१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पुष्पराज श्रेष्ठ
२o८१ बैशाख २० बिहीबार o७:२६:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

के खाएर बाँच्ने हो अब ?

सरकारले जैविक तथा प्रांगारिक मल, रैथाने जातका बिउबिजन, मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्ने कीटनाशक औषधि प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ

Read Time : > 4 मिनेट
पुष्पराज श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२६:oo

चार वर्ष उमेर पुग्नै लागेकी नातिनीलाई रक्त क्यान्सर लागेको पुष्टि भएपछि काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना गराई उपचार सुरु गरियो । सम्बन्धित विशेषज्ञ चिकित्सकले बिरामीले दुध र यसबाट बनेका परिकार, च्याउ, पाउरोटी, केक, बिस्कुट, अमिलो, पिरो, चिल्लो भएका परिकार खान नमिल्ने र बाँकी खानेकुरा खान मिल्ने बताए । त्यसैले उनलाई पोषक, शुद्ध खानेकुरा र फलफूल खान दिने विचार गरियो ।

तरबुजा, केरा, सुन्तलालगायत फलफूल पनि खान दिनू भनेका थिए चिकित्सकले । अचेल सबै तरबुजाको गुदी रातो र गुलियो बनाउन खेतमै हुँदा त्यसमा सुई लगाइन्छ रे ! अनार पनि त्यस्तै देखिन्छन् । तरबुजा र अनारका आकारप्रकार पनि १२–१५ वर्षअघिभन्दा फरक भएका छन् । कारखानाबाट उत्पादित सामानजस्तै एकनासका । आँप र केरा पकाउन प्रयोग गरिने कार्बाइड पाउडरबाट हाड र छालासम्बन्धी रोग र क्यान्सरसम्म हुन सक्छ भनिन्छ ।

एकपटक बेमौसमी आँप खाँदा हाम्रो पूरै परिवारलाई पखाला लागेको सम्झना आयो । त्यसैगरी सिजनभन्दा अगाडि बजारमा देखिएको अंगुर खाँदा पनि वाकवाकी लागेको थियो । रातो आकर्षक देखेर स्याउ किन्दा त्यसमा मैन लाएर चिल्लो बनाएको पनि हुन सक्छ भनेको सुनिएको थियो । एकपटक त्यस्तै स्याउ कसैले घरमा ल्याएपछि तरकारी काट्ने चक्कु बिस्तारै स्याउमाथि चलाउँदा साँच्चै नै मैनजस्तो सेतो पदार्थ निस्क्यो । अहिले बजारमा पाइने धेरैजसो फलफूल खानयोग्य छैनन् ।

खसीको मासुको तुलनामा कुखुराको मासु वा माछा पचाउन सहज हुन्छ । कुखुरा पालन गर्ने मेरा एक मित्रले भनेको कुराको सम्झना आयो । उनले भनेका थिए– ‘मैले कुखुरा पालन गरेर मासु त बेच्छु, तर म आफैँ भने खान्नँ किनकि कुखुरा पाल्दा र हुर्काउँदा खुवाउनुपर्ने दाना, भ्याक्सिन र औषधि सम्झँदा आफैँलाई वाकवाकी लाग्छ ।’ हुन पनि मासु खाँदा ठुस्स गन्हाउँछ । गाईपालन गरेर दुध बिक्री गर्नेहरूले दुध छिटो र बढी उत्पादन गर्न गाईलाई सुई लगाउँछन् । माछा बिक्री गर्न ल्याउँदा त्यसलाई ताजा देखाउन फर्मालिन नामको रासायनिक औषधिको उपयोग गरिन्छ । अब यसप्रकार उत्पादन गरिएका माछा, मासु, दुध तथा अन्डाले मानव स्वास्थ्यमा कति हानि पुर्‍याउलान्, विचारणीय पक्ष हो ।

विभिन्न घरपालुवा पशुपक्षी, धान, गहुँ, मकैलगायत विभिन्न खाद्यान्न, दाल, तरकारी, तेलहनका स्थानीय जातका बिउबिजन पाइन छाडेको धेरै भइसक्यो । वर्णशंकर तथा हाइब्रिड बिउबिजनको विकास गरी प्रयोगमा ल्याइएका छन् । किसानले घरमै बिउ उत्पादन गर्न नसक्ने अवस्था आएको छ ।

प्राकृतिक, विशुद्ध, स्थानीय वा रैथाने जातका बिउबिजन र प्रांगारिक तथा जैविक मल एवं प्राकृतिक कीटनाशक प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्न, दाल, तरकारी, फलफूल खानै नपाइने भएपछि अब के खाएर कसरी बाँच्ने भन्ने प्रश्न उठ्न थालेको छ
 

उहिले खेतबारीमा कुहिएका गोबरमल, गोमूत्र, खरानी, निमको पात, असुरोको पात, तितेपातीजस्ता मानव स्वास्थ्यमा खराब असर नगर्ने वस्तुलाई मल र कीटनाशकका रूपमा उपयोग गरिन्थ्यो । अहिले विभिन्न प्रकारका रासायनिक मल तथा विषादिको प्रयोग हुने गरेको छ । खेतबारीमा फल्न लागेका फर्सी, काँक्रा, घिरौँला, गोलभेँडा, तरबुजा, खरबुजा आदि तरकारी तथा फलफूललाई रातारात हुर्काएर आकार र तौलमा वृद्धि गरी बजारमा बिक्रीका लागि पठाउन मानव स्वास्थ्यका लागि हानिकारक अक्सिटोसिनजस्ता विभिन्न रसायनको प्रयोग गरिन्छ । त्यसैगरी आँप, केरा, लिची, अंगुर आदि फलफूललाई काँचैमा टिपेर छिटोभन्दा छिटो बजारमा बिक्री गर्न क्याल्सियम कार्बाइड, इथाइलिन, इथोफोनजस्ता औषधि र रासायनिक पदार्थको प्रयोग गरिन्छ । स्याउ, भन्टा, परवर, केरा आदि फलफूल तथा तरकारीमा रंग र मैनको प्रयोग हुने गरेको छ ।

कृषिजन्य वस्तु उत्पादन गर्दा सरकारले आवश्यकताअनुसार मल, औषधि, विषादि र रासायनिक पदार्थ प्रयोगको प्रकार र मात्रा निर्धारण गरिदिएको हुन्छ । तर, कृषकले समय र लागत बचत गरी बढी मुनाफा आर्जन गर्ने उद्देश्यले निर्धारण गरिएबाहेक र बढी परिमाणमा यस्ता मल, औषधि, विषादि तथा रासायनिक पदार्थको प्रयोग गरिदिनाले उत्पादित खाद्य पदार्थमा प्राकृतिक स्वाद त हुँदै हुन्न, उल्टो मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारकचाहिँ हुन्छन् । यस्ता वस्तुको उपभोगबाट झाडापखाला, टाउको दुख्नेजस्ता सामान्य समस्यादेखि आँखाको दृष्टि क्षमतामा ह्रास आउने, मुटुको रोग, ब्रेन हेमरेज, नसासम्बन्धी रोग, छालासम्बन्धी रोग, किड्नी र कलेजोसम्बन्धी रोग तथा क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोग लाग्न सक्ने सम्भावना बढी नै हुन्छ । महिला तथा पुरुषमा हर्मोनल गडबडी उत्पन्न भई प्रजनन शक्तिमा ह्रास आउन सक्छ । रोगसित लड्न सक्ने क्षमतामा ह्रास आउन सक्छ । विभिन्न मेडिकल रिपोर्टबाट यस्ता तथ्य प्रमाणित भइसकेका छन् । अस्पतालहरूमा तीव्र गतिमा वृद्धि भइरहेको बिरामीको चापले पनि यसको पुष्टि गर्छ ।

अधिकांश किसानले दुधमा फोहोर पानी मिसाउने गर्नाले र केही ठूला डेरी उद्योगले कास्टिक सोडा र अन्य पदार्थ दुधमा मिसाएर बिक्री गर्नाले उपभोक्तामा झाडापखालादेखि क्यान्सरसम्मका रोग लाग्न सक्ने प्रबल सम्भावना रहन्छ । बजारमा बिक्री गरिने माछालाई ताजा देखाउन फर्मालिन नामको रासायनिक पदार्थको प्रयोग गरिन्छ, जसलाई मरेका मानिसको शवलाई गन्हाउनबाट रोकेर केही दिनसम्म यथावत् राख्न अस्पतालले प्रयोग गर्छन् । रोगी तथा मरेका पशुपक्षीको मासु खरिदबिक्री गर्ने चलन पनि नेपाली समाजमा सामान्यजस्तै भइसकेको छ ।

अचेल बजारमा वर्णशंकर (हाइब्रिड) चामल, दाल आदि पाइन्छन् । चामल उसिनेको र दाल पोलिस गरिएको हुन्छ । यस्ता खाद्यान्न पेट भर्न मात्र खाने हो । तरकारी खानु भनेको विष खानुसरह भएको छ । खाने तेल, घिउ, मसला आदिमा व्यापक रूपमा मिसावट गरिएको हुन्छ । सानाठूला उद्योगबाट उत्पादन गरिने चाउचाउ, बिस्कुट, चिजबल्स, दालमोठ, भुजिया, फुरन्दाना, आलु चिप्सलगायत उत्पादनमा प्रयोग गरिने खाद्यवस्तु तथा तेलको गुणस्तर राम्रो हुँदैन । यस्ता अधिकांश खानेकुरामा खराब बोसोको प्रयोग गरिन्छ, जसले गर्दा मधुमेह र मुटुको रोग लाग्न सक्छ । सरकारी संस्थानले आपूर्ति गर्ने तथा पानीका विभिन्न उद्योगले चर्को मूल्यमा बजारमा बिक्री गर्ने बोतल र जारका पानीसमेत प्रदूषित हुन्छन् । यस्तो पानीमा मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने विभिन्न किसिमका रासायनिक पदार्थ, झाडापखाला, टाइफाइड, जन्डिस र हैजालगायत विभिन्न रोग फैलाउने विषाक्त जीवाणुसमेत फेला परिरहन्छन् ।

वास्तवमा अब हामीले के खाएर जिउने हो भन्ने प्रश्नमाथि गम्भीर हुनु जरुरी छ । प्राकृतिक, विशुद्ध, स्थानीय वा रैथाने जातका बिउबिजन र प्रांगारिक तथा जैविक मल एवं प्राकृतिक कीटनाशक प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्न, दाल, तरकारी, फलफूल खानै नपाइने भएको छ । हाइब्रिडबाहेक रैथाने जातका पशुपक्षीको अभाव भएको छ । दूषित माछा, मासु तथा दुध उपयोग गर्न बाध्य पारिएको छ ।

बजारमा शुद्ध वस्तुहरू नै नपाइने हुँदा केही उपभोक्ता सचेत भएर पनि यस्ता वस्तुको उपयोग गर्न बाध्य छन् । त्यसैले अब सरकारले नै यसतर्फ आवश्यक कदम चाल्नुपर्ने अवस्था छ । लगभग चालीस वर्षअघिदेखि नेपालमा सरकारले वैदेशिक संस्थाको सहयोगमा विकासे बिउबिजन, रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरेर कृषि उत्पादन बढाउने कार्य गरिरहेको हुँदा अहिलेको विकराल अवस्था सिर्जना भएको हो । उपभोक्ता एक्लै सचेत भएर मात्र पुग्दैन, सरकार पनि युद्धस्तरमा एकीकृत रूपमा यसतर्फ अग्रसर हुनुपर्छ । 

उपभोक्ता अब जागरुक हुनुपर्छ । दूषित माछा, मासु, अन्डा तथा फलफूलको उपभोग कम गर्नुपर्छ । बिस्कुट, चाउचाउ, चिजबल्स, आलु चिप्सजस्ता जंक फुड नखाँदा केही फरक पर्दैन । पसलेलाई पनि उपभोक्ताले उच्च गुणस्तरका वस्तु मात्र बिक्री गर्न बारम्बार घचघच्याउनुपर्छ । न्यून गुणस्तरका वस्तुको माग कम भएपछि यस्ता वस्तुको उत्पादन र आपूर्ति घट्दै जान्छ । तरकारी खरिद गर्दा पनि पसलेसित प्रश्न गर्ने बानी बसाल्नुपर्छ । थोरै महँगो भए पनि स्थानीय बारीमा जैविक मल हालेर फलाइएका खानेकुरा खाने बानी बसाल्नुपर्छ । विदेश, विशेषगरी भारतबाट आयात हुने तरकारी तथा खाद्यान्नलगायत सम्भव भएसम्मका अधिकांश खानेकुरा किनेर खाने बानी त्याग्दा आफ्नै घर परिवारका सदस्यको स्वास्थ्य रक्षा हुन्छ ।

तीनै तहका सरकारले आआफ्नो क्षेत्रभित्र जैविक तथा प्रांगारिक मल, रैथाने जातका बिउबिजन, मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्ने कीटनाशक औषधिको उपयोग गरी खेती गर्न प्रोत्साहन गर्नुपर्छ । यसबाट देशभित्रको माटोको उर्वराशक्तिको संरक्षण पनि हुन्छ । अमेरिका, युरोपियन मुलुक, इजरायल, जापानलगायत विभिन्न मुलुक परम्परागत, जैविक खेतीतर्फ फर्कन थालेका छन् । अधिकांश मुलुकले बाह्य मुलुकबाट आफ्नो देशभित्र भित्रिने सबै प्रकारका खाद्यवस्तुको नाकामै कडा परीक्षण र चेकजाँच गरी आफ्नो देशले तोकेको मापदण्डविपरीत भए देशभित्र छिर्नै दिँदैनन् ।

नेपालका धेरैजसो कृषि उत्पादन मापदण्डविपरीत हुने हुँदा अमेरिका र युरोपियन देशले आफ्ना मुलुकभित्र प्रवेश गर्न दिँदैनन् । नेपालमा भने भारतबाट खाद्यान्न, दाल, सब्जी, फलफूललगायत खाद्यवस्तु बेरोकटोक भित्रिन्छन्, जो मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् । सरकारले भारतलगायत जुनसुकै मुलुकबाट आयात हुने बिउबिजन, सबै प्रकारका खानेकुरा र मल कीटनाशक औषधिको भन्सार बिन्दुमै कडा परीक्षण गरी मापदण्डबाहिर पर्नेजतिलाई देशभित्र प्रवेश हुनबाट रोक्नुपर्छ । आफ्नो जनताको जिउधनको रक्षा गर्नु सरकारको प्रमुख कर्तव्य हो ।

अब नेपाली उपभोक्ता जागरुक हुनुपर्छ । खाना मानिसलाई बाँच्नका लागि नभई नहुने अनिवार्य आवश्यकताको वस्तु भएको हुँदा किसान, उद्योगी, व्यवसायी, सरकारी निकायका जिम्मेवार पदाधिकारी इमानदार र जिम्मेवारपूर्ण भई स्वस्थ खानेकुराको सेवन गर्ने र गराउने वातावरण निर्माण गर्नुपर्छ ।
(श्रेष्ठ अवकाशप्राप्त उपसचिव हुन्)

ad
ad