१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपक शर्मा सल्यान
२०८० चैत ६ मंगलबार ११:४२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षण पेसासँगै कृषिमा रमेका गाहामगर : घार बिक्री र बाख्रापालनबाट वार्षिक १४ लाख आम्दानी

Read Time : > 1 मिनेट
दीपक शर्मा सल्यान
२०८० चैत ६ मंगलबार ११:४२:००

कालिमाटी गाउँपालिका–५ दमदुवालीका सुरेशकुमार गाहामगर पेसाले शिक्षक हुन् । उनले गाउँनजिकै रहेको जनता माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आइरहेका छन् । तर, आजभोलि उनको परिचय शिक्षकमा मात्र सीमित छैन, उनी एक सफल कृषकका रूपमा पनि चिनिन थालेका छन् । 

विगत सात वर्षदेखि व्यावसायिक घाँसखेती गर्दै आइरहेका गाहामगरले घाँस बिक्रीबाट मात्रै वार्षिक सात लाख र बाख्रापालनबाट थप सात लाख आम्दानी गर्दै आइरहेका छन् । मगरले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक घाँसखेती गर्दै आइरहेका छन् । बिहान र बेलुकाको समयमा घाँसबारीमा जाने गरेको उनले बताए । यसरी अतिरिक्त व्यवसाय गर्दा शारीरिक तथा मानसिक रूपमा सन्तुष्टिसमेत मिलेको शिक्षक मगरको अनुभव छ ।

‘दिनभर विद्यालयमा साना बालबालिकालाई पढाउँदा थकाइ लागेको हुन्छ,’ उनले भने,  ‘तर, बेलुका घाँसबारीमा पुग्दा दिनभरको थकान मेटिन्छ ।’ समाजमा अझै पनि पढेलेखेका तथा जागिर खाएका व्यक्तिले कृषि पेसा गर्नुहुँदैन, कृषि नै गर्नु थियो भने किन पढ्नुप¥यो भन्नेजस्ता परम्परागत सोच तथा चिन्तनलाई पनि परास्त पार्न शिक्षण पेसासँगै कृषि पेसालाई आफ्नो कर्म बनाएको मगरको भनाइ छ । ‘शिक्षक भएपछि कृषि पेसा अँगाल्नुहुँदैन भन्ने सामाजिक मान्यताविपरीत व्यावसायिक घाँसखेती र बाख्रापालन गर्दै आइरहेको छु,’ उनले भने । 

घरका अन्य सदस्यहरूले समेत व्यवसायको हेरचाह गर्ने, सघाउ पु¥याउने भएपछि जागिर गर्न कठिनाइ नभएको उनको 
भनाइ छ । घाँसको बिक्री–वितरणदेखि हेरचाह गर्न दुईजनालाई रोजगारीसमेत दिएको गाहाले बताए । ३० रोपनीमा लगाइएको घाँसमा सुपर नेपियर, सिओ फोर, पासपालन, सुम्बा सेतरिया, मुलाटोलगायत  रहेका छन् ।

उत्पादन भएको घाँसको बजारीकरणमा कुनै समस्या नहरेको उनको भनाइ छ । समूह, सहकारी, पशुसेवा कार्यालयले अडर गर्ने गरेको उनले बताए । दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यानका कृषि समूह, सहकारी र सरकारी तथा गैरसरकारी कार्यालयले लिँदै आइरहेको उनले सुनाए । 

नौ बाख्राबाट व्यवसाय सुरु गरेको उनको फार्ममा अहिले एक सय पाँचवटा उन्नत (बोयर) जातका बाख्रा रहेका छन् । बाख्राको माग र मूल्य बढ्दै गएपछि शिक्षण पसासँगै बाख्रापालन गरिरहेको उनको भनाइ छ ।०७० सालदेखि सुशान्त एवं सुशांक ब्रदर्स एग्रिकल्चर फार्म नामक फार्म स्थापना गरी व्यवसाय सुरु गरेका मगरले गाउँ–गाउँमा सडक पुगेसँगै व्यापारीले गोठबाटै खसीबोका खरिद गर्ने गरेको बताए । 

आफ्नै परिवारका १२ जना सदस्य बाख्रापालनमा रहे पनि मगरले थप दुईजनालाई रोजगारी दिएका छन् । नजिकै वनजंगल भएको र घाँसखेती गरेकाले बाख्रापालनमा समस्या नरहेको उनको भनाइ छ । पैसा कमाउन विदेशमा नै जानुपर्छ भन्ने मान्यतालाई तोड्न पनि दुई युवालाई रोजगारी दिएको उनले बताए ।