने र बेलुका यतै रात बस्ने गरी पर्यटक आउने गरेको उनले बताए । 

समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्य हेर्ने पर्यटकहरूको ठूलो भिड लाग्ने गर्छ । टिएमजे क्षेत्रमा विशेष गरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठ पहिलो सातासम्म हिउँदको समयमा लालीगुराँस हेर्न आउने गर्दछन् ।

टिएमजे क्षेत्रको मुख्य आकर्षण
टिएमजे क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजाति एकै ठाउँमा हेर्न पाइनु नै हो । टिएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेरेर पर्यटकहरू लट्ठ हुने गर्छन् । उच्च हिमाली क्षेत्रको गुफापोखरी, मेन्छायम डाँडा, सन्राइज हेर्न, भीमसेनले बोकेको ढुंगा, रडगार्डेन, कञ्चनजंघालगायतका हिमशृंखलानजिकै देखिने, तमोर नदीको राफ्टिङ, सानो पाथीभराको मन्दिर पनि यहाँको आकर्षण हो । टिएमजे क्षेत्रको अर्को आकर्षण भनेको छिनछिनमै हुने मौसम परिवर्तन पनि हो । एकैछिनमा घाम लाग्ने र एकैछिनमा पानी पर्ने र बाक्लो हुस्सु लाग्ने हुनाले कतिवेला मौसम परिवर्तन हुन्छ पत्तो नहुने स्थानीय बताउँछन् । 

कसरी पुग्ने टिएमजे ?
टिएमजे क्षेत्रमा सडक यातायात विस्तार भएकाले यहाँ पुग्न सहज छ । गुफापोखरी र चौकीमंगलबारेसम्म सहजै गाडीमा पुग्न सकिन्छ । सदरमुकाम खाँदबारी र तुम्लिङटार एयरपोर्टदेखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ । अर्को बाटो चैनपुर–माम्लिङ—मुढेशनिश्चरेदेखि टुटेदेउराली हुँदै टिएमजे क्षेत्र पुग्न सकिन्छ ।