१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गृहमन्त्री लामिछानेमाथि कांग्रेसका प्रश्नैप्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग 

सभामुखले भने– मेरो ध्यानाकृष्ट भएको छ, सरकारले तदअनुरूप नै लिनेछ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o८:oo

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरण जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिक प्रश्न उठाएको छ । कांग्रेस सांसदहरूले चरणबद्ध हिसाबले संसद्मा लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा कांग्रेस सांसदहरूले लामिछानेमाथि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठाउँदै जारी अनुसन्धान प्रभावित हुने आशंका गरे । आकस्मिक समयमा बोलेका कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले यो विषयमा प्रधानमन्त्रीबाट यथाशीघ्र जवाफका लागि सभामुखसँग रुलिङको माग गर्दै सम्बोधन नभए कठोरतापूर्वक प्रस्तुत हुने चेतावनी दिए । कांग्रेसको मागपछि सभामुख देवराज घिमिरेले भने, ‘सदनमा उठेका कुराहरूप्रति मेरो ध्यानआकृष्ट भएको छ । मलाई विश्वास छ, सरकारले तदअनुरूप नै लिनेछ ।’ 

अघिल्लो गठबन्धनमा अभियोग लागेका मन्त्रीहरूको राजीनामा त्यतिवेलाको प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी रास्वपाले मागेको, सभामुखले रुलिङ गरेको र प्रधानमन्त्रीले गठबन्धन बदलेर हटाउँदै सम्बोधन गरेको नजिर समात्दै कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेमाथि सहकारी अनियमितता प्रकरण जोडेर प्रश्न उठाएको हो । 

२१ फागुनमा गठबन्धन फेरिएर प्रमुख प्रतिपक्षी बनेको कांग्रेसले २४ गतेको बैठकमा पुरानो नजिर सम्झाउँदै ‘अभियोग लागेका मन्त्री आएका छन्, के गर्नुहुन्छ’ भनेर प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधेका थिए । बुधबार बसेको बैठकमा कांग्रेसका तर्फबाट सचेतक सुशीला थिङ र महामन्त्री विश्वप्रकाश शर्माले अभियोग लागेका मन्त्री सरकारमा नरहने सिद्धान्त प्रधानमन्त्रीले नै स्थापित गरेको भन्दै गृहमन्त्रीमा लामिछानेको नियुक्तिबारे जवाफ मागेका थिए । यो विषय निराकरण नभएसम्म सदन सहजै नचल्ने चेतावनी पनि दिएका थिए । 

बिहीबारको बैठकमा कांग्रेसका सांसदहरूले लामिछानेमाथि प्रश्नहरू दोहोर्‍याएका हुन् । उनीहरूले यथाशीघ्र प्रधानमन्त्रीको जवाफ माग्दै बजेटका प्राथमिकता र सिद्धान्तको अत्यावश्यकतालाई मध्यनजर गर्दै बिहीबारको सदन चल्न दिए । जिम्मेवारीपूर्वक प्रमुख प्रतिपक्षीले देखाएको सद्भावलाई कमजोरी ठानेमा आगामी दिनमा कठोरतापूर्वक प्रस्तुत हुन बाध्य हुने चेतावनी पनि दिए । सांसदहरूले आफूविरुद्ध लागेका मुद्दामा चलखेलको प्रयास नगर्नसमेत गृहमन्त्री लामिछानेलाई सचेत गराए । 

ad
ad