१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगरपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति काभ्रे आउँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:३६:oo

राष्ट्रपति रामचन्द्र पौडेल आज काभ्रे आउने भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकोप्टरमार्फत काभ्रे आउने भएका हुन्। 

नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट गत असोज ३ गते संविधान दिवसको दिनदेखि सेवा सञ्चालन भएकाे थियाे। भवनको औपचारिक उद्घाटन भने भएको थिएन।

राष्ट्रपति पौडेलले नवनिर्मित प्रशासकीय भवन, नगरपालिकाको नवनिर्मित सभाहल र हेलिप्याड एकै दिन उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख टोकबहादुर वाइबाले अपांगमैत्री, महिलामैत्री र वृद्धवृद्धामैत्री प्रशासकीय भवन निर्माण भएको बताए। पहिलो कार्यकालमै भवन निर्माण सक्ने चाहना भए पनि कोरोना र आर्थिक मन्दीले गर्दा समयमै काम सम्पन्न गर्न नसकेको उनले बताए। 

बाँकी अधुरा कामहरू पूरा गर्न जनताले आफूलाई दोस्रोपटक पनि मतदान गरेर विजयी गरेको उनको भनाइ छ। प्रशासकीय भवन निर्माणको काम करिब सकेकाले अब जनताको काम धमाधम गर्ने नगरप्रमुख वाइबाले बताए।

नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट गत असोज ३ गते संविधान दिवसको दिनदेखि सेवा सञ्चालन भएकाे थियाे। संविधान दिवसको अवसर पारेर बाजागाजासहित भाडाको घरबाट मण्डनदेउपुर– ७ मनमैतीस्थित नवनिर्मित भवन सेवा सञ्चालन गरेकाे थियाे। सेवा सञ्चालन गरेको पाँच महिनापछि भवनको उद्घाटन गर्न लागेका हुन्। 

१६ करोड १९ लाखमा भवन निर्माण

मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार ०७५ साल पुस २७ गते बसेको नगरकार्यपालिकाको बैठकले वडा नं. ७ मनमैती डाँडामा प्रशासकीय भवन निर्माण गर्ने निर्णय भएको थियो।

नगरकार्यपालिकाको बैठकले प्रतिआना ५० हजारका दरले १८ रोपनी तीन पैसा तीन दाम जग्गा खरिद गरेको उनले जानकारी दिए। अझै जग्गा अपुग भएपछि ०७७ साल जठ २६ गते फेरि नगरकार्यपालिकाको बैठकबाट प्रतिआना ७० हजारका दरले सात रोपनी दुई आना तीन पैसा तीन दाम थप गरेका थिए। हाल नगरपालिकाको नाममा २९ रोपनी जग्गा छ।

सो जग्गामध्ये २५ रोपनी एक आना तीन पैसा दुई दाम जग्गा दुई करोड २८ लाख ४२ हजार आठ सयमा खरिद भएको थियो। 

प्रवक्ता बजगाईंका अनुसार भवन निर्माणका लागि ४३ करोड ६१ लाख ५२ हजार सात सय आठमध्ये मुख्य प्रशासनिक भवन र नगर सभा हल निर्माणका लागि २४ करोड ८० लाख ५२ हजार चार सय ५९ लागत अनुमान गरेका थिए। बोलपत्रमार्फत बिकोई जयमाता जेभीसँग १४ करोड २२ लाख ९४ हजार नाै सय ४२ मा ठेक्का सम्झौता भएको थियो। 

०७७ साल पुस १० गते निर्माण कम्पनीसँग सम्झौता भई ०७९ पुस १७ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। कोरोना र आर्थिक मन्दीले काम सम्पन्न हुन नसकी ०८० पुस मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गरी एक करोड ९६ लाख ८४ हजार ६६ लागत थप गरी १६ करोड १९ लाख ७९ हजारमा भवन निर्माण सम्पन्न गरेको बजगाईंले जानकारी दिए।

भवन निर्माणको लागि संघीय समपुरकबाट एक करोड ८० लाख, जिल्ला समन्वय समिति काभ्रेबाट दुई करोड, संघीय अनुदानबाट दुई करोड ४० लाख र अन्य नगरपालिकाले व्यवस्था गरेका थिए।

भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए। उक्त भवनको ६६ वटा कोठा, दुईवटा हल, प्रत्येक तल्लामा अपांगमैत्री शौचालय र लिफ्टसहितको भवन तयार भएको जानकारी दिए। 

ad
ad