१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पशुपतिमा श्रीमान्को किरियामा बसेकी माइली राई परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै नुवाकोट बेलकोटगढी नगरपालिका– ४ का रुद्र ढुंगेल र मीरा घिमिरेदम्पती ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२६:oo

तीन दिनअघि श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ । पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी सहयोगीले एक लाख ५० हजारभन्दा धेरै रकम सहयोग गरेका छन् । खानका लागि १२ बोराभन्दा धेरै चामल र पिठो, फलफूल, दाललगायतका खाद्य सामग्री पनि जुटेको छ । किरिया उतार्न आर्थिक समस्या झेलिरहेकी माइलीका बारेमा नयाँ पत्रिका दैनिकले सोमबारको अंकमा समाचार प्रकाशन गरेको थियो ।

बागमती प्रदेशका पूर्वसांसद एवं समाजसेवी नरोत्तम वैद्यका अनुसार माइलीको परिवारलाई मदनकुमार श्रेष्ठले ३० हजार, रुद्र ढुंगेलले १५ हजार, नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले १० हजार, शिवशंकर गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । यसबाहेक पनि विभिन्न ठाउँबाट नगद तथा खाद्य सामग्री सहयोग प्राप्त भइरहेको वैद्यले बताए । ‘सोमबार साँझसम्म एक लाख ५० हजार रुपैयाँ नगद सहयोग जुटिसकेको छ । यस्तै, खाद्य सामग्री पनि सहयोगका रूपमा जुटेको छ । सुरुको दिन किरिया बार्ने ठाउँमा चामलको गेडा थिएन । अहिले बोराका बोरा चामल प्राप्त भएका छन् । यो सहयोगले उनीहरूलाई बाँच्ने हौसला प्रदान गरेको छ,’ उनले भने ।

माइलीका ५७ वर्षीय श्रीमान् पाण्डव राईको शनिबार मृत्यु भएको थियो । शववाहनलाई दिने रकमसमेत नभएपछि उनले रिक्सामै राखेर श्रीमान्को शव पशुपतिस्थित आर्यघाट पुर्‍याएकी थिइन् । घाटमा तिर्ने रकमसमेत नभएपछि पूर्वसांसद वैद्यले उनलाई सहयोग गरेका थिए । काठमाडौंको खुसिबु डेरा गरेर बस्दै आएकी माइली छाक टार्न बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्छिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । 

माइलीको सहयोगमा जुटेका वैद्यका अनुसार किरिया बस्न पशुपति क्षेत्र विकास कोषले पनि कोठा बहाल निःशुल्क गरिदिएको छ । ‘पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव पीडितलाई भेट्न कोठामै पुगे । दुई बोरा चामल पनि किनिदिए । कोठाको बहाल पनि निःशुल्क गरिदिए । आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्,’ उनले भने ।

ad
ad