१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ५ सोमबार १८:२९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाखमा

Read Time : > 1 मिनेट
२०८० चैत ५ सोमबार १८:२९:००

जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौँ संस्करण आगामी वैशाख १ गते हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा नयाँ वर्षको दिन ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ हुने भएको हो।

जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए। क्लबले ०७५ सालदेखि निरन्तर अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको रारा ताल छेउमा समापन हुनेछ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्दै आएका छन्। चौथो प्रतियोगितासम्म १८ सय हाराहारी खेलाडीले सहभागिता जनाएका छन्। पाँचौँ प्रतियोगितामा कम्तीमा एक हजार खेलाडी सहभागिता हुने अपेक्षा राखिएको छ।

यसका साथै सोही दिन पाँच किलोमिटर खुला, कर्मचारी, उद्योगी व्यापारी, १६ वर्षमुनिका विद्यार्थीको प्रतियोगितासमेत हुनेछ। एक किलोमिटर १० वर्षमुनिका बालबालिका र जेष्ठ नागरिकको पनि प्रतियोगिता हुने आयोजकले जनाएको छ।

४९ किलोमिटरको खुला अल्ट्रा म्याराथन प्रतियोगितको प्रथम महिला पुरुष पुरस्कार एक लाख, दोस्रो ७५ हजार, तेस्रो ५० हजार, चौथो र पाँचौँ २०/२० हजार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, खुला पाँच किलोमिटर महिला पुरुष प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको छ।

बालबालिकास्तरीय एक किलोमिटर प्रतियोगिता (बालबालिका) प्रथम तीन हजार, दोस्रो दुई हजार र तेस्रो एक हजार रुपैयाँ पुरस्कार रहेको छ। विद्यालयस्तरीय पाँच किलोमिटर प्रतियोगितामा (बालबालिका) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो स्थान हासिल गर्नेलाई दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

जेष्ठ नागरिक एक किलोमिटर प्रतियोगितामा (महिला, पुरुष) प्रथम तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्रदान गरिनेछ। कर्मचारीस्तरीय पाँच किलोमिटर म्याराथन प्रतियोगितामा (महिला पुरुष) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ। उद्योग तथा व्यापारीस्तरीय पाँच किलोमिटर म्याराथन प्रतियोगितामा (महिला, पुरुष) प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ पुरस्कार रहेको छ।

सार्क राष्ट्रका धावकको दर्ता शुल्क १४ हजार पाँच सय र अन्य राष्ट्रका धावकका लागि दर्ता शुल्क १६ हजार रुपैयाँ रहेको छ। नेपाली खेलाडीका लागि सात हजार र स्थानीय खेलाडीका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क रहेको आयोजकले जनाएको छ।