१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०८० चैत १ बिहीबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई तेस्रोपटक विश्वासको मत

स्थिरतालाई दलहरूले मुद्दा बनाए पनि सत्ता दाउपेचले १५ महिनामा तेस्रोपटक संसद्मा शक्ति परीक्षण

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० चैत १ बिहीबार ०६:२८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको १५ महिनामा संसद्बाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । कांग्रेससँगको सहकार्य अन्त्य गरेर २१ फागुनमा एमालेसहित पाँच दलीय गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १००(२) बमोजिम बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । 

प्रतिनिधिसभा नियमावलीको नियम १५५ (७) अनुसार सांसदहरूको दस्तखतसहितको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डको पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत पर्‍यो । नेमकिपा तटस्थ बस्दा तीन सांसद अनुपस्थित रहे । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको बहुमत अर्थात् १३८ मत आवश्यक थियो । 

एक वर्षपछि कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग जोडिँदा प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत प्राप्त गरेका हुन् । तेस्रोपटक संसद्मा विश्वासको मत परीक्षण गर्दा एमाले ७५, माओवादी ३२, रास्वपा २१, जसपा १२, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्ति चार, आजपा एक, स्वतन्त्र (अमरेशकुमार सिंह र योगेन्द्र मण्डल) दुई सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा कांग्रेस ८७, राप्रपा १३, जनमत पाँच, लोसपा चार, जनमोर्चा एक सांसदले मतदान गरे । नेमकिपाका प्रेम सुवाल कसैलाई मत नदिई तटस्थ रहे । संसद् सचिवालयका अनुसार एमालेका वसन्तकुमार नेम्वाङ (बिरामी), राप्रपाकी गीता बस्नेत र जनमतकी सोनु मुर्मू बैठकमा अनुपस्थित रहे ।

 एमालेसहितका दलको समर्थनमा संविधानको धारा ७६(२) अनुसार १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले फागुनमा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धन परिवर्तन गरेका थिए । २६ पुसमा पहिलोपटक विश्वासको मत लिँदा प्रतिनिधिसभामा दुई सय ६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले एमालेसँगको सहकार्य तोड्दै कांग्रेससँग गठबन्धन बनाउँदा दोस्रोपटक ६ चैतमा एक सय ७२ सांसदबाट विश्वासको मत पाएका थिए । 

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र अझ सजीव र सुदृढ बनेको प्रतिक्रिया दिए । ‘राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा अगाडि बढाउन मेरो काँधमा जिम्मेवारी थपिएको छ,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले भने, ‘सदनमा जीवन्त रूपले बडो संयमित वातावरणमा लोकतान्त्रिक अभ्यास भयो । यसले हाम्रो लोकतन्त्र अझ सजीव र सुदृढ बनेको छ ।’ प्रधानमन्त्री प्रचण्डले आफूलाई भरोसा गरेर समर्थन दिने र विपक्षमा मत दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रूपमा तीनपटक विश्वासको मत प्राप्त गर्दा हरेकपटक छुट्टै अनुभूति र अनुभव भएको पनि बताए । ‘पहिलोपटक पुरानै गठबन्धनबाट प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको वेला नै अन्तिम घडीमा बालकोट गएर केपी ओलीजी लगायतको समर्थनमा प्रधानमन्त्री बनेँ ।

दोस्रोपटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डै शतप्रतिशत समर्थन प्राप्त भयो । दुईजनालाई छोडेर सबैको समर्थन प्राप्त हुने कुरा नेपालको इतिहासमा असाधारण र अभूतपूर्व परिघटना थियो,’ उनले भने, ‘मैले त्यो अनुभूति पनि गरेँ । सम्पूर्ण सदनको नै समर्थन हुँदा नेतृत्वलाई कस्तो हुँदो रहेछ भन्ने सुखद अनुभूति गरेँ । फेरि आज नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत लिँदाको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजीव रह्यो ।’ 

कुर्सीसँगै बदलिन्छ सांसदको बोली
विश्वासको मतमा सत्तापक्ष र प्रतिपक्षको घोचपेच, कांग्रेसका प्रश्नमा प्रचण्ड र ओलीको जवाफ 

विश्वप्रकाश शर्मा महामन्त्री, कांग्रेस
पालैपालो धोका खाएर विपक्ष बनेकाहरूको हिसाब जोड्दा प्रधानमन्त्रीप्रति कसैको विश्वास देखिएन । विपक्षी बनाइएकाहरू एउटै पक्षमा उभिए र धोका खाएका एक हौँ भनेर लागे के हुन्छ ? प्रधानमन्त्रीले कांग्रेसलाई मात्र धोका दिएको होइन, गत निर्वाचनमा नेपाली जनतासँग गरेको गठबन्धनलाई समेत धोका भएको छ । डेढ वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने यो कस्तो विश्वास हो ? यस्तो अवस्था किन, कसरी र कसका कारणले आयो भन्ने विषयमा पनि सम्मानित संसद्मा विश्लेषण हुनुपर्छ ।

मैले धोका दिएको छैन, सबैको भलाइ गरेको छु
प्रचण्ड, प्रधानमन्त्री

कुनै वेला राजनेता घोषणा गर्नुभएको थियो । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको हो ? सहमति पालना गर्दै प्रधानमन्त्री कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ, तर कांग्रेसबाट विश्वासघात भयो । कोशीमा माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तर्घात धोका थियो कि प्रेम ? ठूला साना सबै राजनीतिक दलले माओवादी केन्द्र र प्रचण्डलाई धन्यवाद दिनुपर्छ । सबैलाई धोका होइन, प्रचण्डले पटक–पटक सबैको भलाइ गरेको छ । त्याग र बलिदान गरेर पनि गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईंहरू ? त्यसकारण यो स्वीकार्य छैन । 

दुई महिनामा सरकार बदल्दा अस्थिरता थिएन ?
 केपी ओली, अध्यक्ष, एमाले

कांग्रेसले इमानको कुरा गरेको देख्दा अचम्म लाग्यो । कसरी भन्न सकेको होला ढुक्कैले ? एउटा औँला अरूलाई देखाउँदा, बाँकी औँला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनुहुँदैन । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष–१४ महिनापछि सरकार परिवर्तन गर्दा केको अस्थिरता ? पोहोर अस्थिरता भएको थिएन त ?