१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ५ सोमबार ०८:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिस पारा ओलम्पिकमा पलेसा छनोट

एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पलेसाले फाइनलमा इरानकी लेइला मिर्जाईलाई ५–४ ले हराउँदै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ५ सोमबार ०८:४४:००

नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिक खेलकुद प्रतियोगिताका लागि आइतबार छनोट भएकी छिन् । चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पलेसाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् ।

यो उपलब्धिसँगै पलेसा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी छिन् । यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दैै स्थान पक्का पारेकी थिइन् । 

नेपालको खेलकुद इतिहासमा छनोट चरण पारी गरी ओलम्पिक खेल्ने समग्रमा वैद्य पहिलो खेलाडी हुन् । त्यसपछि दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए । पलेसाले फाइनलमा इरानकी लेइला मिर्जाईलाई ५–४ को झिनो अन्तरले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन् । त्यसअघि सेमिफाइनलमा उनले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरिन् । पलेसाको स्पर्धामा चारजना खेलाडी सहभागी थिए । 

 टोकियो पारा ओलम्पिकको अनुभव
पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान थियो । पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेसाले गत असोजमा चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक २०२० मा पनि पलेसाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेसा चीनको सांघाई गएकी थिइन् । सांघाईबाटै पलेसा एसियाली छनोट खेल्न ताइयान गएकी थिइन् । उनी सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छिन् । एसियाली छनोटमा नेपालबाट दुईजना पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमीर ब्लोन पदकविहीन बने । एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।