Skip This
सदनमा प्रमुख प्रतिपक्षको प्रश्न– आफैँ मुछिएका गृहमन्त्रीबाट सहकारी ठगीमा निष्पक्ष अनुसन्धान कसरी हुन्छ ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ५ सोमबार १३:४९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सदनमा प्रमुख प्रतिपक्षको प्रश्न– आफैँ मुछिएका गृहमन्त्रीबाट सहकारी ठगीमा निष्पक्ष अनुसन्धान कसरी हुन्छ ?

कांग्रेस महामन्त्री गगन थापाले भने, ‘सहकारीमा भएको ठगीबारे सर्वधारण निक्षेपकर्ताले प्रहरीलाई प्रशस्त प्रमाण बुझाएका छन्, ती प्रमाण जाेगाइयाेस्’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १३:४९:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको विषयमा अनुसन्धानको दायरामा तानिएका व्यक्ति नै गृहमन्त्री रहेकाले निष्पक्ष अनुसन्धानमा आशंका व्यक्त गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा अकस्मिक समय लिएर बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले आफैँ कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भन्ने प्रश्न गरे । 

महामन्त्री थापाले सहकारीमा भएको ठगीका विषयमा सर्वसाधारण निक्षेपकर्ताले प्रहरीलाई प्रशस्त प्रमाण बुझाएको भन्दै ती प्रमाण नष्ट हुनेहुन् कि भन्ने चिन्त  व्यक्त गरे । थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे । 

पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि रवि लामिछानेले गैरकानुनी रूपमा एक करोड रुपैयाँ लिएको तथा गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनले सुप्रिम बचत तथा ऋण सहकारीबाट ६० करोडभन्दा बढी रकम लिएको चर्चा गर्दै सांसद थापाले सो समयमा लामिछाने सो मिडियाको सञ्चालक र प्रबन्ध निर्देशकसमेत रहेकाले सहकारीको रकम हिनामिनामा संलग्न छैन भनेर उम्कन नसकिने जिकिर गरे । 

‘गोर्खा मिडिया नेटवर्कले सूर्यदर्शन, सुप्रिम, साहारा सहकारीबाट गैरकानुनी रूपमा ५०औँ करोड लगेको छ। यो कम्पनी सञ्चालन गर्ने मान्छेहरूले पनि अपराध गरेको कानुनले भन्छ । यो कम्पनीको सेयर होल्डर को ? जिबी राई र रवि लामिछाने,’ उनले भने, 

महामन्त्री थापाले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको लामिछानेले भनेको भरमा उन्मुक्ति पाउने हो भने अर्बौँ रुपैयाँ ठग्ने अरू सयजनाले पनि उन्मुक्ति पाउने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे । 

‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको एक अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्‍याे । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सयजना मानिसले नक्कली खाता खोलेर करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्,’ थापाले भने, ‘त्यो रिपोर्टको ७८औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहमध्येको एउटा नाम हो रवि लामिछाने । लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ, यो गैरकानुनी छ ।’ 

सांसद थापाले सहकारी ठगीको आरोप लागेपछि लामिछानेले दिएको स्पष्टीकरण मानेर हिँड्ने हो भने सरकारले सहकारीका सबै ठगलाई उन्मुक्ति दिनुपर्ने बताए । 

‘मैले लामिछानेको स्पष्टीकरण सुनेँ । तीन मिनेट २० सेकेन्डको थियो । मैले राम्रो सँग सुनेँ, पढेँ पनि । स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने एक करोडका दरले लैजाने सयजना र उहाँबीचको प्रकृति ठ्याक्कै उही छ । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्‍याइएको छैन । एक अर्ब झ्वाम्म ?’ उनले अगाडि भने, ‘यसरी छोडिदिने हो भने एकजनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरणलगायतका देखा परेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराए । 

सुन तस्करीमा शक्तिशाली मानिस संलग्न भएकाले प्रहरीको नियमित अनुसन्धानबाट छानबिन सही टुंगोमा पुग्न सक्दैन भनेर एमालेले गरेको आशंका सही साबित भएको बताए । ‘शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो,’ उनले भने, ‘आयोगले प्रतिवेदन बुझाएको छ । भर्खरै हामीले समाचार सुन्यौँ, कृष्णबहादुर महरा पक्राउ पर्नुभयो । सरकारलाई धन्यवाद छ, यो आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्नुहुन्न । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ ।’

यो प्रकरणले प्रतिपक्षबाट जोडदार माग नराखेको भए आयोग नबन्ने र आयोग नबने सुनकाण्ड फासफुस हुने रहेछ भनेर सिकाएको भन्दै थापाले भने, ‘आज प्रतिपक्षमा हामी छौँ र यहाँबाट यस्तै अर्को एउटा विषय नउठाउने हो भने एउटा काण्ड फासफुस हुने खतरा देखिएको छ ।’